बाढी आएका क्षेत्रका स्थानीयलाई सचेत रहन बाढी पूर्वानुमान शाखाकाे आग्रह
“
काठमाडौं, साउन २८ । बाढी पूर्वानुमान शाखाले बबई, पश्चिम राप्ती, कन्काई र नारायणी नदीमा बाढी आएकाले सुरक्षित ठाउँमा जान नदी आसपासका बासिन्दालाई आग्रह गरेको छ ।
ती नदीमा पानीको सतहले खतराको तह पार गरिसकेकाले विशेषगरी बाँके र बर्दियाका तल्लो तटिय क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान शाखाले अनुरोध गरेको हो ।
अहिलेपनि पानी परिरहेकाले त्यो क्षेत्रमा फर्किन सुरक्षित भएको सन्देश मोबाइलमा नपठाएसम्म शाखाले त्यहाँ नफर्कन आग्रह गरेको छ । पश्चिम राप्तीमा पानीको सतह केही घटे पनि अझै खतराको तहभन्दा माथि नै छ ।
कुन नदीमा बाढीको अवस्था कस्तो छ ? थाहा पाउन यहाँ क्लिक गर्नुहोस्
यसैबिच शनिबार तथा आइतबार बेलुकासम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले नदी तटिय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
मनसुनी न्यूनचापिय रेखा नेपालको पहाडी क्षेत्र नजिकै रहेको र मध्य क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको असरले आइतबार बेलुकासम्म नै धेरै ठाउँमा ठूलो पानी पर्ने मौसमविद राजु प्रधानाङगले जानकारी दिनुभयो ।
ठूलो पानी पर्ने भएकाले बाढी र पहिरोको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । आइतबार बेलुकासम्म एकैछिन मौसम खुलेपनि फेरि पानी परिहाल्ने उहाँले जानकारी दिनुभयो ।
“