‘निर्वाचनको मौका छोपेर कुटानी पिसानीको मूल्यमा दोब्बर’
मङ्सिर,९ कञ्चनपुर, । कञ्चनपुर राइस एण्ड फ्लोर आटा मिल सङ्घमा आबद्ध कुटानी पिसानी मिल सञ्चालकले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर कुटानी पिसानीको मूल्यमा दोब्बरले वृद्धि गरेका छन् ।
भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाका कुटानी पिसानी मिल सञ्चालकले मङ्सिर १ गतेदेखि लागू हुने गरी मूल्य बढाएको हो ।गत कात्तिक ८ गते सङ्घको दोस्रो बैठकबाट मूल्य बढाउने निर्णय गरिएको थियो ।
सङ्घले गहुँ र मकै पिसानी, धान कुटानी र तेल पेलानीको मूल्य बढाएको छ । मकै, गहुँ पिसानी तथा धान कुटानीमा डेढ रुपैयाँबाट तीन रुपैयाँ पु¥याइएको छ ।
यसै गरी, तोरीको तेल पेलानीको रु १० पु¥याइएको छ । यसअघि तोरी पेलानीमा रु पाँचदेखि रु सातसम्म लिने गरिएको थियो । सङ्घले गहुँ दलेको पनि डेढ रुपैयाँबाट तीन रुपैयाँ पु¥याएको छ ।
भीमदत्त र वेदकोटमा सङ्घ आबद्ध १६० व्यवसायी छन् । सङ्घका सचिव दीपक गिरीले विद्युत् महसुल र अन्य सामानको मूल्य बढेपछि सङ्घले कुटानी पिसानी र पेलानीको मूल्य बढाएको बताउनुभयो । “चैतदेखि विद्युत्को महसुल बढ्यो, भारतमा जिएसटी लागेपछि सामानको मूल्य बढ्यो,” उनले भने , “मूल्य वृद्धिका कारण सङ्घले मूल्य बढाएको हो ।”
गत चैतमा बढाउनुपर्ने मूल्य सङ्घ सक्रिय नभएकाले हाल आएर बढाउनुपरेको उहाँले बताए ।
सङ्घले दोब्बर मूल्य बढाएपछि उपभोक्ता आक्रोशित भएका छन् । मूल्य फिर्ताको माग अघि सार्दै स्थानीय उपभोक्ताले स्थानीय तहका पदाधिकारीलाई गुहारेका छन् । वेदकोट नगरपालिका कार्यालयका सूचना अधिकारी गणेश जोशीले मूल्य फिर्ता लिन माग राख्दै उपभोक्ता कार्यालय आइपुगेको बताए ।
वेदकोट नगरपालिकाले सार्वजनिक सूचना आह्वान गरी सङ्घलाई निर्णय फिर्ता लिन निर्देशन दिएको छ । कार्यालयका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर चन्दले सार्वजनिक गरेको सूचनामा मूल्य वृद्धि फिर्ता नभए स्थानीय सरकार ऐनअनुसार कारबाही गरिने जनाइएको छ । रासस