चीनले सैनिक शिविर पाकिस्तानमा राख्न थाल्दा भारतमा चिन्ता र चर्चा सुरु
काठमाडौं । अमेरिकाको सैनिक मुख्यालय पेन्टागनको एउटा रिपोर्टमा चीनले आफ्नो एउटा सैनिक शिविर पाकिस्तानमा स्थापना गर्न सक्ने दाबी गरिएपछि भारतमा यस विषयलाई लिएर चिन्ता र चर्चा सुरु भएको छ । समाचार अनुसार पेन्टागनले मंगलबार अमेरिकी कंग्रेसमा पेस गरेको ९७ पृष्ठ लामो रिपोर्टमा उक्त कुरा उल्लेख छ ।
भारतीय विशेषज्ञहरूले चीनको यो कदमबाट भारत माथि रणनैतिक र कूटनैतिक चुनौतीहरू बढ्ने सक्ने बताएका छन् । भारतले पाकिस्तान र चीन दुबैलाई निकै पहिले देखि आफ्ना चीर प्रतिद्वन्द्वी ठान्दै आएको छ । चीन र पाकिस्तान बीच नजिकको सम्बन्ध रहनुमा र दुबै नजिक हुनुमा दुबैको भारत प्रतिको वक्रदृष्टि नै प्रमुख मानिन्छ । भारत प्रतिको साझा चासोले यी दुई देशलाई अझ निकट बनाउन सक्ने भारतीय विचारकहरू स्वीकार्छन् । यी दुई देशबीच मेल हुनु र संयुक्त सुरक्षा गतिविधि सञ्चालन हुनु भनेको भारतका लागि टाउको दुखाइको विषय बन्न सक्छ ।
समाचार अनुसार चीनले पहिले देखि नै हिन्द महासागरका तटवर्ती केही देशमा बन्दरगाहहरूको विकास गरिरहेको छ । भारतको पूर्व र पश्चिममा हिन्द महासागर छ । यो महासागरमा चीनको एकाधिकार र आधिपत्य कायम हुनु भनेको भारतका लागि चिन्ताको विषय हो । चीनले चाहिँ हिन्द महासागरलाई लक्ष्य गरेर ‘वान बेल्ट वान रोड पहल’ अन्तर्गत अनेकौं राजमार्ग, बन्दरगाह र अन्य व्यापारिक पूर्वाधारहरूको विकास एवं विस्तार गरिरहेको छ ।
यही नीति अन्तर्गत चीनले पाकिस्तानलाई आर्थिक करिडोर (चाइना पाकिस्तान इकोनोमिक करिडोर सीपेक) को साझेदार समेत बनाएको छ । भारतीय सञ्चार माध्यमहरू लेख्छन्, ‘‘यसरी हेर्दा चीन बन्दरगाहहरूको माध्यमबाट जल क्षेत्रमा र इकोनोमिक करिडोरको माध्यमबाट स्थल क्षेत्रमा गरी दुबैतिरबाट भारतलाई घेर्ने कोसिसमा लागेको देखिन्छ । यसबाट भारतीयहरूसामु सीमा सुरक्षाको खतरा उत्पन्न हुन सक्छ ।’’
पाकिस्तान एसिया–प्रशान्त क्षेत्रमा चिनियाँ हातहतियारको सबैभन्दा ठूलो खरिदकर्ता हो । चीनले सन् २०११ देखि २०१५ का बीच कूल १२ खर्ब रुपैयाँको हतियार निर्यात गरेको थियो, जसमध्ये ६ खर्बको हतियार पाकिस्तान एक्लैले किनेको थियो । गत वर्ष पाकिस्तानले चीनसँग ८ वटा सबमरिन किन्नका लागि सम्झौता गरेको थियो ।
भारत–चीन सम्बन्धका विशेषज्ञहरू भन्छन्, ‘‘वास्तवमा चीनले एउटा पोलिसीअन्तर्गत काम गरिरहेको छ । यसलाई ‘स्टिंग अफ पल्स’ (मोतीको माला) पोलिसी भन्छन् । पाकिस्तानको ग्वादर, माल्दिभ्सको मारो, श्रीलंकाको हम्बनटोटा, बंगालादेशको चटगाउँ, म्यान्मारको सित्तबय र थाइल्याण्डको क्रोनहर बन्दरगाहलाई विकसित गर्नु पनि उसको रणनीतिको एक अंश हो । समाचारअनुसार उसले श्रीलंकाको कोलम्बो बन्दरगाहसमेत प्राप्त गर्दैछ ।’’
चीनले अनेकौं देशका बन्दरगाहहरूको विकास गरेर हिन्द महासागरदेखि भूमध्य सागरसम्म कब्जा गर्न खोजिरहेको भारतको आशंका छ । पाकिस्तानमा सैन्य शिविर बनाएर चीनले भारतका छिमेकी देशहरू विशेषगरी मध्य एसियामा आफ्नो सैन्य पकड मजबुत गराउन चाहिरहेको भारतको बुझाइ छ । भारतका अनुसार, यो क्षेत्रमा सैन्य दबाब बढेको खण्डमा चीनले पछि गएर कूटनैतिक फाइदा लिन सक्छ ।
भारतले ‘वान बेल्ट वान रोड’ परियोजनालाई चीनको उपनिवेशवादी महत्त्वाकांक्षाको एक पाटो बताएर विरोध गर्दै आएको छ । भारतीय सञ्चार माध्यमहरूले विश्लेषण गरेका छन्, चीन श्रीलंकालाई जस्तै पाकिस्तानलाई पनि ऋणको बोझमा डुबाएर भारतविरुद्ध प्रयोग गर्न चाहन्छ ।
विशेषज्ञहरूले चीनको बन्दरगाह विस्तार, वान बेल्ट वान रोड परियोजना र पाकिस्तानमा रहने सैनिक बेस क्याम्पबाट भारतलाई तीन किसिमको नोक्सान हुने बताएका छन् ः पहिलो, हिन्द महासागरमा बन्दरगाह बनाइसकेपछि यस क्षेत्रमा चीनको व्यापार विस्तार हुनाले भारतलाई आर्थिक नोक्सान हुनेछ । दोस्रो, भारतीय उपमहाद्वीपमा पाकिस्तानको आर्थिक र सैन्य दबदबा बढ्नाले भारतलाई कूटनीतिक दबाब बढ्नेछ । तेस्रो, यसले भारतको सीमा सुरक्षामा खतरा पैदा हुनेछ ।