यस्ता छन् रानीका विकासे योजना : ‘मुसहरलाई खानेपानी, विद्यार्थीलाई कम्प्युटर’

रानी शर्मा तिवारी राष्ट्रिय जनता पार्टीको वरिष्ठ उपाध्यक्ष हुन् । तराईमा जन्मेर काठमाडौंमा हुर्किएकी रानीलाई राजनीतिको नशा लागेपछि छँदाखाँदाको सरकारी जागिर छाडेर राजनीतिमा होमिइन् । र हालै सम्पन्न प्रदेश सभाको निर्वाचनमा ७ हजार ४ सय ३० मतका साथ विजय हासिल गरिन् ।

महोत्तरी क्षेत्र नम्बर तीनबाट प्रदेश सभाको सांसद बनेकी उनी मुख्यमन्त्रीदेखि मन्त्री र सभामुखसम्मको जुनसुकै जिम्मेवारी पाएपनि कुशलतापूर्वक भूमिका निर्वाह गर्ने बताउँछिन् । रानीले भनिन्, ‘शिक्षा, यातायात, स्वास्थ्य, कृषि क्षेत्रमा महोत्तरी पछाडि रहेको छ । त्यसैलाई पाँच वर्षभित्र सबैभन्दा अघि पार्ने उद्धेश्य लिएको छु । र त्यही अनुरुप अहिले म जिल्लामै व्यस्त रहेको छु । यसका लागि आवश्यक रणनीतिहरु पनि तयार गरिरहेकी छु ।’

 

रानी शर्मा तिवारी, प्रदेश सभाको सांसद, महोत्तरी

यस्ता छन् उनका योजनाहरु :

१.सडक/यातायात

सबैभन्दा पहिलो योजनामध्ये सडक नै हो । वर्षाैंदेखि निर्माणका लागि सम्झौता भएका सडकहरु अलपत्र अवस्थामा छन् । त्यसको पहिचान गरेर चाँडोभन्दा चाँडो स्तरोन्नत्ति गर्नेछु ।

अर्कातिर अलिकति पानी पर्याे भने हिलाम्य र डुबानमा परेर वर्षेनी कैयौँ मानिसले अकालमै ज्यान गुमाउनु परेको छ । त्यो समस्याको समाधान गर्नेछु ।

 जनकपुर–जलेश्वर–बिर्तामोड सडक खण्ड धेरै वर्षदेखि अलपत्रमा परेको छ । त्यसको पहिलो निर्माण र स्तरोन्नत्तिको कार्य हुनेछ । यसअघि पटक पटक बीचमा सडक निर्माणका कार्यहरु रोकिँदै आएको छ । घरि सुस्त त घरि रफ्तारमा अघि बढेको यो सडक खण्डको स्तरोन्नत्ति गरिएन भने वर्षाको समयमा फेरि पनि यहाँका सर्वसाधारणहरु पर्नेछन् ।

 मैले चुनाव जितको १६ वटा वडाका भित्री सडक खण्ड (गल्ली)हरुको कालोपत्रे गर्नेछु । यो मेरो पहिलादेखिको बचन हो । त्यो म पूरा गर्ने बाचा फेरि पनि घोषणा गर्दछु ।

 भित्री सडकखण्डहरुमध्ये पनि मुसहर बस्तीका गल्लीहरुलाई विशेष प्राथमिकतामा राखेकी छु ।

२.कृषि

 कृषिका लागि विशेष खालका बैज्ञानिक योजनाहरु बनाइनेछ । मधेस आफैँ पनि कृषि प्रधान स्थान हो तर राज्यबाट हालसम्म कुनै पनि त्यस्ता खालका व्यवस्थापनका रणनीतीहरु अघि सारिएको छैन । अब यसको सुक्ष्म अध्ययनसँगै कार्यान्वय गर्नेछु ।

 यसकारण मधेसमा खास फस्टाउने अन्नबालीको अध्ययन गरिनेछ । त्यसलाई पहिलो प्राथमिकता राखि अघि बढिनेछ ।

 राज्यबाट कृषकहरुका लागि शून्य प्रतिशतमा कर्जा लगानी गर्नुपर्छ । हालसम्म यसको कुनै कार्यन्वयन भएको छैन । जब, देश कृषिमा आत्मनिर्भर बन्दैन तबसम्म युवा पूस्ताहरु रोजगारका लागि विदेशिनु बाध्यता रहिरहनेछ । यसकारण देशमा कृषि क्षेत्रलाई तन्दुरुस्त नबनाउने हो भने विदेशिने युवाहरुको संख्या अझ बढ्नेछ ।

 बेरोजगारलाई रोजगारीमा रुपान्तरण गर्नका लागि कृषि कलकारखानाहरु बन्द अवस्थामा छन् । ति अवरुद्ध रहेका कलकारखानाहरुको व्यवस्थापन गर्नुपर्नेछ ।

 अर्कातिर राज्यले कृषकलाई दिने भनिएको प्राविधिक उपकरणहरु प्रचुर मात्रामा उपलब्ध भइसकेको छैन । अब ति प्राविधिक उपकरणहरु प्रत्येक वडा तथा नगरहरुमा वितरण गरिनेछ । यसका लागि अहिले पनि कृषि मन्त्रालयसँग सहकार्य र समन्वय भइरहेकोे छ ।

३. खानेपानी

 पाइपमार्फत् खानेपानीको वितरण भएकोले यो भेगमा त्यतिधेरै समस्या देखिँदैन । तर, त्यसको उचित तरिकाले व्यवस्थापन नहुँदा समस्याहरु देखिन पुगेको छ ।

 विशेषगरि यो भेगको मुसहर बस्तीमा सबैभन्दा बेसी खानेपानीको समस्या भएको देखिन्छ । त्यसैले यो भेगको खानेपानीलाई कसरी व्यवस्थापन गर्ने भन्ने मेरो प्राथमिक चिन्ता हो । यसका लागि मैले परामर्श पनि थालनी गरिसकेको अवस्था छ ।

४. सिंचाइ

 खानेपानी भन्दा पनि मुख्य समस्या त सिंचाइमा छ । अस्ति चुनावमा भोट माग्न जाँदा पनि गाउँलेहरुले सिंचाइको व्यवस्था गर्न सुझाव दिनुभएको थियो । यहाँको उर्बर जग्गा बाँझोपन हुने खतरा देखिएको भन्दै गाउँलेहरुले पहिलो प्राथमिकता यसमा देखाउनुभएको छ । यसकारण सिचाइँको व्यवस्थापन गर्नुपर्नेछ ।

 त्यसैले सर्वसाधारणले उठाएका सिचाइँ सम्बन्धिका मागहरु पूरा नगरी नहुनेछ । अब पाँच वर्षे कार्यकालभित्र यो समस्या निमिट्यान्नै पार्नुछ ।

५.खेलकुद

 मधेसमा खेलकुदतर्फ बालबच्चा तथा युवाहरुको पहिलो रोजाई क्रिकेट नै भएकोले यसको विकासमा जोड दिइनेछ ।

 राजधानीको रंगशालाभन्दा सुविधायुक्त क्रिकेट मैदानको निर्माण गरिनेछ । यसका लागि उपयुक्त हुने स्थलको छनौट कार्य भइरहेको छ ।

 यो विषयमा यहाँको स्थानीय खेलकुद विज्ञहरुसँग पनि अहिले छलफलमा छौँ । त्यसैले यो क्षेत्रलाई क्रिकेटमय बनाइनेछ ।

६.शिक्षा

 मधेसमा शिक्षाको स्तर कस्तो छ भन्ने कुराबारे धेरै गन्थन गर्नुपर्ला जस्तो लाग्दैन । हामीले दुर्गम पहाडी जिल्ला तथा अन्य सुगम भेगमा पनि मधेसी शिक्षकहरुको बाहुल्यता देख्छौँ । तर, यहाँको शिक्षा अवस्था उत्तम रहेपनि महिलाहरु त्यसको शिकार हुनुपरेको छ ।

 ५० प्रतिशत महिला दिदी बहिनीहरु शिक्षाबाट बञ्चित भएका छन् । यहाँको शिक्षा पुरुषका लागि मात्रै केन्द्रित हुनुले मुख्य समस्या निम्तिएको छ । भने शिक्षामा अर्काे महत्वपूर्ण समस्या भाषिक रहेको छ । आफ्नै मातृभाषामा अध्ययन गर्न नपाउनुले पनि यो क्षेत्रमा शिक्षाको स्तर अलि कमजोर देखिन्छ । यसका लागि अब विशेष खालका रणनीतिहरु नगरी नहुने अवस्था छ ।

 यहाँको कूल जनसंख्यामध्ये आधा त महिलाहरु मात्र छन् । यसकारण अब महिलाहरुका लागि स्नातकोत्तर तहसम्म निःशुल्क अध्ययन गर्ने नीति पूर्ण रुपमा लागू गर्नेछु ।

 अर्कातिर सञ्चार प्रविधिले विश्व समुदायमा रुपान्तरित भइसके पनि अध्ययन शैलीमा रुपान्तरण हुन सकेको छैन । त्यसैले विद्यार्थीहरुलाई कम्प्युटर शिक्षाबाट अध्ययन गराइनेछ । त्यो मेरो मूल प्राथमिकता हो ।

७. स्वास्थ्य

 यहाँको प्रमुख समस्या भनेको स्वास्थ्य हो । विगतका दिनहरुलाई नियाल्दा यो क्षेत्रतर्फ निक्कै सुदृढ भएपनि प्रचुर मात्रामा त्यसको विकास हुन सकेको छैन । कुनै वडामा एउटा गतिलो स्वास्थ्य चौकी छैन । यसकारण प्रत्येक वडामा सुविधायुक्त स्वास्थ्य चौकी खोलिनेछ ।

 अरुभन्दा पनि वर्षाको समयमा यहाँका मानिसहरु त्रसित हुनुपरेको छ । सर्प, विच्छि लगायत विषालु जीवको टोकाइबाट मृत्युवरण गर्नुपर्ने अवस्था छ । सरकारकातर्फबाट यसका लागि आवश्यक औषधिको व्यवस्थापन हुन सकेको छैन । त्यसैले यो माग विगतदेखिकै हो । यो समस्याको पहिचान कसरी हुन्छ नगरी भएको छैन ।

 मेरो कार्यकालमा यी स्वास्थ्यका समस्याहरुको हल हुनेछ । बोलेर हैन काम गरेर देखाउनेछु ।

(कुराकानीमा आधारित)

 

    Comment Here!