डा. केसीलाई अपराधीलाई जस्तै गरी पक्रनु आपत्तिजनक : केसी

काठमाडौं, पुस २५ । डा. गोविन्द केसीलाई अपराधीलाई जस्तै गिरफ्तार गरिएको प्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति प्रकाशित गर्दै मानहानीका मुद्दामा अदालतमा हाजिर हुन पुर्जि काट्ने चलन भएपनि डा. केसीलाई रातको समयमा पक्राउ गरेर हाजिर गराइएको प्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

अध्यक्ष केसीद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ– ‘उनलाई गिरफ्तार गर्दा पनि कुनै अपराधिलाई जस्तै रातको समयमा गिरफ्तार गरियो । उनीसित व्यवहार गर्दा कानूनको न्यायीक संयमताको पनि पालना गरेको देखिएन ।’

न्यायालय स्वच्छ होस् भनेर डा. केसीले उठाएको आवाजलाई जनमोर्चाले सही ठहर्याएको छ । ‘संविधानले नागरिकहरूलाई अभिव्यक्तिको स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । त्यसका साथै देशको न्याय प्रणाली स्वच्छ र निष्पक्ष प्रकारको होस् भनेर आवाज उठाउनु पनि सबै नागरिकहरूको अधिकारभित्रको कुरा हो ।’ अध्यक्ष केसीले भनेका छन्– ‘त्यो अवस्थामा नागरिकलाई प्राप्त संवैधानिक अधिकारको प्रयोग गरेको तथा न्याय प्रणालीको स्वच्छता र निष्पक्षतामा जोड दिएको कारणले डा. केसीलाई गिरफ्तार गर्नु सही भएको छैन ।’

जनमोर्चाले डा. केसीलाई तत्काल रिहा गर्न समेत माग गरेको छ ।

यस्तै, राजमोले पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । ‘नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका रहेको छ । यदि उनले नेपालको एकीकरण नगरेको भए हाम्रो देश ब्रिटिस साम्राज्यवादको उपनिवेश बन्न सक्ने थियो ।’ अध्यक्ष केसीले भनेका छन् –‘उनको ऐतिहासिक भूमिकाका कारणले नै नेपाल स्वतन्त्र राष्ट्र रहन सक्यो । त्यसकारण, त्यो अवस्थामा हामीले पृथ्वीनारायण शाहको उच्च मूल्याङ्कन गर्नुपर्दछ ।’

यसैगरी जाडोले कठ्याङ्ग्रिएका जनतालाई तत्काल राहतको व्यवस्था मिलाउन पनि जनमोर्चाले सरकारसँग माग गरेको छ ।

    Comment Here!