nic asia bank

किरात प्रदेश अवधारणा पत्र

Ved International Education Consultancy

मेरो यो निजी विचार किरात प्रदेश निर्माणको लागि महान जनयुद्धमा सहादत प्राप्त गर्नु हुने जसोदा कन्दङ्वालाई समर्पण गर्छु । सन् २००४ जनवरी ३० मा सङ्गठितरुपमा किरात जनसरकारको स्थापना गर्न घोषित २५ सदस्यीय किरात जनसरकार पदाधिकारीमध्ये जसोदा कन्दङ्वालाई सदस्य हुनुहुन्थ्यो ।
(गोपाल किराती, किरात गणराज्य इतिहास र जारी आन्दोलन, पृष्ठः२८)

किरात प्रदेश अवधारणा पत्र

मेरो अवधारणा पत्र सुरु गर्नुअघि पूर्वन्यायधिवक्ताको रुपमा अन्तर्वार्ता दिनु भएका प्रा.डा. युवराज सङ्ग्रौलाको भनाइ राख्छु । ‘म गौरवसाथ भन्छु, म बाहुन हुँ जातले तर म किरात प्रदेशमा जन्मिएकोले सभ्यताले किरात हुँ , जातले बाहुन हुँ । मलाई यो भन्न लाज छैन । सभ्यताले एउटा लिम्बू किराती हो, जातले ऊ जनजाति वा लिम्बू हो । ऊ किराती लिम्बू हो, म बाहुन किराती हुँ ।’

(प्रा.डा. युवाज संग्रौला, पूर्वन्यायधिवक्ता सगरमाथा टेलिभिजनको कार्यक्रम एसटीभी च्याटमा जीवराम भण्डारीसँगको अन्तर्वार्ता, २८ अप्रिल २०१७)

विषय प्रवेश

कैरातिका कुमारिक सका खनती भेषजम्
हिरण्यमयी भिरभ्रिभिगिरीणामुपसानुष ।।–अथर्ववेद, १०।४।१४
अर्थः– एउटी कुमारी किरात तरुनी सुनले बनेको खुर्पाले ठूल–ठूला पर्वतका साना–साना टाकुाहरुमा जडीबुटी–औषधी खनिराखेकि छिन् ।
(डा.स्वामी प्रपन्नाचार्य, प्राचीन किरात इतिहास, किरातेश्वर प्रकाशन, वाराणसी, २०५१, पृष्ठ ९, १०, ५५)

सबैभन्दा पुरानो ग्रन्थमध्ये ऋग्वेद जेठो मानिन्छ जसको रचनाकाल ई.पू. १५००देखि १००० मानिन्छ । यस ग्रन्थमा किरातलाई दस्यु, दास, दैत्यको रुपमा व्याख्या गरिएको छ । सोही वेदको हाराहारी रचना मानिएको अथर्ववेदमा यसरी किरातको बारेमा चर्चा गरिनु किरात नामको ऐतिहासिकतालाई झल्काउँछ ।

किरात’ शब्द स्पष्ट रुपमा ‘किरातार्जुन संवाद’(हिन्दू धार्मिक पुस्तक) मा पनि देखापरेको छ । यो संवादमा महाभारत युद्ध अगावैका घटनाहरु अर्थात सो युद्धको पूर्वतयारी बारे चर्चा चलेको छ । यस अगाडि र पछाडि लेखिएका संस्कृत ग्रन्थहरुमा ‘किरात’लाई इङ्गित गर्ने संज्ञाहरु–मरुत, तृत्सव, कपर्दि, घोर–अघोर, दास, दस्यु (डाँकु), यक्ष(मदनयत), शाक, शकैमर्दी, सूष, श्यन, शुषन, मेष, कोशी, कौशिक, दैत्य, नाग, नागा, राक्षस, दानव, कुंभण्ड, कारौती, बाँदर, भालू, वंगृद्ध आदि इत्यादि छन् । पछि–पछि देव, महादेव, रुद्र, रुद्राशा, शोम, भोलानाथ, पशुपतिनाथ संज्ञामा पनि यिनै किरातलाई मानिन्छ ।

