nic asia bank

शेयरमा लगानी गर्दै हुनुहुन्छ ? यी कुरा याद राख्नोस

Ved International Education Consultancy

कात्तिक २९, काठमाडौं । प्रत्येक क्षेत्रको आ—आफ्नै शब्दावली भएसँगै धितोपत्र बजारका पनि बेग्लै शब्दावली रहेका हुन्छन् । सेयर लगानी गर्ने क्रममा यस्ता शब्दले नयाँ लगानीकर्ताहरुलाई अफ्ठयारो स्थिति सिर्जना हुने भएका कारणले नयाँ लगानीकर्ताहरुलाई सहजताका निम्ति सेयरसँग सम्बन्धित शब्दावलीहरु बारे तल चर्चा गरिएको छ ।

धितोपत्र बजार शव्दाबली
साधारण शेयर

साधारण शेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार यो पनि घटिवढी हुन सक्छ ।

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुन रकमबाट लाभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ ।

साधारण शेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार यो पनि घटिवढी हुन सक्छ । अर्काेतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण शेयरवालाहरुलाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन अर्थात साधारण शेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन । तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ । साथै लाभांशको रुपमा कम्पनीले साधारण शेयरवालाहरुलाई बोनश शेयर पनि वितरण गर्न सक्छ ।

सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिवेञ्चरवालाहरु र अग्राधिकार शेयरवालाहरुलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम मात्र साधारण शेयरवालाहरुले दावी गर्न सक्छन् । यस कारण साधारण शेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको छ । बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ता (Aggressive Investor) का लागि मात्र साधारण शेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ ।

हालको प्रचलित ब्यवस्था अनुसार साधारण शेयरको अंकित मूल्य साधारणत रु. १०० रहेको छ । कथंकदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व ब्यहोर्नुपर्ने भएमा पनि साधारण शेयरवालाहरुको दायित्व उनीहरुले लगानी गरेको रकमसम्ममै सिमित हुन्छ र आफ्नो घरघरानाबाट ब्यहोर्नु पर्दैन ।

हकप्रद शेयर

विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यस प्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ । हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरवालाहरु स्वतन्त्र हुन्छन् । विद्यमान शेयरवालाहरुले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।

अग्राधिकार शेयर

कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् ।

अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् । अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्रको रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ ।

अग्राधिकार शेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

डिवेञ्चरमा प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु लगानी गर्न रुचाउँदछन् ।

डिवेञ्चर

तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः रु.१००० हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिकरुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन ।

डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । कथंकदाचित कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चलाउन सक्छन् । डिवेञ्चरमा प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु लगानी गर्न रुचाउँदछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन ।

डिवेञ्चरहरु सुरक्षित (कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने) वा असुरक्षित, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशिल (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।

लाभांश र बोनश शेयर

कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर (बोनश शेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।

वारेन्ट

कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण शेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकारनै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण शेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ ।

वारेन्ट प्रयोग गर्दा यो साधारण शेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण शेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य (Exercise Price), वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात (Exercise Ration) र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।

ब्लू चिप शेयर

संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको शेयरलाई ब्लू चिप शेयर भनिन्छ । यस प्रकारका शेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।

धितोपत्र दलाल

ग्राहकको तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ ।

मर्चेण्ट बैंक

धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।

धितोपत्र ब्यापारी

प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।

बजार निर्माता

नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।

शेयर रजिष्ट्रार

संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ ।

धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली

सम्पूर्ण धितोपत्रवालाहरुको धितोपत्रहरुको जिम्मा लिई खरीद बिक्रीको रेकर्ड, नमासारी, हस्तान्तरण जस्ता कार्यहरु सरल र छिटो छरितोरुपमा सम्पन्न गर्न सघाउ पुयाउने प्रणालीलाई धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली भनिन्छ । निक्षेपकर्ताहरुले बैंकमा रकम राखे जस्तो धितोपत्रवालाहरुले यस प्रणाली अन्तर्गत आफ्ना धितोपत्रहरु निक्षेप राखी खाता खोल्न सक्छन् । यस प्रणालीले धितोपत्र नासिने, हराउने, चोरी हुने, नक्कली शेयर निस्कने जस्ता समस्याहरु हटाउँदछ । साथै यस प्रणालीले कारोबार लागत घटाउन समेत मद्दत गर्दछ ।

प्रत्याभूति

प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रहरुको बिक्री नभएमा त्यस्तो धितोपत्रहरु खरीद गर्ने कवुलियत गर्नुलाई धितोपत्रको प्रत्याभूति भनिन्छ । प्रत्याभूतिकर्ताले धितोपत्रको प्रत्याभूति गरे वापत सम्बन्धित निष्काशनकर्ता कम्पनीबाट सम्झौता बमोजिमको शूल्क प्राप्त गर्दछन् ।

विवरणपत्र

सार्वजनिकरुपमा धितोपत्र निष्काशन गर्नु अघि सम्बन्धित संगठित संस्थाले विवरणपत्र प्रकाशन गर्नुपर्दछ । विवरणपत्रमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थासँग सम्बन्धित विस्तृत विवरणहरु खुलाइएको हुन्छ र लगानीकर्ताहरुलाई उक्त विवरणहरुको आधारमा सम्बन्धित संगठित संस्थाको धितोपत्रमा लगानी गर्ने वा नगर्ने भनी निर्णय गर्न सघाउ पुग्दछ ।

धितोपत्रको अधिक र न्यून माग

सर्वसाधारणमा निष्काशन खुल्ला गरिएका धितोपत्र खरीदका लागि धेरै दरखास्त परी निष्काशन गरिएको भन्दा बढी धितोपत्रहरुको माग स्थितिलाई धितोपत्रको अधिक माग र कम धितोपत्रको माग भएको स्थितिलाई धितोपत्रको न्यून माग भनिन्छ । धितोपत्रको अधिक माग भएको स्थितिमा कम कम परिमाणमा माग गर्ने समूहलाई बढी र क्रमशः बढ्दो परिमाणमा धितोपत्रको माग गर्ने समूहलाई क्रमशः कम भार दिई धितोपत्र बाँडफाँट गर्नुपर्ने ब्यवस्था रहेको छ ।

थप मूल्य

धितोपत्र निष्काशन गरिने मूल्य र अंकित मूल्य विचको फरकलाई भनिन्छ । धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्काशन गरिएको अवस्थालाई Premium मा धितोपत्र निष्काशन गरिएको भनिन्छ ।

खरीद प्रस्ताव तथा बिक्री प्रस्ताव मूल्य

कुनै सम्भावित खरीदकर्ताले तिर्न चाहेको धितोपत्रको मूल्यलाई इााभच एचष्अभ भनिन्छ । धितोपत्र बजारको कारोबार पाटीमा धितोपत्र दलालहरुद्वारा अंकित गराइएको मिलेपछि धितोपत्र खरीद बिक्री कारोबार सम्पन्न हुन्छ ।

सूचीकृत धितोपत्रको चुक्ता मूल्य

सम्पूर्ण धितोपत्रवालाहरुद्वारा चुक्ता गरिएको सूचीकृत धितोपत्रको मूल्यको कूल जोडलाई धितोपत्रको चुक्ता मूल्य भनिन्छ ।

बजार पुँजीकरण

धितोपत्र विनिमय बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरुको संख्या र तिनको आ–आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण प्राप्त हुन्छ ।

बजार परीसूचक

सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परीसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि. ले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ, जसलाई बजार परिसूचक भनिन्छ ।

प्रतिशेयर बजार मूल्य

कुनै शेयरको धितोपत्र बजारमा कायम भएको मूल्यलाई प्रतिशेयर बजार मूल्य भनिन्छ ।

प्रतिशेयर आम्दानी

कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानीले शेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्णमा प्रदान गर्दछ । प्रतिशेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिशेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ ।

नेट वर्थ

कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो । नेट वर्थलाई कम्पनीको कूल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ वा शेयरको किताबी मूल्य प्राप्त हुन्छ ।

मूल्य सम्वेदनशील सूचना

कम्पनीद्वारा गरिएको लाभांश वितरण वा बोनश शेयर निष्काशन सम्बन्धी घोषणा, ब्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय परिमाणहरु, अन्य पक्षहरुसँग हुने महत्वपूर्ण सम्झौताहरु तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुयाउने घट्ना तथा अन्य सूचना र जानकारीहरुलाई मूल्य सम्वेदनशील सूचना भनिन्छ ।

भित्री कारोबार

नियमानुसार कम्पनीका लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने तर सार्वजनिक भै नसकेका कम्पनीको सूचनाहरुको आधारमा कम्पनीसँग प्रत्यक्ष सम्बन्धित ब्यक्ति वा निजको नजिकको ब्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार भनिन्छ । यस प्रकारको कारोबार गर्न प्रचलित ब्यवस्थाले बन्देज लगाएको छ ।

अधोन्मुख र उन्नतोन्मुख धितोपत्र बजार

धितोपत्रको उन्नतोन्मुख बजार (Bull Market) भन्नाले बजारको क्रमिकरुपमा उभो लाग्दै गरेको स्थितिलाई जनाउँछ । यस प्रकारको बजारमा उद्योग, बैकिङ्ग, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशल ब्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ । यस वेला सूचीकृत कम्पनीहरुको शेयरको मूल्य बढी रहेको हुन्छ । अर्को तर्फ धितोपत्रको अधोन्मुख बजार (Bear Market) भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक (Market Index) घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ ।

सञ्चालकहरु र सञ्चालक समिति

कुनै पनि कम्पनीको सम्पूर्ण कारोबारको प्रवन्ध, अधिकारको प्रयोग तथा कर्तब्यको पालना गर्ने जिम्मेवारी बोकेका ब्यक्तिहरु नै कम्पनीको सञ्चालक हुन । कम्पनीका सञ्चालकहरुको नियुक्ती प्रथम वार्षिक साधारण सभा नभएसम्म संस्थापकहरुद्वारा र तत्पश्चात साधारण सभाद्वारा हुने गर्दछ । कुनै पनि कम्पनीको सञ्चालक हुनका लागि सो कम्पनीको नियमावलीमा तोकिए बमोजिमको शेयर लिएको हुनु पर्दछ ।

वार्षिक साधारण सभा

कम्पनीले वर्ष भरीमा गरेको काम कारवाही, उपलब्धी, समस्या तथा भावी योजनाहरुको सम्बन्धमा शेयरवालाहरुलाई जानकारी गराउनुका साथै कम्पनीको वार्षिक हिसाब पारित गर्ने, लेखापरीक्षकको नियुक्ती गर्ने र अन्य महत्वपूर्ण विषयवस्तुहरु अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्वारा प्रत्येक वर्ष बोलाउनुपर्ने शेयरधनीहरुको सभालाई वार्षिक साधारण सभा भनिन्छ । नेपालमा प्रचलित नियम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र यस प्रकारको सभा बोलाउनुपर्ने ब्यवस्था रहेको छ ।

प्रतिनिधि

कम्पनीको वार्षिक साधारण सभामा कुनै शेयरवाला स्वयं उपस्थित हुन नसक्ने भएका निजले तोकिए बमोजिमको ढाँचामा निवेदन लेखी सहीछाप गरेर आफ्नो मतदान गर्ने अधिकार दिएको अन्य कुनै ब्यक्तिलाई प्रतिनिधि भनिन्छ । कुनै पनि कम्पनीको शेयरवालाले सोही कम्पनीको अर्को शेयरवालालाई मात्र यस प्रकार प्रतिनिधि मनोनित गर्न सक्छ ।

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oilright path