वैद्य र विप्लवले संयुक्त रुपमा मनाए जनयुद्ध दिवस : के भने ?

काठमाडौं, फागुन १ । मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले २३ औं जनयुद्ध दिवस संयुक्त रुपमा मनाएका छन् ।

काठमाडौंको भृकुटीमण्डप स्थित राष्ट्रियसभा गृहमा आयोजिते विशेष कार्यक्रममा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द‘विप्लव’ले सम्बोधन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै वैद्यले देशीविदेशी प्रतिक्रियावादी, नवसंशोधनवादी तथा अवसरवादी र विसर्जनवादीहरुले क्रान्तिकारीहरुका विरुद्ध घेरा कसिलो बनाएर लगिरहेको भन्दै सबै कम्युनिष्ट क्रान्तिकारीहरुबीचको एकता र क्रान्तिको तयारी आवश्यकता र बाध्यता बनेको बताए । वैद्यले सबैतिर छरिएर रहेका क्रान्तिकारीहरु गोलबन्द हुनुपर्ने आवश्यकतामा जोड दिए ।

यस्तै, नेकपाका महासचिव विप्लवले प्रचण्ड र बाबुरामहरुले जनयुद्धमाथि घात गरेको आरोप लगाउँदै अधुरो जनवादी क्रान्तिको नेतृत्व आफुहरुले गर्ने दावी गरे । विप्लवले प्रचण्डमाथि पार्टी र क्रान्तिलाई प्रतिक्रियावादीहरुको अखडामा लगेर मिसाएको भन्दै माओवादी केन्द्रभित्र रहेका क्रान्तिकारीहरुलाई एकै ठाउँमा गोलबन्द हुन आग्रह पनि गरे ।

यी दुई पार्टीका शीर्ष नेतृत्वबीच भएको बैठकले संयुक्त रुपमा जनयुद्ध दिवस र फाल्गनु १४ देखि २१ सम्म सहिद सप्ताह मनाउने निर्णय गरेका थिए । ७ वटै प्रदेशका जिल्लाहरुमा पनि विभिन्न कार्यक्रमहरु गरी संयुक्त रुपमा जनयुद्ध दिवस मनाइएको माओवादीले जनाएको छ ।
यी दुई पार्टीबीच पार्टी एकता गर्ने तथा नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने विषयमा निरन्तर छलफल हुँदै आएको छ ।

    Comment Here!