बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ भने यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं, साउन ३० – बाढी पहिरोका कारण पानी तथा किटजन्य रोगको संक्रमण फैलने जोखिम बढेको छ । बाढीपहिरो र डुबानसँगै हैजा, झाडापखाला, आउँ, टाइफाइड, हेपाटाइटिस ए, ई र मलेरिया लगायत रोगको संक्रमणको जोखिम बढेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सार्वजनिक सूचना निकालेर पानी राम्रोसँग उमालेर वा क्लोरिन झोल वा ट्याब्लेट राखेर मात्र पिउन सुझाव दिएको छ । यस्तै खानेपानीलाई सफा भाँडोमा राखेर छोप्न, गाईंभैँसीको दूध राम्ररी उमालेर मात्र पिउन तथा नपाकेका अर्थात काँचो खानेकुरा सकभर नखान मन्त्रालयले आग्रह गरेको छ । यस्तै मरेका पशुपन्क्षीलाई खाल्डो खनेर गाड्न तथा चर्पीमा मात्र दिसापिसाब गर्न पनि अनुरोध गरिएको छ ।

यसैगरी लाखुट्टेको टोकाइबाट बच्न झुल टाँगेर मात्र सुत्न, नियमित औषधि खानु पर्ने बिरामीलाई निरन्तरता दिन र आमाको दूध पिउने बच्चालाई लगातार दूध खुवाउन पनि मन्त्रालयले  अनुरोध गरेको छ ।

सम्भावित महामारीबाट बच्ने उपाय

  • अस्थायी पाल वा शिविरमा बस्ने सबैले आफू बसेको ठाउँ वरिपरी सरसफाई गर्ने
  • खानेपानी शुद्धिकरण गरेर पिउने, धमिलो पानी उमालेर वा पियूषको प्रयोग गर्ने
  • अस्थायी शौचालयको व्यवस्था गरी शौचालयमा मात्र दिसापिसाब गर्ने
  • हावाबाट फैलने रोगहरुका सर्न नदिन मास्कको प्रयोग गर्ने
  • खाना खानुअघि, दिसापिसाब गरेपछि साबुन पानीले राम्रोसँग हात धुने र बालबालिकालाई पनि धुन लगाउने ।
  • यदि पेट दुख्ने, पखाला लाग्ने, वाकवाकी हुने, टाउको दुख्ने जस्ता समस्या भैहालेमा नजिकै स्वास्थ्य टोली भेटिएमा जानकारी गराउने र सकेसम्म छिटो स्वास्थ्य केन्द्रमा जाने ।

स्वास्थ्य मन्त्रालयले बाढी र पहिरो प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाएको छ ।

सात दिन निःशुल्क स्वास्थ्य सेवा

चिकित्सा सेवा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले प्रभावित जिल्लाका सबै  अस्पतालमा सात दिनसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिइएको बताउनुभयो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. भीम आचार्यले संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यान राखी पानी उमालेर र शुद्धीकरण गरेर पिउन आग्रह गर्नुभएको छ ।

मन्त्रालयले सरुवा रोग महाशाखाको हटलाइन नम्बर ०१-४१००१८७/०१-४२६२२६८ र मोबाइल नम्बर ९८५१०९६०८९ सम्र्पक गरी सहयोग समन्वय गर्न पनि सबैलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *