nic asia bank

‘किम्फले धेरै फिल्म मेकरलाई बाटो बनाइदिएको छ’

Ved International Education Consultancy

हिमाल एशोशिएसनको आयोजनामा भोलिबाट राष्ट्रिय सभागृहमा काठमाडौँ अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेष्टिवल हुँदैछ । सन् २००७ बाट सुरु भएको काठमाडौँ अन्तर्राष्ट्रिय माउण्टेन फिल्म फेष्टिवल (किम्फ) को १६ औँ संस्करणमा ३१ देशका ७० फिल्म प्रदर्शनमा आउँदछन् । किम्फमा प्रदर्शनमा आउने फिल्महरू मूल धारका फिल्म भन्दा फरक र यथार्थपरक हुने गर्दछन् ।

छोटा, डकुमेन्ट्री फिल्मले ब्यवसायीक सफलता हासिल नगरे पनि यस्ता फिल्मका छुट्टै दर्शक रहेको किम्फ आयोजक हिमाल एशोशिएनका अध्यक्ष वसन्त थापाको भनाई छ ।

थापाका अनुसार नेपालमा करिब डेढ दशकदेखि फरक धारमा फिल्म निर्माण भइरहेका छन् । नेपालको धर्म, संस्कृति, परम्परा आदिका विषयमा बनेका थुप्रै फिल्मले अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएर पुरस्कृत समेत भएका छन् । किम्फले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजान ठुलो भूमिका निर्वाह गरे पनि सरकारी तवरबाट कुनै सहयोग नभएको थापाको ठहर छ ।
६ औँ किम्फ, फरक धारका नेपाली फिल्मको अवस्था, अन्तर्राष्ट्रिय बजार लगायतका विषयमा अध्यक्ष थापासँग मकालु खबरका लागि केशव सापकोटाले गरेको कुराकानीको संक्षेपः

नेपालमा फरक धारका फिल्महरूको फेस्टिवलको आवश्यक्ता किन देखियो ?

यसलाई बैकल्पिक धार भनेर बुझ्दा पनि हुन्छ जहाँ छोटा र डकुमेन्ट्री टाइपका फिल्म प्रदर्शन हुन्छन् । यस्ता फेष्टिवलले दर्शक र सिनेकर्मीलाई बेग्लै विषय बस्तुहरूमा फिल्महरू हेर्ने मौका दिन्छ ।

विभिन्न देशहरूबाट छानिएर आएका फिल्महरू अरुबेला हेर्न नपाइने, फिल्म मेकरले नयाँ कुरा हेर्न र सिक्न पाउने तथा एक्सपोजर बढ्ने, दर्शकहरूको पनि रुचि रिफाइण्डमेन्ट हुने भएकोले नेपालमा माउण्टेन फिल्म फेष्टिवलको आवश्यक्ता देखियो । यसले एउटा देशको संस्कृति, रहनसहन तथा विषय अर्को देशमा एक्पोज गराउन पनि सहयोग पुग्छ ।

फरक धारका फिल्म केका लागि बनाइन्छ ?

घाटै खानका लागि भनेर यस्ता फिल्म बनाइँदैन । केही न केही कतैबाट खर्च उठाउने प्रयत्न हुन्छ । विदेशका धेरै देशहरूमा यस्ता फिल्म बनाउन निकायहरू छन्, जसले नयाँ फिल्म, डकुमेन्ट्री बनाउन सहयोग गर्छन् । कतिले आफ्नै लगानीमा आत्म सन्तुष्टिका लागि पनि बनाउँछन् ।

फरक धारका फिल्म भनेको फिल्म मेकरको अभिव्यक्ति, विचार देखाउने माध्यम पनि हो । जसले समाजमा रहेका विषयलाई एक्सपोज गर्न चाहन्छ, त्यसमाथि अन्तर्राष्ट्रिय स्तरमा बहस होस भन्ने चाहन्छ । तसर्थ यस्ता फिल्मले व्यापारिक हिसाबले नाफा कमाउने उद्देश्य राख्दैनन् ।

डकुमेन्ट्री फिल्म ब्यवसायीक हुन सकेका छैनन् । डकुमेन्ट्री फिल्मले विषयको उठान गर्न सक्छ । 

नेपालको हिसाबमा कुरा गर्दा यहाँ बनेका फरक धारका फिल्मको उद्देश्य के देख्नुहुन्छ ?

नेपालमा जति पनि फरक धारका फिल्म बने तिनले केही न केही उद्देश्य लिएकै छन् । हामी कहाँ सुरुमा पैसा नकमाउने फरक धारको फिल्मको सुरुवात भए पनि पछिल्ला दिनहरूमा धेरै राम्रा र अन्तर्राष्ट्रिय स्तरमा नाम र दाम कमाउने फिल्म पनि आएको पाएका छौँ ।

उदाहरणका लागि दीपक रौनियारको सेतो सूर्यले उसलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍यायो । यसमा किम्फ उसको लागि प्रस्थान विन्दु भयो । यस्ता धेरै उदाहरण छन् ।

फरकधारका फिल्म विषयका हिसाब र समयका हिसाबले पनि हलमा चल्न सक्दैनन् । डकुमेन्ट्री फिल्म ब्यवसायीक हुन सकेका छैनन् । डकुमेन्ट्री फिल्मले विषयको उठान गर्न सक्छ ।

फरक धारका फिल्म मेकरहरु आफ्नो कार्यलाई निरन्तरता दिन नसक्नुको कारण के हो ?

यो धेरै कुरामा भर पर्छ । केही छन् जो निरन्तर यो क्षेत्रमा लागिरहेका छन् । दीपक रौनियारको नाम लिए, मोहन मैनाली एउटै फिल्ममा रोकिनु भएन । केसाङ क्षेतेनले लगातार फिल्म बनाइरहेका छन् । ध्रुव बस्नेत, रमेश खड्का, दीपेन्द्र भण्डारीले पनि आफ्नै किसिमले फिल्म बनाइरहेका छन् ।

मीन बहादुर भाम कालो पोथीले चर्चामा आए पनि त्यो भन्दा अगाडी नै बाँसुरी बनाएर चर्चामा थिए । छिरिङ रितार जो मूलधारका फिल्म पनि बनाउँछन्, डकुमेन्ट्री र फिस्कन फिल्म बनाइरहेका छन् ।

कतिको यो मूल व्यवसाय भएको छ, कतिले शौखका रूपमा बनाउँछन् त, कतिले आर्थिक कारणले पनि बनाउन सकिरहेका छैनन् । सबैलाई एउटै क्याटोगोरीमा राखेर हेर्न मिल्दैन । किम्फले धेरै फिल्म मेकरलाई बाटो बनाइदिएको छ ।

अहिले बनिरहेका मेनस्ट्रिमका फिल्महरूमा पनि फरक धारका फिल्मले प्रभाव पारिरहेको हामीले महसुस गरेका छौँ । 

नेपालमा फरक धारका फिल्म बन्ने क्रममा यो क्षेत्र कत्तिको ब्यवसायीक बन्न सफल भएको छ ?

मैले अघि पनि भनिहालेँ, कतिले यसलाई शौखका रूपमा लिएका छन्, कतिले मूल पेशा नै बनाएर बसेका छन् । कसले कसरी काम गरिरहेको छ, त्यो हामीलाई जानकारी हुन्न ।

यस्ता फिल्मको उपादेयता के भन्ने सन्दर्भमा अहिले बनिरहेका मेनस्ट्रिमका फिल्महरूमा पनि फरक धारका फिल्मले प्रभाव पारिरहेको हामीले महसुस गरेका छौँ ।

उदाहरणका लागि चलनचल्तीका फिल्म भन्दा फरक भएर आएका लुट, झोला, टलकजंग भर्सेज टुल्के, पशुपति प्रसाद, जात्रा । यिनीहरू मसला फिल्म भन्दा फरक भएर आउनुमा फरक धारका फिल्मले प्रभावित बनाएरै हो । यो हेर्दा अहिले हाम्रो प्रयासले समाजमा केही परिवर्तन भइरहेको छ भन्ने लाग्दछ । यसले फिल्म फेष्टिवल गर्न हामीलाई प्रोत्साहित पनि गरेको छ ।

दर्शकको कुरा गर्दा मूलधार बाहिरका फिल्म हेर्ने दर्शक कस्ता छन् ?

हामीले सुरुमा किम्फ गरिरहँदा धेरै जसो विदेशी नै थिए । नेपाल घुम्न आएका टुरिष्टहरु, कूटनीतिक नियोगका मान्छेहरू मात्रै हुन्थे तर, अहिले बिस्तारै नेपाली दर्शकहरू बढ्दै जाँदा फरक धारका फिल्म पनि बन्ने क्रम बढ्दै गयो ।

अहिले विदेशी भन्दा नेपाली दर्शक धेरै हुन्छन् । कतिपय फिल्म दोहोर्याएर देखाउनु परेको छ, कति फिल्ममा सुरक्षाका लागि प्रहरी गुहार्नु परेको पनि अनुभव छ ।

 

यस्ता फेष्टीवलमा कस्ता प्रकारका दर्शक आउन जरुरी छ ?

फेष्टीवल सबैका लागि हो । तर, हाम्रो जोड र चाहना युवाहरूको सहभागिता बढी होस भन्ने छ । त्यो किन भने, युवाहरूको फिल्म प्रति आफ्नै रुचि हुन्छ । उनीहरूमा केही गर्ने चाहना हुन्छ । त्यसमा राम्रो फिल्म हेर्ने रुचि बढोस् भन्ने हो ।

अन्तर्राष्ट्रिय बजारलाई हेर्दा नेपालमा बनेका फरक धारका फिल्महरू कत्तिको रुचाइएको पाउनु भएको छ ?

अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मलाई सजिलो चैँ छैन । विदेशमा गएका नेपाली फिल्महरूले सामाजिक, सांस्कृतिक विषय वस्तुहरू बोकेका हुन्छन् । विदेशमा बनेका फिल्म जस्ता बाहिर हलमा चल्ने हुँदैनन् ।

हाम्रा फिल्महरू अन्तर्राष्ट्रिय बजारमा जाँदा, विभिन्न फेष्टिवलमा सहभागी हुने, विदेशी टेलिभिजनमा राइटस बिक्री गर्ने, पुरस्कृत हुने सम्भावना भने छ ।

के थाहा भोलि उनीहरू आजको प्रोत्साहन र हौसलाले सत्य जित रे बनेर पो निस्कन्छन् ! यहाँहरूको उपस्थितिले फिल्म मेकरलाई हौसला दिन्छ ।

नेपाली फिल्महरू अन्तर्राष्ट्रिय बजारमा एक्सपोज हुन नसक्नुको कारण के होला ?

फरक धारको होस वा मूलधारको फिल्म, हामीले निर्माण गरेका फिल्महरू प्राविधिक रूपमा अन्तर्राष्ट्रिय फिल्म भन्दा कमजोर हुन्छन् । प्रविधिमा हामीसँग दक्ष जनशक्ति नै छैनन् । विषयवस्तु छनौटमा पनि दक्ष जनशक्ति छैन । त्यो सँगै प्रोत्साहनको पनि कमी छ ।

प्रतिभालाई पनि उजिल्याउनु पर्छ । हिरालाई पनि तरास्नु पर्छ । हामी कहाँ त्यस्तो अनुकूल वातावरण छैन ।

तपाइहरू निजी क्षेत्रबाट फिल्म फेष्टिवल गरिरहनु भएको छ, राज्यले कत्तिको सहयोग गरेको छ ?

राज्यले हामीले चाहे जस्तो सहयोग गर्न सकेको छैन । हामीलाई आर्थिक सहयोगको खाँचो छ, राज्यले दिने कुरामा कहाँ कसले गर्ने ठोस योजना छैन । किम्फबाट नेपालको फिल्म क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन धेरै गर्न सक्ने सम्भावना छ ।

नेपालमा किम्फ गरिरहँदा विभिन्न देशका विदेशी फिल्म मेकर आउँछन् । हाम्रा फिल्म मेकरले उनीहरूसँग अन्तरक्रिया, छलफल गर्छन्, एकअर्कामा वार्तालाप हुन्छ, यो आफैँमा एउटा लाभ हो नि ! यसले नेपाली फिल्म लाई अन्तर्राष्ट्रिय बजारमा लैजान सहयोग पुग्छ ।

हामी विदेशी फिल्म मेकरलाई बोलाउँछौँ, एउटा राम्रो होटल समेत दिन सक्दैनौँ । राज्यले सहयोग गरे त नेपालको पर्यटन प्रवर्द्धन र फिल्म क्षेत्रमा समेत टेवा पुग्छ नि ।

यहाँ कस्तो सम्म छ भने, सम्बन्धित निकायमा जान समेत सकिरहेका छैनौँ । सम्बन्धित मन्त्रालय, मन्त्रीलाई बल्लबल्ल यसको महत्त्व बुझायो, यसो सुने जस्तो गर्छन् । एकछिनमा बिर्सिन्छन् ।

यहाँ त राज्यका स्टेक होल्डरलाई तपाइहरू आउनुस्, स्वागत भाषण गर्नुस् भन्दा पनि मान्दैनन् । 

अब राज्यले के गर्नु पर्ला ?

हामीले यस्तो उस्तो भनेर बखान गर्नुभन्दा सरकारले नै मुल्याङकन गर्नुपर्‍यो । कसको के उपयोगिता हो हेरेर त्यही अनुसार सहयोग गर्नुृपर्यो । हामीलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नका लागि चाहिने वातावरण, सहयोग नदिई केही हुँदैछ ।

हामीले अहिले जे जति गरेका छौँ, सहभागिताका हिसाबले अन्तर्राष्ट्रिय फेष्टिवलमा जान सकौँला तर, त्यो भन्दा माथि गएर राष्ट्रका लागि गर्न सक्ने अवस्था छैन । त्यसका लागि त राज्यले नै चलचित्र सम्बन्धी उचित नीति बनाउन आवश्यक छ ।

यहाँ त राज्यका स्टेक होल्डरलाई तपाइहरू आउनुस्, स्वागत भाषण गर्नुस् भन्दा पनि मान्दैनन् ।

यसपालिको फेष्टिवलमा कस्ता फिल्महरू आउँदछन् ?

हामीसँग सबै खाले फिल्महरू छन् । विदेशी फिल्म फेष्टिभलमा कहलिएका ३१ देशका करिब ७० ओटा फिल्महरू देखाउने छौँ । यस पटक हाम्रो मूल थिम वुमेन बनाएका छौँ । त्यस्ता प्रकारका फिल्महरू पनि छन् । नेपाली फिल्मका कुरा गर्दा उद्घाटन फिल्म नै महिला निर्देशकले बनाएको फिल्म छ ।

नेपाल पानोरोमा भन्ने खण्डमा विभिन्न लेन्थका २१ ओटा फिल्म प्रदर्शन हुन्छन् । जसमा डकुमेन्ट्री र फिक्सन गरेर दुई ओटा फिल्मलाई पुरस्कृत गर्ने कार्यक्रम छ ।

अन्तमा, किन किम्फमा सहभागिता जनाउने ?

यहाँ प्रदर्शनमा आउने फिल्महरू हलमा हेर्न पाइँदैन, डिभिडी पाइँदैन, युट्युबमा पनि हुँदैन । प्रदर्शन हुने फिल्म मूलधारका भन्दा फरक र नयाँ स्वाद दिने हुन्छन् । यस्ता फिल्मले दर्शकलाई नयाँपन दिने र फिल्म मेकरलाई पनि प्रोत्साहन दिने हुन्छ ।

यहाँ फिल्म बनाउने कोही पनि बुढा पाका छैनन्, सबै युवाहरू छन्, जसले बाबुको गोजीको पैसाबाट फिल्म बनाएका छन् । के थाहा भोलि उनीहरू आजको प्रोत्साहन र हौसलाले सत्य जित रे बनेर पो निस्कन्छन् ! यहाँहरूको उपस्थितिले फिल्म मेकरलाई हौसला दिन्छ ।

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path