दुई ओटा हेलिकप्टर परिचालन, एक सयजनाको टोली तयारी अवस्थामा

काठमाडौं, साउन २८ । अविरल वर्षाका कारण बाढी र डुबानमा परेकाहरुको उद्धारका लागि नेपाली सेनाका बिभिन्न इकाइहरु सक्रिय रुपमा जुटेका छन् ।

डुबानको जोखिममा परेकाहरुको उद्धार र बेपत्ता भएकाहरुको खोजीमा युनिटहरु सक्रिय भएर लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । गएराती परेको अविरल वर्षाको कारण ताप्लेजुङ, पाँचथर, झापा, मोरङ, सुनसरी, सिन्धुली, चितवन, बाँके जिल्लाहरुको विभिन्न स्थानहरुमा आएको बाढी तथा डुबानमा परेका ईलाकाहरुमा नजिकै तैनाथ नेपाली सेनाको युनिटहरु खोज तथा उद्धार कार्यमा लागेका हुन् ।

बढी प्रभावित सुनसरी र मोरङ जिल्लामा हिजो मध्यरातबाट नै खोज तथा उद्धारको लागि पूर्वी पृतना हेड क्वार्टर अन्तरगतका फौजहरु परिचालित भईरहेको निर्देशनालयले जानकारी दिएको छ । सुनसरी जिल्लामा डुबानमा परी ४ सर्वसाधारणको मृत्यु भएको र करिब ४ सय घरहरु डुबानमा परेको जानकारी प्राप्त हुना साथ डुबान प्रभावित सर्वसाधारणलाई सुरक्षित स्थानमा लैजान तथा अन्य सहयोगको लागि फौज परिचालन गरिएको छ । उद्धारका लागि पूर्वी पृतना हेड क्वार्टर ईटहरीमा रहेको एलुवेट हेलिकप्टर समेत प्रयोग गरिएको छ ।

सिन्धुली जिल्लाको कमलामाई नगरपालिकामा हिजोराती देखि परेको अविरल बर्षाको कारण आएको पहिरोबाट मृत्यु भएका ४ जनाको शव मध्य पृतना हेड क्वार्टर अन्तरगत चण्डीदल गणबाट खटिएका फौजले पहिरोबाट निकाल्न र सोही पहिरोमा परेका १ जना सर्वसाधारणको जिवितै उद्धार गरेको निर्देशनालयले जनाएको छ ।

अविरल बर्षाको कारण आएको बाढीबाट बढी प्रभावित बाँके जिल्लामा समेत खोज तथा उद्धार कार्यका लागि उत्तर पश्चिम पृतना हेडक्वार्टर अन्तरगतबाट फौज सक्रिय भएका छन् । उत्तर पश्चिम पृतना हेडक्वार्टर सुर्खेतमा रहेको एमआई १७हेलिकप्टर समेत खोज तथा उद्धार कार्यमा प्रयोग गरिएको सैनिक जनसम्पर्क निर्देशनालयको भनाइ छ ।

बाढी तथा डुबानमा परेका स्थानीयहरुको खोज तथा उद्धार कार्यमा थप मद्दतको लागि २ वटा मोटरबाट चल्ने डुंगा) र १ वटा रबर बोट लगायत अन्य आवश्यक सामग्री सहित काठमाण्डौं स्थित रेञ्जर गणबाट ३ वटा विपद् सहयोग तथा उद्धार टोली र युद्धभैरब गणबाट ३ वटा उद्धार टिम गरी जम्मा एक सय जना त्रिभुवन अन्तर्राट्रिय विमानस्थलमा तयारी अवस्थामा राखिएको पनि नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *