किनारामा पारिएका ठाकुर गैरे उत्तर खोजिरहेछन् ‘के चाहिँ पुगेन त ?’

पोइला जान पाम्’ जस्ता विकृत गीत गाएकी कोमल वलीहरुले अवसर पाएसँगै विद्यार्थी कालदेखि नै एमालेमा लागेर राजनीति गर्दै आएका ठाकुर गैरेहरु फेरि पनि किनारामै छाडिए । जनचाहना तीव्र हुँदाहुँदै पनि प्रतिनिधि सभा र राष्ट्रिय सभामा मनोनयन हुनबाट वञ्चित भए, हेर्डक्वार्टरको रोजाइमा नपर्दा । विशेष गरी माधव नेपाल गुटका भनेर चिनिएका गैरे राष्ट्रिय सभामा पुग्नबाट वञ्चित हुनुको अर्को कारण हो,नेपालले आफ्ना सम्धि सोमप्रसाद पाण्डेलाई च्याप्नु । भाग्यवश राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने मौका पाएका पाण्डे र किनारामा पारिएका गैरे दुवै पाल्पा निवासी हुन् । विद्यार्थी कालदेखि राजनीतिमा अहोरात्र खटिँदै आएका गैरेलाई पार्टीले किनारामा पार्दै आएको यति बेला सर्वत्र चर्चा छ । पार्टीले पटक पटक उनीमाथि किन यस्तो अन्याय गर्याे त ? उनी अहिले यसको उत्तर खोजिरहेको बताउँछन् । एमाले पार्टीमै लागेर कपाल फुलाइसक्ने अवस्थामा पुगेका गैरे यद्यपि आफू निराश भइनसकेको बताउँछन् ।

अहिले टिकट नपाएसँगै शहरमा चर्चाका पात्र बन्न पुगेका गैरेलाई मकालु खबरले बागबजारको हार्दिक होटेलमा भेट्यो । त्यहाँ उनीसँगै थिए एमालेका बौद्धिक व्यक्तित्व घनश्याम भुषाल । भुषालसँग छुटेपछि गैरेले मकालु खबर संवाददाता लोक राज रुम्दालीसँग मनको बह यसरी पोखे :

ठाकुर गैरे, नेता, नेकपा(एमाले)

उत्तर खोजिरहेको छु
पहिलो संविधान सभाकोे निर्वाचन र दोस्रो निर्वाचन हुँदै हाल प्रतिनिधि र प्रदेश सभा निर्वाचनको अन्तिम निर्णयमा पुगिसकिएको छ । पार्टीले गरेको व्यवहारले बाहिर प्रश्न उठाएको जस्तो लाग्छ । तर, खास किन यस्तो भइरहेको छ ? म पनि अनुत्तरित नै छु । म उम्मेदवार बन्न असक्षम देखिनुका कारण वा मेरो कमजोरी के हो ? कि मसँग उम्मेदवार बन्ने योग्यता नै अपुग थियो ? यिनै विषयहरू अहिले प्रधान बनेको देखिन्छ । मैले विगतमा विद्यार्थी आन्दोलनमा जति काम गरे पार्टीमा त्यो भन्दा ठुलो जिम्मेवारी बहन गरेको छु । पार्टीको आठौँ महाधिवेशनदेखि हालसम्म पनि पार्टीका महत्त्वपूर्ण जिम्मेवारीमा रहेर काम गर्दै आएको छु । पार्टीले तोकेको मापदण्डअनुरुप नै काम गरेको छु । तर, मैले यसरी काम गरिरहँदा माथिबाट किन अड्काइन्छ ? त्यसको सही जवाफ दिईंदैन । यो नै अहिलेको बहस गर्न योग्य विषय हो । र, मैले पनि यसको उत्तर खोजिरहेको छु । तर, पाएको अवस्था छैन ।

जवाफ आएन
हो, यहीँ विषय नै पेचिलो बनेको छ । ममाथि किन पटक पटक अन्याय हुन्छ । र, किन यस्तो हुन्छ ? म पनि अहिले अचम्मित छु । पार्टीको न्याय प्रणाली के हो ? कार्यकर्ताको मूल्याकंन के हो ? सबै जना जनप्रतिनिधि रूपमै निर्वाचित भएर माथि जानुपर्छ भन्ने छैन तर त्यसको क्षमता र कार्य मूल्याकंन त चाहिन्छ । तर, त्यो पार्टीले गरेको देखिँदैन । राष्ट्रिय सभा सदस्यका लागि पार्टीले उसले त्यो स्थानमा बसेर काम गर्न सक्छ भनेर माथिदेखि तल्लो ओहोदा सबैको योग्यता हेरेर नै उम्मेदवार छनोट गर्‍यो । त्यहीँ कोटाभित्र म पनि एक उम्मेदवार थिए । एक हिसाबले पार्टीले विगत र वर्तमान दुवैको मूल्याङ्कन गरेर मलाई उम्मेदवार बनाएको हुन सक्छ । तर, अहिले एकाएक त्यो उम्मेदवार बन्नबाट वञ्चित मात्र होइन कि किन यस्तो गरियो भन्दा पार्टीले जवाफ दिएको छैन । यदि मसँग त्यो उम्मेदवार बन्ने योग्यता अपुग थियो भने सोझै प्रश्न गर्न सक्थ्यो । तर, त्यसो भएन । यसबारेमा मैले पार्टीसँग जवाफ माग गर्दा कुनै पनि प्रतिक्रिया आएको छैन ।

के चाहिँ पुगेन ?
सबैलाई सर्वविदित्तै छ । म पार्टीेको केन्द्रीय कमिटीको सदस्य हुँ । सङ्गठनको एक सदस्य भएको नाताले मैले यो विषयलाई निजी बनाएको छैन । र, त्यो गर्नु उत्तम पनि होइन । पार्टीको सिद्धान्त बाहेक न एनजिओ आइएनजिओ न त ठेक्का पट्टामा नै संलग्न छु । विशुद्ध भई कुशलतापूर्वक पार्टीको जिम्मेवारी सम्हालिरहेको छु । मैले गरेका कामहरूलाई मध्यनजर गर्दै पार्टीले उम्मेदवार बनाउनु निजी विषय होइनन् । न मैले कहिल्यै यति वर्षपछि सांसद हुन्छु अनि मन्त्री, प्रधानमन्त्री हुन्छु भन्ने सोचेको छु र न कहिल्यै सोच्नेछु । केवल पार्टी र जनताको बिचमा उभिएर जिम्मेवारी बहन गर्नुभन्दा एक इन्च तलमाथि भएर काम गर्ने छैन । तर, अहिले पार्टीले ममाथि गरेको दुव्र्यवहारप्रति बाहिर जनतामाझमा अनेकौँ शङ्का उब्जिएको छ । अघिल्लो प्रतिनिधि सभामा चर्किएको आवाज अहिले झनै चर्किएर आएको छ । यस विषयमा देशको बौद्धिक र शिक्षित वर्गले पनि प्रश्न उठाएपछि म पनि केही सचेत हुँदै आएको छु ।

यो पार्टीले सोच्ने कुरा हो
पार्टीले कार्यकर्ताको मूल्याङ्कन व्यक्ति विशेष नियालेर यस्तो खालको काम गरिएको छ भने त्यसले पार्टीमा नव प्रवेशीहरुलाई धक्का त पुग्छ नै भोलि पार्टीको अवस्था कस्तो हुन्छ ? भन्नेमा चिन्ता उब्जाउँछ । अरू साथीहरू को कसरी कहाँ पुगे ? त्यसबारेमा मैले भन्नुपर्ला जस्तो लाग्दैन । आफू कसरी काम गरिरहेको छु । पार्टीले खटाएको काम कर्तव्य कति निष्ठापूर्वक गरेको छु जसले समाज रूपान्तरण होस् । म यसतर्फ मात्र ध्यानकेन्द्रित भएको हुनाले को साथी कहाँ पुगे त्यो म जान्दिन । म आफ्नो उद्धेश्य प्राप्तिका लागि अघि बढेकोले आफूसामू आएका अनेकौँ चुनौतीको सामना गर्न सक्छु । र,त्यसको जवाफ कसरी दिनुपर्छ भनेर हिच्किचाउँदिन ।

मैले मेरो सन्दर्भमा नढाँटी भन्नुपर्दा, पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनमा तत्कालीन अध्यक्षका लागि झलनाथ खनाल र महासचिवमा ईश्वर पोखरेललाई समर्थन गरेको थिए । नवौँ महाधिवेशनमा पार्टीको अध्यक्षमा माधव नेपाललाई समर्थन गरेँ । त्यस कारण म प्रश्न गर्न चाहन्छु ? कार्यकर्ताले आफूलाई भोट नहालेको नाममा यस्तो मूल्याङ्कन गरेको हो भने पार्टीले मापदण्ड बनाउँदै यस्तै खालको बनाउनुपर्यो । नत्र किन कुरा एकथरी काम अर्कैखाले गरिन्छ ? के कसैले कसैको क्षमता र योग्यताको कदर गर्न नपाउने हो त ! गुटको कुरा गर्ने हो भने आठौँ राष्ट्रिय महाधिवेशनमा म स्वतन्त्र रूपमा केन्द्रीय सदस्यमा विजयी भए । कार्यकर्ताले मतदान गरेपछि निर्वाचित भएको व्यक्ति नै सर्वाेच्च नेता हो नि ! जसले पार्टी र देशलाई अघि बढाउन खोज्छ । उसैलाई त सहयोग गरिन्छ ।

मलाई पार्टीले सर्वसम्मतिले पाल्पाबाट प्रतिनिधिसभाको उम्मेदवार चयन गरेको हो । विगतदेखि आजसम्म न कुनै यस्ता खालको अफरले मन बहकाएको छु न पार्टीभित्रका कोही नेताबाट नै प्रभावित बनेर उम्मेदवार दिएको छु । कसैले प्रश्न पनि गर्नुभयो तपाईँलाई कुनै नेताबाट उम्मेदवार बन्ने प्रस्ताव आएन ? यसकारण अझै पनि भन्छु न म कोहीसँग प्रभावित बनेर उम्मेदवारी नै दिने व्यक्ति हुँ । पार्टीको सिद्धान्त भन्दा बाहिर रहेर कुनै पनि काम कारबाही गर्नेवाला छैन । एउटा कुरा चाहिँ के घत लाग्दो छ भने, त्यति बेला पार्टीले तपाईलाईलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने भनिएपनि अन्यथा भयो तर अब जसरी हुन्छ अहिले राष्ट्रिय सभामा नगइ नहुने भयो भन्दै फेरि उम्मेद्वारको प्रस्ताव अघि बढायो । तर, फेरि पहिलेको जस्तै वातावरण सिर्जना भएपछि पार्टीका कार्यकर्ता र आम सर्वसाधारणहरू चुप नलाग्ने अवस्था आएको हो । सत्य तथ्य कुराचाहिँ यहीँ हो । यस विषयमा मैले पछि पत्रिकामार्फत् मात्र थाहा पाए कि पार्टी स्थायी कमिटीको बैंठकमा ‘नोट अफ डिसेन्ट’ नै सार्वजनिक गरिएछ ।

अन्त्यमा गैरैलाई प्रश्न तेर्सियो, पार्टीमा बसेर आर्थिक व्यवस्थापन चाहिँ कसरी गरिरहनुभएको छ ?
उनी भन्छन्,‘मेरी अर्धाङ्गीनी चित्रा गैर त्रिविको डिन कार्यालमा ‘हेल्प असिस्टेन्ट’को रूपमा कार्यरत छिन् । हाम्रो एक छोरा र एक छोरी छन् । दुवै माथिल्लो तहमा अध्ययनरत छन् । अहिलेसम्म चित्राले नै परिवारको मुखमा चारो हाल्ने काम गरिरहेकी छिन् । म त यसो औशीँ पूर्णेमा मात्रै उनलाई काँध थामिदिन्छु । न म कुनै एनजिओ, आइएनजिओमा बसेर कामधन्दा चलाएको छु । त्यो गरेको भए पनि हुन्थ्यो होला ? प्रश्न यहिँनेर टक्क उभिन्छ । त्यसैले उनकै भरमा जसो तसो जीवन चलिरहेछ ।’

विद्यार्थी जीवनदेखि नै पार्टीको ईमान्दार सिपाही बनेर निरन्तर सङ्घर्ष गर्दै आएका गैरे किनारामा पारिएका छन् । यो उनको व्यक्तिगत कुरा मात्र नभएर राजनीतिक दलहरूमा मौलाउँदै गएको नातावाद, कृपावाद, गुटगत संकिर्णता र लोभीलालची प्रवृत्तिको सङ्केत पनि हो । तैपनि ठाकुर गैरे अझै आशावादी देखिन्छन् । भन्छन्– ‘मैले जवाफ अवश्य पाउँछुहोला ।’

    Comment Here!