साउदीमा मृत्यदण्डको सजाय पाएका रामचन्द्र घर फर्किएपछि …
“
साउन १९, काभ्रे । गाडीको ठक्करबाट पाकिस्तानी नागरिक तानवीर अमद अब्बासको ज्यान गएपछि साउदी अरबको जेलमा सजाय भोगिरहेका काभ्रे पनौती–३ का रामचन्द्र तिमल्सिना घर फर्केका छन् । रामचन्द्रलार्इ अदालतले दोषी ठहर गर्दै जेल चलान गरेको थियो । साउदी अरबको उच्च अदालतले रामचन्द्रलाई मृत्युदण्डको सजाय दिने भनेपनि मृतक पाकिस्तानी अब्बासको परिवारसँग सल्लाह गरेर ब्लड मनी तिरेर आममाफी दिन अनुरोध गरेपछि रामचन्द्र घर फर्केका हुन् ।
सुरुमा ब्लड मनी साउदी रियाल ३ लाख तिर्नुपर्ने भनिएपनि परिवारहरुलाई अनुरोध गरेर १ लाख २० रियल अर्थात नेपाली ३५ लाख रुपैयाँमा मिलाइएको थियो । ‘मैले पनि मृतक परिवार सँग कुरा गरेँ, हत्या नभई घटना भएकोले रकम घटाइदिन अनुराध गरेँ, उहाँहरुले मान्नुभयो र ब्लड मनी घटाएर नेपाल आउन सकेँ’ रामचन्द्रले भन्नुभयो ।
सोमबार नेपाल आएका रामचन्द्र साउदीमा २७ महिना १३ दिन साउदीको जेलमा रहे । उहाले भन्नुभयो, “”जेलमा बसिरहेको बेलामा त्यहाँको प्रहरीले लुगा लगा भन्ने आदेश आएपछि लागेको थियो अन्य कुनै ठाउँमा सार्न लागेको हो कि भन्ने तर एयरपोर्टमा पुगेर तिमी अब नेपाल जाने हो भन्दै टिकेट दिएपछि मात्र थाहा भो नेपाल साँच्चिकै पो जान लाग्या रैछ ।”” थाहा नदिइएका कारण आफू आउँदै गरेको कुरा परिवारमा पनि भन्न नपाएको उहाँले बताउनुभयो । ‘नेपालको एयरपोर्ट झरेपछि एउटा ट्याक्सी रिजर्भ गरेँ र त्यहि ट्याक्सी चालकको फोन मागेर श्रीमतीलाई फोन गरे तर परिवारमा विश्वास नै गरेनन्, उहाँले भन्नुभयो ‘जब म घरमा पुगेँ सबै छक्क पर्नुभयो ।’
घटना विवरण
उहाँले भन्नुभयो ‘पाकिस्तानीहरु चढेको गाडी आएर मैले चलाइरहेको गाडीमा ठक्कर खायो । उनीहरुले रक्सी खाएका थिए । केही भागे केही त्यहिँ थिए । आफ्नो गल्ती नभएका कारण म भागिन । त्यहाँ रक्सीको बोतल देखेर प्रहरीले चेक गर्यो । आफूलाई भाषा त्यति धेरै नआउने त्यही कारण मलाई रक्सी पनि खाएको छ भनेर प्रहरीले रिपोर्ट बनाएछ । त्यही कारण मुद्दा अलि जटिल बनको हो ।’
भाषा जानेको भए उनीहरुको कुरा पनि बुझिने र आफूले पनि त्यहि अनुसारको कुरा गर्न सजिलो हुने उहाँको भनाई छ । रामचन्द्रले सिमेन्ट लोड गरिसकेपछि खाना खाने ठाउँमा ट्रक रोक्नुभएको थियो । पार्किङबाट एक सय मिटर मात्र गाडी गुडाएपछि पाकिस्तानी चढेको कार ठोक्कियो र एकजना पाकिस्तानीको ज्यान गयो ।
रामचन्द्र बचाउ अभियान सञ्चालन भएपछि विभिन्न संघसंस्था, व्यक्ति तथा विभिन्न देशमा भएका नागरिकले रकम दिए । उठेको रकम मध्ये ब्लड मनी र ट्राफिकलाई जरिवाना बापत ४३ लाख बुझाइएको रामचन्द्रले बताउनुभयो । उहाँले घरमा भएको २३ लाख ऋण पनि त्यही रकमबाट तिरिएको बताउनुभयो ।
( उज्यालो अनलार्इनको सहयोगमा )
“