(सम्पादक मण्डल, नेपालका जनजातिको धर्म, संस्कार, किरात धर्म तथा साहित्य उत्थान संघ, काठमाडौं उपत्यका शाखा, पृष्ठ १९, २०, । यो शब्दावली दुर्गाहाङ याखा राईको पुस्तक ‘ब्राहमणवादविरुद्ध जनजाति उत्पीडित वर्ग’ बाट लिइएको हो । )

यजुर्वेदकालमा किरातलाई त्यस्तो अवस्थामा देख्नेहरुले ‘गुहाभ्य किरातं......’ अर्थात गुफाबाट किरात भए वा बस्थे (शुक्ल यजुर्वेद वाजसनेयी शाखाको मन्त्र ३०।१६) भन्ने र यजुर्वेद काण्वसंहिता(४०।४ अ. १६ सा.भा.) मा ‘गुहाभ्यः पर्वतगुहाभिमानिभ्यः किरातं मृगघातिनम्.......।’ अर्थात पहाड–पर्वतका गुफाहरुमा बस्ने, मृगको शिकार गर्नेहरुलाई किरात भनेको हो भन्ने श्लोकहरुको रचना गरे, जसबाट तत्कालीन किरातहरुको यथार्थ ऐतिहासिक चित्रण भएको मान्नु पर्छ । यसैले सिन्धु सभ्यता प्राचीन किरात सम्राट शम्वरसहितको किरात सभ्यता नै हो ।

(दुर्गाहाङ याखा राई, ब्राहमणवादविरुद्ध जनजाति उत्पीडित वर्ग, पृष्ठः२०७)

किरात शब्दको उत्पत्ति किरात मुन्धुमी शब्दबाट भएको भन्ने पनि भनाई छ । मुन्धुमी भाषामा हिमाली श्रृङ्खलालाई ‘काईलासो’ भनिन्थो, जो पवित्रको प्रतिकको रुपमा स्वीकार गरिएको थियो । काइलासो नै पछि काइलासी, काईलाति, कैराती हुँदै किरात भएको मान्न सकिन्छ ।

(लिम्बुवानको ऐतिहासिक पष्ठभूमि, जातीय स्वायत्तता र आत्मनिर्णयको सवाल, राजनीतिक प्रतिवेदन–२०५९, पृष्ठः २, प्रकाशकः किरात राष्ट्रिय मोर्चा लिम्बुवान क्षेत्रीय सङ्गठन समिति)

राहुल सांकृत्यायनले पनि–‘सिन्धु र पञ्जाब सभ्यतालाई लिएर मोहनजोदडो, हडेप्पा, कांगडा आदि क्षेत्रको सभ्यतालाई प्राचीन मरुत–किरात सभ्यता हो ।’ भनी आफ्नाे पुस्तक ‘ऋग्वेदिक आर्य’ मा लेखेका छन् ।

हिमाली खण्डमा बसोबास गर्ने सर्वाधिक प्राचीन जातिमध्ये किरात एक हो भन्ने कुरामा सन्देह छैन ।.......राहुल सांस्कृत्यानकाअनुसार हिमाली जातिको भाषा तथा अन्य कुराको अध्ययनबाट हिमालय र त्यसको तराई क्षेत्रमा पञ्जाब काश्मिरसम्म बसोबास गर्ने आदिवासी किराती थियो, जो पूर्वमा आसाम, वर्मा हुँदै कम्बोडियासम्म फैलिदैँ गयो ।
(जनकलाल शर्मा, हाम्रो समाजः एक अध्ययन)

फारसी भाषामा ‘कोहलात’ भन्ने शब्द छ । कोहको अर्थ पर्वत वा पहाड र लताको अर्थ लहरा हुन्छ । अर्थात असंख्य पर्वतहरुको लहर लाई कोहलात भन्ने अर्थ लाग्यो । र, सो क्षेत्रमा बसोबास गर्नेलाई कोहलात भनियो । यही कोहलात नै कलाती कैलाती हुँदै किरात हुन गयो । यो पर्वतमाला बुझाउने भूगोल नेपालको सुदुरपश्चिमतर्फ पर्ने पाकिस्तानी भूभागमा बग्ने सिन्धनदी र नेपालको पूर्वतर्फ भारतीय क्षेत्रमा बग्ने ब्रह्मपूत्र नदीको भूगोल हो ।
(दुर्गाहाङ याखा राई, ब्राहमणवादविरुद्ध जनजाति उत्पीडित वर्ग, पृष्ठः२०१)

आर्यगणले करिब ई.पू. ३००० तिर भारतीय उपमहाद्वीपको सिन्धु क्षेत्रमा आक्रमण गरी भारत प्रवेश गरे, त्यही समयदेखि उनीहरुले आपूmभन्दा फरक जातिलाई सो क्षेत्रमा भेटेका थिए ।
(एच. ई. वार्नेस, एच.बेकर, सोशल थट फ्रम लोर टु साइन्स, खण्ड १ पृष्ठ ७२)

किरात प्रदेश नाम सशक्तरुपमा उठ्नु भनेको किरात नामप्रतिको सम्मान हो, जो वैदिक कालदेखि निरन्तर छ सभ्यताको रुपमा । किरात नाम आफैमा प्रमाणित नाम भएकोले यो आफै नै सशक्त मुद्दा बनेको छ, त्यसैले किरात प्रदेशको मुद्दा राजनीतिकरुपले नउठे पनि यो नामलाई नाघेर जान सक्ने स्थिति देखिएको छैन ।

 

विद्वान महोदयहरुको यी विभिन्न मतहरुले किरातको ऐतिहासिकता वा पौराणिकतालाई स्पष्ट पार्दै किराती र आर्यगणबीचको भेटलाई स्पष्ट पारेको छ। पौराणिक समयमा किराती भाषामा राखिएका केही नामहरुले किराती सभ्यतालाई प्रमाणित गर्छ । जस्तैः हिडी (हिउँनदी) हिमालचुलीबाट बग्ने भएकोले हिडी भनियो, यसैको अपभ्रंश ‘हिन्द’ हुँदै ‘हिन्दू’ भएको अनुमान गर्न सकिन्छ । यसरी नै माडी (आमानदी ), ख्वाङ्दी (रिसाहा नदी, चीनको दुख भनेर चिनिने ह्वाङ् हो नदीलाई संकेत गरेको बुझ्न सकिन्छ ।)

किराती सभ्यताको निरन्तरता नेपाली भूगोलमा यलम्बरबाट भयो । लिच्छवीकालिन लेखौटहरुमा भेटिने अड्डा अदालतको नाम किराती भाषाबाट हुनुले उनीहरु संगठित थिए भन्ने बुझाउँछ । किरात कालमा प्रशासनिक इकाइहरु बुझाउने कोट (खुर्काेट, गलकोट, अमालकोट इत्यादी) र सिमाना सुरक्षाकालागि बनाइएका विशेष सैन्य स्थान गढी (विजयपुर, सिन्धुली, केपिलासगढी इत्यादी) किराती भाषाका उपज हुन् । ‘यसैगरि यलम्बरको नामबाट पाटनलाई यलु, भक्तपुरलाई खोप÷ख्वपः, कान्तिपुरलाई यूः भन्दछन् ।’ (शालिक शातासक राई, किन किरात प्रदेश ?, पृष्ठः९०–९१,सम्पादन जनकऋषि राई चाम्लिङ) । किरात कालमा राखिएको स्थान विशेषको नाम सङ्गा जसको अपभ्रंश साँगा, टेङ्खुको टेकु हुनुले उपत्यकामा किराती सभ्यताको अस्तित्वलाई झल्काउँछ । त्यसैगरि कुथेर(कर असुल गर्ने स्थल), शुल्ली(मुद्दा–मामिला हेर्ने स्थल), लिग्वल(कुलो, मुहान तथा पानी हेर्ने इकाइ), मापचोक(संस्कारजन्य कुरा हेर्ने इकाइ) जस्ता प्रशासनिक इकाइ स्थापित हुनु सङ्गठित राज्यसत्ताको पहिचान हो, जो सभ्य समाज निर्माणको परिसुचकहरु हुन् । जग्गा वर्गिकरणमा देखिएको शब्दावली ‘अब्बल, दोयम, सिम, चाहार’ जस्ता वर्गीकरण पनि किरात शब्दावली भनेर दावी गरिएको छ ।

सभ्यता र भूगोलको अन्योन्याश्रित सम्बन्ध छ । कुनै पनि सभ्यता मौलाउने एउटा निश्चित भूगोल चाहिन्छ । अहिलेलाई त्यो भूगोल नेपालको पूर्वी क्षेत्र प्रदेश १ देखिएको छ । ‘जसरी बेलायतमा रहने ४.४५ प्रतिशत मुस्लिमहरु सभ्यता वा भूगोलको हिसाबले बेलायती हो । नस्लको हिसाबले मुस्लिम । त्यसैगरी प्रदेश १ सभ्यताको हिसाबले किरात प्रदेश र नस्ल वा अन्य हिसाबले तत्अनुसार पहिचान यथावत राख्नुपर्छ । जर्मनीबाट आएका आङ्लो जातिबाट बनेको इङल्याण्ड र इङ्लिस शब्दलाई आङ्लो जातिलेमात्र होइन गैर आङ्लो जातिले पनि आपूmलाई उत्तिकै गर्वकासाथ प्रयोग गर्छन् । यो नामको लागि भौगोलिकरुपमा परिवर्तनमात्र हो ।’ (राजेन राई मूलघरे कान्छा, किन किरात प्रदेश ? पृष्ठः ९७, सम्पादन, जनकऋषि राई चाम्लिङ)

राजनीतिक समिकरण र किरात प्रदेश

प्रदेश १ मा प्रदेश सभाको अङ्क गणित हेर्ने होभने जम्मा ९३ सिटमध्ये एमाले ५१ माके १५ नेका २१ ससफोने ३ राप्रपा १ सलोरामो १ अन्य १ देखिन्छ । यही सिट संख्यालाई राजनीतिकरुपमा हेर्ने होभने कुनै पनि बहुमत प्राप्त दलहरुले ‘किरात प्रदेश’ कोलागि नागरिकसँग मत मागेको देखिन्न । यो स्थितिमा पनि सदनमा किरात प्रदेशको बारेमा कुरा उठ्नु भनेको ‘किरात’ को ऐतिहासिकता र पौराणिकतालाई अस्वीकार गर्न नसक्नु हो । जसरी कुनै पनि हाकिम, अधिकृत, सचिव वा मन्त्रीले आफ्नाे आमाबुबा असक्त भए पनि आमाबुबा होइनन् भन्न सक्दैनन्, किरातको सवालमा पनि ठ्याक्कै त्यही स्थिति हो । कुनै पनि राजनीतिक दलले निर्वाचनको समयमा प्रदेश १ लाई स्पष्टरुपमा ‘किरात प्रदेश’ बनाउने भनेर मत नमागेकोले ‘किरात प्रदेश’ को मुद्दा राजनीतिकरुपले बलियो छैन । यद्यपि, किरात प्रदेश नाम सशक्तरुपमा उठ्नु भनेको किरात नामप्रतिको सम्मान हो, जो वैदिक कालदेखि निरन्तर छ सभ्यताको रुपमा । किरात नाम आफैमा प्रमाणित नाम भएकोले यो आफै नै सशक्त मुद्दा बनेको छ, त्यसैले किरात प्रदेशको मुद्दा राजनीतिकरुपले नउठे पनि यो नामलाई नाघेर जान सक्ने स्थिति देखिएको छैन ।

क)आधुनिक नेपालमा किरात शब्दको निरन्तरताका केही झलक

१)तत्कालिन बाइसे राज्य जसलाई खसान क्षेत्र भनिन्थ्यो, त्यसैगरी वर्तमान गण्डक प्रदेश जसलाई चौविसे राज्यको रुपमा चिनिन्थ्यो, उपत्यकालाई मल्ल राज्य भनेर चिनिन्थ्यो । यसैगरि काभ्रेको साँगादेखि पूर्वको भूगोललाई किरात भूगोल भनेर चिनिन्थ्यो । (सन् २०१४ को एभरेष्ट एटलस मानचित्र)

२)किरात प्रदेशभित्र पर्ने वराह क्षेत्रमा वराह अवतारको कल्पना गरिएर किरात भूमिप्रति सम्मान गरियो । कमैमात्र अवतारवादलाई स्वीकार्ने हिन्दू धर्मग्रन्थले ‘वराह अवतार’ को कल्पना गर्नु वराह र किरातसँग कुनै न कुनै किसिमको सम्बन्ध भएरै हो । आर्य इतर सम्बन्ध राख्ने बाइसे र चौविसे राज्यमा वराह अवतारको कल्पना नगरिनु तर किरात प्रदेशभित्र वराहको कल्पना गर्नु किराती सभ्यताको सम्मान हो ।

३)यही क्षेत्र (बराह क्षेत्र)लाई आधार मानेर वीपी कोइरालाले सुम्निमा उपन्यास लेख्नु पनि किराती सभ्यताप्रति सम्मान हो । उपन्यासको पात्र सुम्निमा किरात सभ्यताको जननी मानिन्छ । उपन्यासमा वीपीले किरात सभ्यतालाई आफ्नाे समुदायले लगाउने गरेको विभिन्न उपमाहरुउल्लेख गरेर तीप्रति क्षमा माग्न आर्य समुदायको पात्रले किरात पात्रसँग विवाह गर्न तयार भएको बयान गरेको छ । जसको कथानकले किराती सभ्यतालाई स्वीकार गरेको छ ।

४) किरात एउटा सभ्यता भएकै कारणले वि.सं.२०१७ साल अगाडिसम्म यो सभ्यतालाई निरन्तरता दिइएको थियो । जस्तो कुनै कार्यलय वा आपसी लेनदेनको कारोवार गर्नु पर्यो भने पेटबोलीमा लिखितम् वोल्लो, पल्लो, माझ किरात भनेर सम्बोधन गरिन्थ्यो । यसो हुनु भनेको सभ्यताप्रतिको सम्मान हो । जो वि.सं. २०१९ सालपछिको भूमि सुधार ऐनले समाप्त पारिदियो ।

ख) किरात प्रदेशको मुद्दा समाजिकरुपमा उठाउँदै आएको किरात राई यायोक्खाले सिङ्गो प्रदेश–१ लाई ‘किरात प्रदेश’ मानेर प्रदेशभित्र उपस्वायत्त प्रदेशको रुपमा लिम्बुवान, खम्बुवान, रोङजस्ता विभिन्न क्षेत्रहरुको परिकल्पना गरेको छ । यो अहिलेको स्थितिमा अलि सर्वमान्य वा साझा देखिन आउँछ । यसलाई अस्वीकार गर्ने हो भने अस्वीकारको लर्काे अरु नाममा पनि लाग्ने छ, जो घुमाउरो पारामा पहिचानसहितको संघीय प्रदेशको नाम नहुने दिशातर्फ उन्मुख हुन्छ ।

१)०७१ मंसिर २८ मा लिम्बुवानले बन्द गर्दा कोचिलाले बन्दको विरोध गरे । त्यसको भोलिपल्ट २९ गते कोचिलाले बन्द गर्दा लिम्बुवानले विरोध गरे । यसको एउटै तर्क थियो–झापा, मोरङ र सुनसरीमा रहेका राजवंशी, ताजपुरिया, गनगाँई तथा कोचहरुले आपूmलाई जबरजस्ती लिम्बुवानी बनाइएको तर आपूmहरु कोच भएको दावि गरेका थिए ।

ख) जनसङ्ख्याको यस्तो स्थितिमा अङ्क गाणितमात्र हेर्ने हो भने किरात पनि सम्भव देखिन्न । यद्यपि, किरात नामलाई प्रादेशिक मन्त्रीहरुले आधिकारिक मञ्चबाटै स्वीकार गरेको घोषणा गर्नुले किरात कुनै जात विशेषभन्दा पनि सभ्यताको कारणले हो । यस्तो स्थितिमा ‘मैले मागेको राज्य ठीक’ भन्ने अतिवादी मनोविज्ञान पाल्ने हो भने प्रदेशको पहिचानी नाम ‘आकासको फल’ हुने देखिन्छ । तसर्थ, साझा नाम किरात(जसलाई सभ्यता भनेर स्वीकार गरिएको छ)मा जान सके भविष्यमा किरातबाट अन्य प्रदेश बनाउन सकिन्छ । वा भविष्यको नयाँ प्रदेशकोलागि अहिले किरात प्रदेश प्रस्थान विन्दु हुन सक्छ ।

संयुक्त आन्दोलनका केही झलक

१) सन् १९२२ देखि स्पेनमा सुरु भएको क्याटालन आन्दोलनलाई सो क्षेत्रका अन्य तीन जातीय समूह (कास्तिललानो, बास्क र गालिसिका) ले सहयोग गरेको देखिन्छ । त्यसैले सन् २०१७ अक्टोबर १ मा भएको निर्वाचनमा क्याटलन क्षेत्र स्पेनबाट अलग हुनु पर्ने विषय बहुमतको मतदानले पारित भएको थियो । जसको नेतृत्व कारलस पुइग्डेमोन्टले गरिरहेको छ ।

