नेपालगञ्जमा महिला क्याम्पस स्थापना

बाँके । बाँकेका महिलाहरू उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नेपालगञ्जमा महिला क्याम्पस स्थापना गरिएको छ । विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरीलाई लक्षित गरी स्थापित ‘मङ्गलप्रसाद महिला कलेज’ मा अध्ययन गर्न आउनेको आकर्षण बढेको छ ।

करिब पाँच करोडको लागतमा ४० कोठे भवन निर्माण गरी पठनपाठन सञ्चालन गरिएको कलेजका प्रमुख रवीन्द्रकुमार कर्णले बताए । उनका अनुसार महिला कलेजमा छात्रावासको व्यवस्थासमेत गरिएको छ । कलेजले अहिले बिबिएच, चार वर्षे बिएड र बिएससीका कक्षा सञ्चालन गर्दै आएको छ ।

पूर्वाञ्चल विश्व विद्यालयसँग सम्बन्धन प्राप्त कलेजले न्यूनतम शुल्कमा गुणस्तरीय र किशोरीमैत्री वातावरणमा अध्ययपन गराउँदै आएको प्रमुख कर्णले बताए । एक सय ३० किशोरी विभिन्न सङ्कायमा अध्ययन गरिरहेका छन् । कलेजले लगनशील, गरिब तथा अति विपन्नलाई छात्रवृत्ति प्रदान गरेको भन्दै विशेष गरी मधेसी र मुस्लिम समुदायका किशोरी रहेका उनले जानकारी दिए ।

मङ्गलप्रसाद माध्यामिक विद्यालयले भाडामा दिएको १४ कठ्ठा जमिनमा निर्माण गरिएको उक्त कलेज सञ्चालनका लागि नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गर्दै आएको छ । कलेज सञ्चालनमा आएपछि नेपाली छात्रालाई भारतलगायत छिमेकी मुलुक गएर अध्ययन गर्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

नमुना बन्यो नेपालगञ्ज कन्या मावि

नेपालगञ्ज उपमहानगरपालिका–४ सल्यानीबागस्थित आधारभूत विद्यालयलाई कुनै बेला एक सय विद्यार्थी पाउन मुस्किल थियो । गुणस्तरीय शिक्षा नभएको भन्दै अभिभावकले आफ्ना बालबालिकालाई भर्ना गर्न रुचाउँदैनथ्ये । भर्ना भएका विद्यार्थी पनि नियमितरूपमा विद्यालय आउँदैनथे । घरदैलोमा पुगेर आग्रह गर्दा पनि विद्यार्थी नआएपछि हैरानी बोर्होनुपरेको शिक्षक बुधेशकुमार जयसवालले विगतलाई स्मरण गर्दै बताए । ‘विद्यार्थी नपाएर विद्यालय सञ्चालनमा समस्या थियो । कक्षा मर्ज (एउटै बनाएर) गरेर पठनपाठन गराउनुपर्ने बाध्यता थियो ’, उनले भने ।

शैक्षिक सत्र २०७४/७५ मा बाल विकासदेखि कक्षा ८ सम्म पढाइ हुने सुनाउँदै पूर्वप्रधानाध्यापक भइसकेका शिक्षक जायसवालले तत्कालीन समयमा ९० जनासम्म विद्यार्थी हुने गरेका बताए । उनका अनुसार अहिले विद्यालयमा छ सय भन्दा बढी विद्यार्थी भर्ना भएर अध्ययन गरिरहेका छन् ।

विद्यालयमा सुधार

विद्यार्थी नपाउने समस्या भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले उक्त विद्यालयलाई कन्या मावि बनाउने निर्णय ग¥यो । त्यसका लागि पूर्वाधार निर्माण गर्ने र सुधारका लागि विज्ञ नियुक्त गरिएको उपमहानगर कार्यालयले जनाएको छ ।

‘नेपालगञ्जमा कन्या माविको आवश्यकता महसुस गरी उक्त विद्यालयको नाम नेपालगञ्ज कन्या माध्यमिक विद्यालय नामकरण ग¥यौँ’, पूर्वउपप्रमुख उमा थापा मगरले भनिन्, ‘कन्या मावि बनाएपछि विद्यार्थीको सङ्ख्या बढ्नुका साथै शैक्षिक सुधारसमेत भएको छ ।’

विद्यालयको शैक्षिक सुधारका लागि उपमहानगरले सेवा निर्वित शिक्षिका किरण आचार्यलाई विज्ञको रूपमा नियुक्त गरेको भन्दै आचार्यले विद्यालय सुधारका लागि योजना बनाएकी उनीको भनाइ छ ।

सोही योजनाअनुसार उपमहानगरले विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई परिचालन गरेको हो । विद्यार्थी नपाएर फुर्सदमा रहेका शिक्षक अध्ययन अध्यापनमा व्यस्त हुँदै गएका मगरको बुझाइ छ । ‘विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान हुन थालेपछि अभिभावकले आफ्ना छोरीको भर्ना यही गर्न थाल्नुभयो, अहिले विद्यालय नेपालगञ्जको नमुनाका रूपमा चिनिएको छ’, उनीले भनिन् ।

विद्यार्थीलाई आकर्षित गर्न पहिलो चरणमा उपमहानगरले हरेक महिना एक लिटर खाने तेल वितरण गरेको थियो । भर्ना भएका विद्यार्थीलाई नियमित रूपमा विद्यालय ल्याउन साइकल वितरण गरिएको पूर्वउपप्रमुख थापाले जानकारी दिइन् । ‘साइकल चलाउन सक्ने कन्यालाई साइकल र सानालाई झोला वितरण ग¥यौँ’, उनीले भनिन्, ‘व्यावहारिक शिक्षाका लागि विद्यालयले छात्रालाई कपडा सिउने सीप पनि दिएको छ ।’

वि.सं २०२२ जेठ २९ गते स्थापना भएको विद्यालयलाई शैक्षिक सत्र २०७६/७७ देखि कन्या माविका रूपमा सञ्चालन गरिएको हो । कक्षा १ देखि १२ कक्षासम्म पढाइ हुने उक्त विद्यालयमा सबै बालिका मात्र अध्ययनरत छन् ।

उक्त विद्यालयको वि.सं २०२५ फागुन ७ गते तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेका थिए । ‘पुरानो विद्यालय भए पनि मधेसी र मुस्लिम समुदायको बाक्लो बस्ती भएकाले बालिका विद्यालय जान सकिरहेका थिएनन् । उपमहानगरले कन्या माविका रूपमा सञ्चालन गरी शिक्षामा सुधार ल्याएपछि विद्यार्थीको सङ्ख्या बढेको छ’, विज्ञका रूपमा रहेकी आचार्यले भनिन् । उनीका अनुसार यस विद्यालयमा अध्ययनरतमध्ये ७० प्रतिशत बालिका मुस्लिम समुदायका छन् ।

सानोदेखि ठूलो कक्षामा अध्ययनरत धेरैजसो मुस्लिम समुदायका बालिका रहेको शिक्षिका गोमा पोखरेलले बतौ । ‘फाटफुट रूपमा मधेसी, थारु र अन्य समुदायका भए पनि अधिकांश मुस्लिम समुदायका बालिका अध्ययनरत छन्’, उनले भने । उनले मुस्लिम समुदायमा आफ्ना छोरीलाई सुरक्षित राख्ने संस्कार भएकाले कन्या मावि भएपछि छोरीलाई विद्यालय पठाउन थालेका बताए ।

कन्या मावि स्थापना भएपछि छोरीहरू सुरक्षित हुने भएकाले विद्यालय पठाएको अभिभावक बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *