नेपाल आइडलकी जज इन्दिरा जोशी भन्छिन्,‘ मलाई त उठ्ने बित्तिकै एक बोतल पानी चाहिन्छ नि !’
नेपाल आइडलकी जज इन्दिरा जोशीलाई दर्शकले नेपाली ‘साकिरा’को उपमा दिएका छन् । मीठो स्वर मात्रै होइन, उनको आकर्षक ज्यानले समेत धेरैलाई भुतुक्क पारेको छ । स्टेजमा पुगेपछि उनले देखाउने ‘लट्काझट्का’मा कायल हुने युवाको सङ्ख्या ठुलै छ । आकर्षक ज्यान र जोसिलो प्रस्तुतिका लागि इन्दिराले अपनाउने स्वास्थ्यसँँग सम्बन्धित केही होसियारी खुलस्त पारेकी छिन् ।
पानी पिउने बानी
कुराकानीमा सुरुवातमै उनले पानी मगाइन् । उनको हातबाट पानीको बोतल कुराकानीको अन्त्यसम्म टुटेन । एक घुट्को पिए पनि पाएसम्म पिइरहने बानी रहेछ । इन्दिराले भनिन्, ‘पानी त म धेरै नै पिउँछु ।’ दिनमा कम्तीमा ८ गिलास पानी पिउनुपर्छ भन्ने उनको मान्यता छ । आफ्नो दैनिकी समेत पानीबाटै प्रारम्भ गर्ने जानकारी दिइन् । ‘उठ्नेबित्तिकै मलाई एक बोतल पानी चाहिन्छ । बिहानै पानीले धोएर बाहिरी अङ्गमा टाँसिएको फोहोर सफा सबैले गर्छन्, खाली पेटमा पानी पिउने हो भने भित्री अङ्गका फोहोर पनि सफा हुन्छन्,’ उनको बुझाइ छ । उनलाई प्रिय ठान्ने र बनाउन चाहने धेरै छन् । उनी भन्छिन्, ‘यही सुझबुझले हो कि मेरा लागि त पानी प्रिय भयो ।’
खानपानमा होसियार
खानपानमा होसियारी अपनाउनमध्ये पार्न चाहन्छिन् आफूलाई । ‘धेरै चिल्लोचाप्लो र गुलियो खानेकुरा जिब्रोले मागे पनि मनले नखान भन्छ, जहिल्यै कन्ट्रोल गरिरहेकी हुन्छु,’ उनी भन्छिन् । उनी आफ्नो मनको कुरा सुन्छिन् । त्यसैले साथीभाइको लहलहैले ज्यानलाई हानि गर्ने खानेकुरा खान उत्साहित हुँदिनन् । खाना खाँदा उनलाई तरकारीको मात्रा अलि बढी नै चाहिन्छ । उनी सबैलाई सुझाउँछिन्, ‘भात कम तरकारी बढी खाँदा राम्रो ।’
खानपान शैली पनि उनले स्वास्थ्यवर्धक अपनाएकी छन् । उनी भन्छिन्, ‘नेपालीको खाने शैली अलि उल्टो छ ।’ विश्वका धेरै देश घुमिसकेकी उनी खाने समय र तरिका चाहिँ पश्चिमाहरुबाट सिक्नैपर्ने बताउँछिन् । ‘हाम्रो बेलुका धेरै खाने, बिहान र दिउँसो सामान्य खाजाले काम चलाउने बानी छ । यो तरिका स्वास्थ्यका लागि वैज्ञानिक होइन,’ उनको राय छ । बेलुकी सुत्नु भन्दा कम्तीमा ३ घन्टाअघि खाने गरेको उनी बताउँछिन् । अरूलाई पनि उनको सुझाव छ, ‘सुत्नुभन्दा दुई, तीन घन्टाअघि खाने बानी बसाल्दा मोटोपनको समस्या आउँदैन ।’
नेपालको सहरी जीवन खानपानकै कारण रोगी हुँदै गएको उनको ठहर छ । ‘जंक फुड, आइसक्रिम, सेकुवाजस्ता खानेकुरा धेरै खाने तर एक्सरसाइज नगर्ने बानी धेरैको हुन्छ,’ उनले भनिन् । उनी सुगर धेरै भएका खानेकुरा धेरै खाँदिनन् । सेकुवा जस्ता खानेकुरा खाएपछि उनलाई कागती पानी पिउनैपर्छ ।
फलफुलमा रुचि
नेपालमा बस्नेले स्वस्थ र सस्तो फलफुलको महत्त्व नबुझेजस्तो लाग्छ उनलाई । ‘विदेशमा फलफुल उपभोग योग्य प्रमाणित भएर उपभोक्ताको हातमा आइपुग्न निकै दिन लाग्छ, हामी तुरुन्तै खान पाउँछौँ । तर यसलाई वास्ता नगरेर हानिकारक खानेकुरा खाइरहेका हुन्छौं,’ उनले भनिन् । उनी आफू खानेकुरामा फलफुलमा जोड दिन्छिन् । फलफुल पाउँदा पाउँदै पनि ‘सप्लिमेन्ट’को सहारा लिने आम नेपालीको बानी सुधार्न सुझाउँछिन् ।
सक्दो घरेलु उपचार
मान्छेको ज्यान न हो, जीवनशैलीमा परिवर्तन आउँदा बेलाबखत स्वास्थ्य बिग्रिन्छ नै । एलर्जी, कब्जियतजस्ता समस्याले इन्दिरालाई पनि कहिलेकाहीँ दुःख दिन्छन् । तर तिनलाई ठिक पार्न सक्दो घरेलु उपाय अपनाउँछिन् । आयुर्वेदिक चिकित्सा पद्धतिमा उनको विश्वास छ । ‘घरेलु अथवा आयुर्वेदिक उपचार पद्धतिले ढिलो ठिक पार्ला तर साइड इफेक्ट हुँदैन,’ उनले भनिन् । स्वस्थ जीवनशैलीले हालसम्म बिरामी भएर अस्पतालको दैलो देख्नु नपरेको उनले बताइन् ।
स्वास्थ्यका लागि सङ्गीत
विश्वमा ‘म्युजिक थेरापी’ लोकप्रिय हुँदै गएको छ । नेपालमा त्यसलाई महसुस गर्न सकिएको छैन । तर भूकम्पपछि भने स्वास्थ्यका लागि सङ्गीतको समेत प्रयोग भइरहेको छ । इन्दिरा पनि भूकम्प प्रभावित काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रे, धादिङ र गोरखाको बारपाकसम्म पुगेर ‘म्युजिक थेरापी’मा सहभागी भइन् ।
युनिभर्सल पिस फेडेरेसनकी युवा शान्ति दूत समेत रहेकी उनी सोही संस्थाको आयोजनामा स्वास्थ्यका लागि सङ्गीत सुनाउन त्यहाँ पुगेकी हुन् । गायक आनन्द कार्की समेत रहेको समूहमा शारीरिक उपचारका लागि डा.सुवास झा नेतृत्वको स्वास्थ्यकर्मीको टोली पनि सँगै थियो ।
केही वर्षदेखि कम्तीमा दिन बिराएरै उनले स्टेज कार्यक्रम गरिरहेकी छन् । कति समय त बिहानदेखि बेलुकासम्मै प्रस्तुति पस्किनुपर्ने हुन्छ । स्टेजमा उनी स्वर मात्रै होइन, नृत्य पनि प्रस्तुत गर्छिन् । अनुभव सुनाउँछिन्, ‘गाउँदै नाच्ने गर्नाले पनि एक्स्ट्रा एक्सरसाइज जरुरी परेको छैन । तर घरमै बस्नुपरेका बेला हल्का एक्सरसाइज गर्छु ।’ सानैदेखि सङ्गीतमा लगाव भएकाले उनी स्वरको निखारसँगै नृत्य समेत गर्न रुचाउँथिन् । त्यो बानीको विकास हुँदै जाँदा स्वास्थ्यवर्धक भएको उनको बुझाइ छ । -(डिबी खड्का) स्वास्थ्य खबरबाट