nic asia bank

अमेरिकालाई धर्तीको स्वर्ग भनेपनि यहाँ नेपाल छैन

एनआरएनए भनेको सबैको संस्था हो

Ved International Education Consultancy

१२ वर्ष अघि काठमाडौं इचंगु, स्वयंभूका विनोद कुुमार तिवारीको सपना थियो स्वदेशमै केहि गर्ने । तर, देश नै आन्तरिक द्वन्द्वमा रुमलिएको बेला विनोदका सपना कहाँ पुरा हुन्थ्यो र ! उनी दैनिक २ हजारको हाराहारीमा विदेशिइरहेका युवा जस्तै उज्वल भविष्यको सुनौलो सपना बोकेर भासिए अमेरिका । सन् २००६ मा अमेरिका गएका उनले त्यहाँ के मात्रै गरेनन, सबैथोक गरे । १२ वर्षको दौरान गरेका संघर्षले उनलाई भौतिक सुखसुविधा त दियो तर, मिठो निन्द्रा र सपना दिएन । अमेरिकामा संघर्ष गर्दै जाँदा १२ वर्षको दौरानमा आफ्नो आर्थिक स्थिति सुधार गरे । एक छोरा र छोरीलाई राम्रो शिक्षा दिए । उनी भने अझै अमेरिकामा संघर्ष गर्दै बसेका छन् ।

आफ्नो ब्यवसायबाट बचेको समय समाजसेवा र एनआरएनएको काममा खर्चने तिवारी अहिले गैर आवासिय नेपाली संघ अमेरिकाको प्रवक्ता छन् । स्पष्टवक्ता, मेहनती विनोदलाई अमेरिकामा नचिन्ने नेपाली कमै होलान् । विनोदसँग अमेरिकामा नेपालीको अवस्था, नेपालको विकासमा एनआरएनएको भूमिका, एनआरएनले उठाएका मुद्दा लगायतका विषयमा गरिएको कुराकानीको संक्षेपः

विनोद कुमार तिवारी
प्रवक्ता, गैरआवासिय नेपाली संघ, अमेरिका

तपाईको पारिवारिक अवस्था हेर्दा मातृभूमि छाडेरै विदेशिनु पर्ने अवस्था त देखिएन, किन अमेरिका आउनु भयो ?

म न रहरले आए, नत बाध्यताले नै । देशमा भइरहेको जनक्रान्ति, आन्दोलनको परिस्थितिले स्वदेशमै यो गर्ने की त्यो गर्ने दोधारमा ६० लाख नेपाली विदेशिए जस्तै म पनि त्यहि परिवेशबाट अमेरिका आएको हुँ । यस कुरामा असन्तुष्ट त छैन तर, भूगोलको देश छाडेर भावनाको देशमा संघर्ष गर्दैगर्दा विहान उठेदेखी बेलुकी नसुतेसम्म देशकै पिडा हुँदो रहेछ । आफुले जस्तो सुकै सुविधा भोगेपनि नेपालमा हामीले कहिले यो सुविधा पाउँला भन्ने चिन्ता हुँदो रहेछ ।

अमेरिकालाई धर्तीको स्वर्ग भनेपनि यहाँ नेपाल छैन, नेपालीपन छैन, नेपाली संस्कृति र धरोहर छैन । यसले हामीलाई कताकता पिडाबोध हुन्छ ।

भनेपछि, तपाईलाई नेपाल प्रति प्रगाढ माया हुँदा हुँदै पनि अमेरिका आउनुपर्यो ?

एक दशक विताउँदै गर्दा त्यस्तो कुनै पल छैन जतिबेला नेपाललाई विर्सिएका हुन्छौं । हामीलाई नेपालका माननीय ज्यूहरुले भगौडा भनेर बोलाउँदै गर्दा नेपाल के हो ? नेपाल आमा के हो ? परिवार के हो ? नेपालको धर्ती के हो ? उहाँलाई भन्दा हामी पराइभूमिमा संघर्ष गर्नेलाई थाहा छ । मलाई मात्र हैन प्रवासी हरेक नेपालीलाई नेपाल प्रति गर्व र माया छ । त्यहि मायाले हामीलाई मातृभूमिको लागि केहि गर्नुपर्छ भनेर प्रेरित गर्छ ।

शब्दमा नेपालप्रति माया दर्शाउँदा नेपाललाई अमेरिका जस्तै बनाउन नेपाल आउनुपर्छ भन्ने सोच आउँदैन ?

पक्कैपनि आउँछ । यहाँको भौतिक विलाशिलताले हामीलाई रत्तिभर आकर्षण गरेको छैन । हामी रहरले कम बाध्यताले ज्यादा विदेशिएका हौं । हामीले आफ्नो मातृभूमिका लागि यहिँबाट धेरै गरेका छौं । हाम्रा अग्रजहरुले सन् २००३ मा गैरआवाशिय नेपाली संघ स्थापना गरेर विश्वभर छरिएर रहेका नेपालीलाई एकत्रित गर्ने काम गरेका छन् । जसले नेपालको विकासमा प्रत्यक्ष अप्रत्यक्ष ठूलो टेवा दिएको छ ।

मैले जोड्न खोजेको तपाई एक दशक बढि भयो विदेशिएको अब त नेपाल बनाउन जानुपर्छ भन्ने सोच किन आएन ?

सोच नआएको पक्कै हैन । हामीले विदेशमा बसेर आर्जेको ज्ञान होस, सिप होस अथवा आर्थिक स्रोत । त्यसलाई नेपालमा ल्याएर प्रयोग गर्न एनआरएनले नेपाल सरकारसँग दोहोरो नागरिकता माग्दै गर्दा नेपाल सरकारले संविधानमा उल्लेख भइसकेको कुरालाई अहिलेसम्म कार्यान्वयन गर्न सकिरहेको छैन । समस्या यहाँनिर छ ।

विदेशमा आर्जन गरेको सम्पत्ति, सिकेको ज्ञान र सिपलाई नेपालको विकासमा लगाउन त नेपाल सरकारले सोच्नुपर्छ । हामीले नेपालमा आएर लगानी गछौं, नेपालको विकासमा सहभागी हुन्छौं भनिरहँदा त्यसको वातावरण चैं नबनाई दिने अनी भगौडा मात्रै भनेर हुन्छ र ? हामी के कारण विदेशिनु पर्यो त्यो पनि मुल्याङन गरौं न ।

अब नेपालको विकास गर्न सरकारले चन्द्रमामा पानीको मात्रा छ भनेर पत्ता लगाउने प्रवासी नेपाली र अमेरिकामा बनिरहेको ठूलो सडकको योजना बनाउने नेपालीलाई स्वदेश फर्कन आह्वान गर्नुपर्छ ।

तपाईले एनआरएनएको कुरा गरिरहँदा एनआरएनए आफ्नो उद्देश्य र कार्यक्षेत्रमा कत्तिको सक्रिय भएर लागेको पाउनु भएको छ ?

एनआरएनए नेपाल नेपाली र विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने एउटा सेतुको रुपमा अगाडी आएको सामाजिक संस्था हो । यसका दुई पक्ष छन्, एउटा राष्ट्रिय र अर्को अन्तराष्ट्रिय । राष्ट्रिय भनेको विभिन्न देशमा रहेका शाखाहरु हुन । अन्तराष्ट्रिय भनेको सम्पूर्ण देशहरुको प्रतिनिधित्व हुुने गरि चुनिएको कमिटि ।

यसले नितान्तरुपमा नेपाल र नेपालीलाई दुखेको बेलामा कसरी मल्हम पट्टी लगाउन सकिन्छ भनेर काम गर्दछ । यसको ज्वलन्त उदाहरण ०७२ सालको महाभूकम्पमा यसले गरेको सहयोग हेरौं । त्यत्तिबेला लाखौं नेपालीलाई उद्दार गर्न र पुर्नस्थापित गर्न सायद हामी नेपाल सरकारपछि दोस्रो ठूलो संस्था बनेर काम गरेका छौं । यहि कारण एनआरएनलाई बोलिचालीको भाषामा नेपालको नारायण पनि भन्ने गरिन्छ ।

एनआरएनए नेपालको विकासका लागि जलविद्युत, फास्टट्रयाक निर्माण देखि यातायात जस्ता विकासका क्षेत्रमा काम गर्न प्रतिबद्ध छ ।

एनआरएनएको १६ वर्षे यात्रा हेर्दा यहाँहरुसँग स्रोत साधन र क्षमता हुँदाहुँदै पनि खासै सक्रिय हुनुहुन्न ? आन्तरिक रुपमा एनआरएनएमा विवाद छ ?

हामीले प्रसस्त काम गरेका छौं । कतिपय कामहरु नदेखिएको पनि हुन सक्छ । सन् २००३ मा खुलेको संस्था नेपालमा दर्ता गर्न नै सात वर्ष लाग्यो । म आफैं आबद्ध भएपछि अमेरिकामा छरिएर रहेका दशौं हजार नेपालीलाई गोलबद्ध बनाउन सफल भयौं । यस पटकको सदस्यता बृद्धि गर्न झनै शशक्त रुपमा अगाडी बढेको अवस्था छ । ६० लाख नेपाली विश्वका विभिन्न देशमा छरिएर रहेको अवस्थामा उनीहरुलाई एक ढिक्कामा ल्याउने माध्यम नै एनआरएनए हो ।

अमेरिका, यूरोप लगायत विकसित देशमा रहने एनआरएनएहरु आर्थिक र सामाजिक रुपमा बलियो देखेका छौं । मिडिल इष्टमा रहनेहरु जनसंख्याको हिसाबले हामीभन्दा धेरै हुनुहुन्छ । उहाँहरुले पठाएको रेमिट्यान्सले नेपालको अर्थतन्त्र चलायमान भएको यथार्थ हो ।

एनआरएनएले नेपालमा सानीमा हाइड्रोपावर, सानिमा विकास बैंक जस्ता प्रगतिशिल क्षेत्रमा काम गरेको छ । राजधानीको संखमुलमा युएन पार्क निर्माण गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरेका छौं । सामाजिक र मानवीय क्षेत्रमा हामीले जति राज्यले गर्न सकेको छैन । विदेशमा नेपालीले दुखः पाउँदा होस् वा नेपालमा आइपरेका विपत्तिमा नै किन नहोस् हामी सदैव नेपाल र नेपालीको सेवामा प्रतिबद्ध छौं । हामी भित्र विवाद छैन ।

अझैपनि नेपाल सरकारले सहयोग मागेको खण्डमा, सहकार्य गरेको खण्डमा हामी जस्तो सुकै योगदान गर्न तत्पर छौं तर, सुविधाजनक हिसाबले ।

दोहोरो कर प्रणाली भएको देशमा विदेशी लगानी आउने वातावरण हुँदैन । र, जबसम्म विदेशी लगानी आउँदैन नेपालको विकास संभव छैन ।

सुविधा जनक भनेको के हो ? राज्यले तपाईहरुलाई कस्तो अधिकार दिए नेपाललाई संबृद्ध बनाउन अग्रसर हुनुहुन्छ ?

नेपाललाई संबृद्ध बनाउन सम्पूर्ण नेपाली हातमा हात काँधमा काँध मिलाएर अघि बढ्ने हो भने ठूलो कुरा हैन । मात्र इच्छा शक्ति हुन आवश्यक छ । हामी भन्दा सानो स्रोत साधन नभएको सिंगापुर, हामीभन्दा २० वर्ष पछाडी रहेको दक्षिण कोरियाले विदेशी लगानी भित्राएर विकास गर्न सक्छन् भने, हामीले पनि त्यहि मोडालिटी बनाएर किन नजाने ? त्यसमा राज्यले सोच्नुपर्छ ।

यहाँहरुले नेपालमा लगानी गर्न दोहोरो नागरिकता, कर लगायतका मुद्दा उठाउनु भएको थियो, तर प्रभावकारी रुपमा उठाउन किन सक्नुभएन ?

प्रभावकारी हुन सकेन भन्ने कुरा म मान्य तयार छैन । २०७४ सालको संविधानमा गैरआवासिय नेपालीलाई नागरिकता दिने भनेर प्रष्ट रुपमा उल्लेख छ । विभिन्न ऐन, कानुनहरु बनाउन विधेयक संसदमा प्रस्तुत भइरहँदा ‘एनआरएनलाई दोहोरो नागरिकता दिनहुन्न’ भनेर नेपालकै सर्वोच्च अदालतमा मुद्दा परेकोले यो विषय थातिँ रहेको हो । यो एकदमै दुर्भाग्य हो ।
देशको विकास गर्न विदेशी लगानी लैजाने क्रममा कसैलेपनि दोहोरो कर तिर्दैनन्, चाहे गैरआवासिय नेपाली हुन् या विदेशी लगानीकर्ता ।

दोहोरो कर प्रणाली भएको देशमा विदेशी लगानी आउने वातावरण हुँदैन । र, जबसम्म विदेशी लगानी आउँदैन नेपालको विकास संभव छैन ।

२०४६ साल पछि शिक्षा, स्वास्थ्य, यातायात लगायतका क्षेत्रमा जसरी विकास भयो त्यसमा कहिँ न कहिँ विदेशी लगानी छ । दोहोरो करको अन्त्य र लगानीको सुरक्षा गरेको खण्डमा देशको विकास गर्न धेरै समय लाग्दैन ।

०७२ सालपछि पुर्ननिर्माणका सवालमा तपाईहरु आफ्नै प्रतिबद्धतामा सुस्त हुनुभयो ? भाषण गरेर मात्र देश विकास हुन्छ त ?

भाषण हैन, कामै गर्ने भनेका छौं । तर, त्यसको लागि वातावरण त सरकारले बनाउनु पर्छ । विदेशमा बसेर हामीले देखेका छौं, स्थानीय, संघिय र केन्द्रीय सरकारले कसरी काम गर्नुपर्छ, तिनिहरुको काम कर्तब्य र अधिकार के हो । नेपालमा त यस्ता संरचना र पद्दति नै बनेका छैनन् ।

हामीले योजना बनायौं भने प्रोत्साहन हैन, त्यो योजनालाई कसरी बन्द गर्ने भन्ने योजना पहिला विकास हुन्छ । पहिला सरकारले यो विषयमा स्पष्ट धारणा बनाउन आवश्यक छ । सरकारका प्रवक्ता नै वाक स्वतन्त्रता र प्रेस स्वतन्त्रता माथि बन्देज लगाउने प्रकारका भाषणबाजी गर्छन् भने, त्यहाँ लगानी सुरक्षित हुन्छ भन्ने ग्यारेण्टी के छ ?

०५१ सालमा मनमोहन अधिकारीको सरकारले ल्याएको ‘आफ्नो गाउँ आफैं बनाउँ’ भन्ने योजना, ०१७ सालमा राजा महेन्द्रले बनाएका विकासका आधारहरु जस्तै योजना ल्याउन आवश्यक छ । विडम्बना ०४६ साल यता यस्ता १० औं योजना बन्नुपर्नेमा एउटा पनि आएनन् । भएका कलकारखाना पनि बन्द गरिए । भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, हिमाल सिमेन्ट, बासबारी छालाजुत्ता, हरिसिद्धि टायल जस्ता विकासका आधारस्तंभ त थिएन नी ! खै तिनलाई जोगाउन सकेको ?

अहिलेपनि हामी जुन विकास संभव छ त्यो गरिरहेका छैनौं । जस्तो पानीजहाज । हामीसँग पानीजहाज चलाउने आधार नै छैन । तर, विजुलीबाट ट्रलीबस त चलाउन सक्थ्यौं नी ? खै सोच ?

राजनीतिक, आर्थिक तथा भौगोलिक आधारले पनी त देश विकासमा असर पर्छ नी, जादूको छडी जस्तो तुरुन्तै हुने कुरा त हैन ?

मैले त्यसरी पनि भनेको हैन । हामीले २०४६ साल यता राजनीतिक रुपमा धेरै संघर्ष गर्यौं, मलाई लाग्छ अब राजनीतिक अधिकारका लागि पुनः बन्दुक उठाएर जंगल जानुपर्ने अवस्था छैन । अब देश विकास गर्ने हो भने आर्थिक क्रान्ति पनि पर्नुपर्यो । यसका लागि त राज्यले सहि निती बनाउनु पर्छ । विदेशी लगानी भित्राउने वातावरण बनाउनु पर्छ । निजी क्षेत्रलाई आह्वान गर्नुपरयो ।

हामीसँग जलविद्युतको अपार संभावना छ, त्यसलाई उपयोग गर्न र त्यसैबाट आर्थिक क्रान्ति गर्न सकिन्छ । बाटो र विजुली भएपछि विकास गर्न समय लाग्दैन ।

भ्रष्टाचार, घुसखोरीको अन्त्य गरेर शुशासन कायम गरे मुलुक विकसित हुन धेरै समय लाग्दैन । देश नेताले बनाउने हो । देश र जनताप्रति वफादार नेताको खाँचो छ ।

अहिलेसम्मको कुराकानीको संक्षेप, राज्यले लगानीको वातावरण बनाइदिए तपाईहरु लगानी गर्न तयार हुनुहुन्छ ?

हो, मेरो भनाई यत्ति नै । दोहोरो नागरिकताको ब्यवस्था, दोहोरो करको अन्त्य, स्पष्ट योजना बनाएर लगानीको सुरक्षाको ग्यारेण्टी गर्ने होभने लगानी गर्न तयार छौं । एनआरएनएलाई देश विकासमा सहभागी गराउन बल नेपाल सरकारको खुट्टामा छ ।

संबृद्ध नेपाल सुखी नेपाली बनाउने सन्दर्भमा सरकारकै मात्र मुख ताक्नै पर्छ र ? एनआरएनएले पनि योजना दिन सक्दैन ?
हामीले हरेक पटक नेपालबाट आउने उच्चतम तहका ब्यक्ति राजनीतिक पार्टीका नेतृत्व र योजना तहमा रहेकालाई समेत राखेर पटकपटक छलफल अन्र्तक्रिया गरिरहेका हुन्छौं । कि, नेपालमा अब यसरी विकास गर्न सकिन्छ, हामीलाई बोलाइयोस, लगानी गर्ने बाटो खोलियोस । खै कसैले सुनेनन् ।

केहि लिनका लागि केहि दिनुपर्छ । राज्यले दोहोरो कर हटाएको खण्डमा नेपालमा विदेशी लगानी आउने संभावना छ । एनआरएनएकै माध्यमबाट युरोप, अमेरिका, अष्ट्रेलियामा रहेका लाखौंले लगानी गर्नेछन् ।

विगतमा गरेका प्रतिबद्धताहरु हेर्दा सजिलै लगानी आउने कहाँ संभावना छ ? भुकम्पपछिको पुर्ननिर्माणमा तपाईहरुले गरेका प्रतिबद्धता नै पुरा भएका छैनन् ?

भुकम्पपछि १ हजार घर बनाउने र पुर्ननिर्माण गर्ने एनआरएनएले बोलेको कुरा हो । त्यसका लागि सोहि स्तरका काम भइरहेका छन् । टेक्निकल कुराहरु मलाई थाहा छैन, तथापि, योजना पुरा गर्न सहयोग जुटिसकेको अवस्था छ । यसको जिम्मेवारी लिएकालाई काम समयमा पुरा गराउन एनआरएनए प्रतिबद्ध छ । एनआरएनएले कुनै ठोस योजना ल्याउँदा र प्रतिबद्धता गर्दा ती पुरा गरेको छ भलै ढिलो चाडो किन नहोस ।

एनआरएनए नेपाल नेपाली र विदेशमा बस्ने नेपालीहरुलाई जोड्ने एउटा सेतुको रुपमा अगाडी आएको सामाजिक संस्था हो ।

संबृद्धिको कुरा गर्दा अब नेपाललाई संबृद्ध बनाउन सरकारले कस्तो मोडालिटी बनाउनुपर्छ ?

०४६ साल पछिको सरकारले ल्याएको आर्थिक उदारिकरण नै देश विकासको मुख्य मोडालिटी हो । उदारवाद र समाजवादको सिद्धान्तमा बनेको खाकालाई कार्यान्वयन गर्न सक्यौं भने मात्र नेपालको विकास छ । सानो देश भएपनि नेपालका जनता अत्यन्त जागरुक छन्, विकासप्रेमी छन् ।

विदेशमा रहेका लाखौं नेपालीलाई नेपालको अत्याधिक माया छ । भ्रष्टाचार, घुसखोरीको अन्त्य गरेर शुशासन कायम गरे मुलुक विकसित हुन धेरै समय लाग्दैन । देश नेताले बनाउने हो । देश र जनताप्रति वफादार नेताको खाँचो छ ।

अब अमेरिका तिरै जाउँ, अमेरिकामा रहेका सबै नेपालीहरु एनआरएनएमा आबद्ध भएको अवस्था कस्तो छ ?

नेपालको संविधानले सार्क राष्ट्रभन्दा बाहिर बसोबास गर्ने नेपालीहरु गैरआवासिय नेपाली हुन भनेर परिभाषित गरेको र एनआरएनएको विधानले त्यहि संविधानलाई कार्यान्वयन गर्दै गत साल निकालेको तथ्यांकमा अमेरिकामा २ लाख ५० हजार नेपालीको बसोबास छ । जसमा गत वर्ष करिब १४ हजार पाँच सयले सदस्यता लिएका थिए । यस वर्ष हामीले त्यो संख्या दोब्बर पार्ने योजना सहित काम गरिरहेका छौं । यहाँ बस्ने सबै नेपालीलाई एनआरएनएमा सहभागी गराउने उद्देश्य छ ।

२ लाख ५० हजारको हाराहारीमा नेपाली रहेपनि हामी यहाँ अल्पसंख्यक समुदायमा पर्दछौं । अल्पसंख्यक समुदायलाई आउने विभिन्न सुविधा हामीले उपभोग गर्न सकिरहेका छैनौं । त्यसको लागि हाम्रा धेरै साथीहरु मेन स्ट्रीममा पुग्न राजनीति गरिरहनु भएको छ । भर्खरै राज्यस्तरको निर्वाचनमा बाग्लुङका हरि भण्डारीजीलाई जिताउन सफल भयौं । सिटी स्तरमा प्रदीप ढकाललाई जिताउन सफल भयौं । राज्यको मेनस्ट्रीममा गएर आफ्ना कुुरा राख्न एनआरएनएले प्रोत्साहन गरिरहेको छ ।

नेपालबाट उच्च शिक्षा हासिल गर्न अमेरिका आएका विद्यार्थीलाई चैं तपाईहरु खासै सहयोग गर्नुहुन्न रे ?

हाम्रो विधानले १८० दिन भनेपनि विद्यार्थीको हकमा गैरआवासिय नेपाली मानेको अवस्था छैन । हामीले विद्यार्थीलाई समस्या पर्दा नगर्ने भन्ने कुरै छैन । हाम्रो विधान र संविधानले विद्यार्थीलाई हाम्रो सदस्यता हुन नदिएपनि समस्या पर्दा समाधान गर्न हामीले सबैको लागि हेल्प डेक्स स्थापना गरेर सहयोग गरिरहेका छौं । आपतविपतमा जुनसुकै स्थान र स्टेटमा आर्थिक, भौतिक सहयोग गर्न तत्पर छौं । गोफन्ट खोलेर सहयोग गरेका छौं । एनआरएनए भनेको सबैको संस्था हो ।

अहिले एनआरएनए अमेरिकाको नयाँ सदस्यताका वितरणको काम कसरी अगाडी बढिरहेको छ ?

हाम्रो सदस्यता भनेको ट्रम मेम्बरशीप हो । जुन एउटा कार्य अवधिको लागि मात्र दिइन्छ । आउँदो फेब्रुवरी सम्ममा सदस्यता बनि सक्नुपर्ने छ । जसमा आजिवन र साधारण सदस्यता लिन सकिन्छ । त्यसैको पेरीफेरीमा रहेर हामीले सदस्यता आव्हान गरेका छौं । अनलाइनबाटै सदस्यता लिन सक्ने प्रावधान छ । आशा छ यसपटकको सदस्यता वितरण विगतको भन्दा भब्य र सभ्य हुन्छ ।

यस पटक ५० हजार सदस्य बनाउने हाम्रो महत्वकांक्षा छ । अमेरिकाका ५० ओटा राज्यमा १ सय सदस्य संख्या भएमा एउटा च्याप्टर गठन गर्ने प्रावधान अनुसार २६ ओटा च्याप्टर गठन भइसकेको छ । अब करिब ३५ ओटा च्याप्टर गठन गर्ने अभियानमा छौं ।

एनआरएनएलाई सबैको साझा बनाउन अब कस्तो नेतृत्व आउनु पर्ला ?

एनआरएनएलाई सबैको साझा बनाउन कुनैपनि राजनीतिबाट आग्रह पूर्वाग्रह नभई नेपाल र अमेरिका, नेपाल सरकार र गैरआवासिय नेपाली विच सेतुको काम गर्न सक्ने निष्पक्ष, स्पष्ट विचार भएको, आर्थिक पारदर्शितामा रहेर काम गर्ने ब्यक्तिको खाँचो छ । त्यसका लागि सम्पूर्ण अमेरिकामा रहनुभएका गैरआवासिय नेपालीलाई सदस्यता लिइदिन हुन अनुरोध गर्दछु ।

rightpath

सम्बन्धित खवर

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक क्षेत्रहरू चिन्ह लगाइएको छ (*)।

kalkal oil