२)सन् १९८९ नोभेम्बर ९ मा बर्लिनको पर्खाल भत्किएपछि जर्मनी एक भएका थिए । पूर्वी जर्मनीका प्रधानमन्त्री हान्स मोड्रो ले त्यस्तो कुनै लालच देखाएनन् । जर्मन एकीकरणपछि पश्चिम जर्मनका राष्ट्रपति नै हेल्मुट कोल नै सरकार प्रमुख बने ।

३) आसामबाट मेघालय र मिजोरम राज्य बनिएको इतिहास छ ।

४) स्पेन र फ्रान्समा छरिएर रहेका बास्क जातिले स्वतन्त्र बास्क राज्यकोलागि सन् १९५९ देखि आन्दोलन गर्दै आएको छ । जसले सन् २०११ मा हतियार बिसाएको थियो । इटीए (इयुस्काडी ता अस्कातासुना जसको अर्थ वास्क होमल्याण्ड एण्ड लिवर्टी हुन्छ ) मुभमेन्टको रुपमा चिनिने वास्क जाति स्पेनको दक्षिणी क्षेत्र र फ्रान्सको उत्तरी क्षेत्रमा फैलिएर रहेको छ । वास्क जाति फ्रान्स र स्पेनका तीन ठूला प्रदेशमा फैलिएर रहेको छ ।

५) माओत्से तुङ र चाङ काई शेकले सन् १९४५ अगस्ट २७ मा हात मिलाएर नै जापानविरोधी मोर्चा बनाएका थिए । नत्र भए त्योभन्दाअगाडि माओत्से तुङले कम्युनिष्ट पार्टी अफ चाइना र शेकले कोमिन्ताङ सरकारमार्फत आपसी युद्ध गरेका थिए । शेकले भनेका थिए– "the Japanese are a disease of the skin, the Communists are a disease of the heart". 

६) भारतमा पञ्जाब (पञ्जाबी जाति), ब्ङगाल(बङ्गाली जाति), विहार (बिहारी जाति), नागाल्याण्ड (नागा जाति), आसाम (असम जाति), गुजरात(गुजर जाति, तामिलनाडु(तमिल जाति), कर्नाटका(कन्नड भाषी), तेलगङ्ना(तेलगु भाषी), ओडिसा(ओडिया जाति), मिजोरम (मिजो जाति), मनिपुर(मनिपुरी जाति), महाराष्ट्र(मराठी भाषी), सिक्किम (किराती भाषा, सुङ खिम वा सु हिम शब्दबाट सिक्किम नाम रहेको) बाट प्रदेशको नाम स्वीकार गरिएको छ ।

तसर्थ, यी अभ्यासहरुबाट हामीले जो आफुलाई पहिचानवादी भन्छौं, सिक्नु जरुरी छ । आन्दोलन आफु अनुकुल हुन सकेन भने आफ्नाे निकटको शक्तिलाई परिणाम सुम्पिन पनि तयार हुनुपर्छ,जुन कुरा स्पेनको क्याटालोन आन्दोलनले सिकाएको छ । र, भारतको एउटा आसाम प्रदेशबाट मेघालय र मिजोरमजस्ता अर्काे दुई राज्य बनिएको इतिहास पनि हामीले बिर्सनु हुँदैन । आफुलाई केन्द्रमा राख्ने चिन्तनबाट बाहिर निस्कन सकेको कारणले नै दुई देश भएर बाँडिएको जर्मनी अन्ततः एउटै देश भयो । त्यसैले अहिलेलाई प्रेदश–१ लाई ‘किरात प्रदेश’ मानेर जान सके ठोस समयको ठोस निर्णय हुनजान्छ । जो कालान्तर अर्काे आन्दोलनको प्रस्थान विन्दु पनि हुनजान्छ ।

(नागरिक समाज इटहरीले आयोजना (०७५ असोज २० शनिबार) गरेको ‘प्रदेश नामकरण अवधारणा पत्र’ कार्यक्रममा प्रस्तुत गरिएको जनकऋषि राई चाम्लिङको अवधारणा पत्र ‘प्रदेश १ःकिरात प्रदेश’) [email protected]

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil