उच्च शिक्षाका लागि सहज बन्दै बेलायत ( विश्वविद्यालय सूचि सहित)

पुस २०, काठमाडौँ । उच्च शिक्षाका लागि बेलायत गएका नेपाली विद्यार्थीलाई विगतमा सकस परेपनि अब भने केही राहत हुने भएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै बेलायत अध्ययन गर्न जाने विद्यार्थीका लागि नयाँ नियम आउन लागेको छ ।
आउँदो जनवरी ११ बाट लागू हुने नयाँ नियमले विद्यार्थी भिसाबाट काम गर्ने वर्किङ भिसा स्विच हुने बाटो सहज बनाउने भएको छ । लागू हुन लागेको नयाँ नियम अनुसार अब विदेशी विद्यार्थीले आफ्नो डिग्री परीक्षा सकिए लगत्तै काम गर्ने वर्किङ भिसाका लागि टिएर टु भिसाको लागि आवेदन दिन सक्नेछन् ।
नेपाली विद्यार्थीले टियर टु भिसाको फाइदा लिन सक्छन्
 
फिलिप डिसी (शैक्षिक परामर्शदाता)
प्लस टु वा ब्याचलर गरेपछि धेरै विद्यार्थीहरू विदेश नै पढ्न जान चाहन्छन् । बेलायतको हकमा विगतमा धेरै नेपालीहरू गएको देखिन्छ । तथापि, बेलायतले सन् २०११ यता भिसामा कडाई गरेर अनेकौँ मापदण्ड लागू गर्‍यो । त्यसले धेरै नेपालीलाई असर गरेको थियो । सन् २००९ देखि २०११ मा जति विद्यार्थी बेलायत गए, सन् २०१५ यता त्यो सङ्ख्या ह्वात्तै घटेर आयो । यसरी बेलायत जाने विद्यार्थीको सङ्ख्या एकाएक घट्नुमा झन्झटिलो भिसा प्रक्रिया नै थियो ।
 
अहिले पुनः बेलायतले विदेशी विद्यार्थीलाई आकर्षित गर्न खोजेको देखिन्छ । यसो गर्नुको एउटा कारण बेलायत युरोपियन युनियनबाट बाहिरीसकेपछि उसलाई चाहिने दक्ष जनशक्ति कम भएर पनि हो । विगतमा बेलायतमा युरोपकै साना तथा कमजोर देशहरुबाट धेरै जनशक्ति कम पैसामा आएर काम गर्ने गर्दथे । अहिले ती दक्ष जनशक्तिहरुको अभाव भएरपनि होला भिजा खुकुलो बनाएको । अस्ति भर्खरै पनि ५ सय नर्स चाहिएको कुरा आएको थियो ।
 
टियर २ भिसाले नेपाली विद्यार्थीलाई फाइदा नै पुग्छ । मास्टर, डिग्री गर्न गएका विद्यार्थीले परीक्षा दिएपछि पनि टियर २ भिसा अप्लाई गर्न ६ महिनाको समय पाउँछन् । यो अवधिमा उनीहरूले राम्रो काम खोज्न पनि सक्छन् ।
 
बेलायत विश्वमै उत्कृष्ट शिक्षा भएको देश हो । यहाँ विश्वकै उत्कृष्ठ विश्वविद्यालय अक्सफोर्ड, क्याम्ब्रिजहरु छन् । यी विश्वविद्यालयमा अध्ययन गर्नकै लागि हरेक वर्ष विश्वभरीबाट हज्जारौं विद्यार्थी आउँछन् । त्यस कारण नेपाली विद्यार्थीले पनि टियर टु भिसाको फाइदा लिएर उच्च शिक्षा अध्ययनका लागि बेलायत जान सक्छन् ।
यो नयाँ नियमले खास गरी नेपाली विद्यार्थीलाई सहज हुने शैक्षिक परामर्श दाताहरुको बुझाई छ । यस अघिको नियममा डिग्रीको अन्तिम रिजल्ट नआउँदासम्म टिएर टु भिसाका लागि आवेदन दिन मिल्दैनथ्यो । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) का प्रथम सचिव देविदास भट्टराईले टियर टु भिसाले नेपाली विद्यार्थीलाई विगतको भन्दा केही सहज हुने बताए । ‘टियर ४ भिसा भएको भए राम्रो हुन्थ्यो । विद्यार्थीले अध्ययन गर्दागर्दै काम गर्न पाउँथे । तथापि, विगतको भन्दा धेरै सहज चाहिँ हुन्छ ।’ भट्टराईले बेलायत जाने विद्यार्थीहरुमा प्रायः ब्याचलर र मास्टर्स गरेका हुने भएकोले ‘पोस्ट स्टडी वर्क’ नै राम्रो हुने जिकिर गरे । भट्टराईका अनुसार टियर टु पछि अध्ययनका लागि युके जाने विद्यार्थीको सङ्ख्या बढ्ने छ । हाल वर्षमा सरदर ३० देखि ४० जना विद्यार्थी मात्र जाने गरेका छन् ।
टिएर टु भिसा बेलायतमा काम गर्ने विदेशीहरुको प्रमुख इमिग्रेसन रुट हो । जसका लागि लाईसेन्स होल्डर कम्पनीबाट कामको अफर सहित स्पोन्सर हुनु अनिवार्य छ । बेलायतमा विद्यार्थी भिसाको रुटमा आएर आफ्नो डिग्री पुरा गर्ने विदेशी विद्यार्थीहरूले टियर टु रुटमा आफ्नो भिसा स्वीच गर्ने व्यवस्था छ ।
पुरानो व्यवस्था अनुसार विदेशी विद्यार्थीहरूले नियमानुसार टियर टु मा भिसा स्वीच गर्ने सुविधा पाएपनि व्यवहारिक थिएन । सामान्यतय कुनै पनि डिग्रीको पढाई तथा परीक्षा सकेपछि त्यसको रिजल्ट आउन केही महिना लाग्ने गर्दछ । यसरी महिनौ रिजल्टकै प्रतीक्षामा बस्दा विद्यार्थीहरुमा आर्थिक समस्या पनि आउने गरेको थियो । कतिपय विद्यार्थीको भिसा नै सकिईसकेको अवस्था हुन्थ्यो । यसले विद्यार्थीको करियर नै सङ्कटमा पार्ने अवस्था थियो ।
अहिले आउन लागेको नयाँ टियर टु रुटले धेरै विदेशी विद्यार्थीलाई राहत दिने बेलायत स्थित विदेशी विद्यार्थीले बताएका छन् । विगत केही वर्ष यता यही टियर टु भिसाकै कारण धेरै विद्यार्थीहरू बेलायत भन्दा अस्ट्रेलिया, क्यानडा तिर आकर्षित भएका थिए । अब भने, नयाँ टियर टु भिसा प्रावधानले धेरै विद्यार्थीलाई आकर्षित गर्ने शैक्षिक परामर्शदाताको भनाई छ । ‘टियर टु भिसा प्रक्रियाले नेपाली विद्यार्थीलाई केही सहज हुन्छ ।’–शैक्षिक परामर्शदाता फिलिप डिसीको भनाई छ । ‘उच्च शिक्षा हासिल गर्न बेलायत जान चाहने नेपाली विद्यार्थीलाई टियर टु भिसाको पुरानो व्यवस्थाले समस्या थियो । अब भने पढाइसँगै विद्यार्थीले अाफ्नाे  करियर सुरक्षित गर्न पनि प्रशस्त समय पाउने भए ।’ उनले भने ।
 
नेपालबाट टियर ४ भिसामा धेरै विद्यार्थी अध्ययनका लागि बेलायत जाने गरेको शैक्षिक परामर्शदाता प्रतिज्ञा थापा बताउँछिन् । विगत लामो समयदेखि बेलायतका लागि शैक्षिक परामर्श दिँदै आएकी उनी टियर ४ भिसामा जाने विद्यार्थीले अध्ययन गर्दै काम गनि गर्न सक्ने दाबी गर्छिन् । उनका अनुसार नेपालबाट बेलायत गएका अधिकांश विद्यार्थी उतै सेटल हुने भन्दा पनि डिग्री हासिल गरेर नेपाल नै फर्कने गरेका छन् ।
अब विद्यार्थीले डिग्रीको परीक्षा दिए लगत्तै काम खोज्न र टियर टु भिसा अप्लाई गर्न सक्छन् । केही वर्ष यता बेलायतमा गएर अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या घटिरहेपछि त्यहाँका विश्वविद्यालयहरुले समेत टियर टु भिसाको मापदण्ड परिवर्तन गर्न आवाज उठाइरहेका थिए । यस अघि यही विषयलाई बेलायतका ४ ओटा विश्वविद्यालयमा लागू गरिएको थियो । अब जनवरी ११ पछि ती चार अाेटा विश्वविद्यालय सहित  थप १९ विश्वविद्यालयमा पनि लागू हुनेछ ।
टियर टु को नयाँ मापदण्ड अनुसार अब डिग्रीको परीक्षा सकेका विद्यार्थीले काम खोज्नकै लागि भनेर अरू ६ महिनाको भिसा थप गर्न पाउनेछन् । यसरी थप गरिएको भिसामा विद्यार्थीले काम खोज्ने तथा टियर टु भिसा अप्लाई गर्न पाउने छन् ।
बेलायतमा नेपालबाट बर्सेनि ठुलो सङ्ख्यामा विद्यार्थी उच्च शिक्षाका लागि जाने गरेका थिए । पछिल्ला वर्षहरूमा भिसामा कडाई तथा नक्कली कलेजहरुका कारण विद्यार्थीको रोजाई कम हुँदै गएको थियो । शैक्षिक परामर्शदाता डिसीका अनुसार सन् २००९ देखि ००११ को अनुपातमा सन् २०१५ पछि बेलायत जाने विदेशी विद्यार्थीहरूको सङ्ख्या ह्वात्तै घटेको थियो । नयाँ टियर टु भिसा मापदण्डले नेपाली विद्यार्थीलाई आकर्षित गर्ने देखिएको छ ।

    Comment Here!