बाढीपछि संक्रमण बढने खतरा, नगरक्षेत्रमा फोहोरै फोहोर

साउन ३२, रौतहट । रौतहटको इतिहासकै सम्भवत भीषण बाढीबाट प्रभावित स्थानीयहरुमा संक्रमण बढने सम्भावना बढेको छ । बाढी पछि सदरमुकाम गौरमा भिजेको खाद्यान्न, लता कपडा, प्लास्टिक, हिलो जस्ता फोहोर मैलाहरु सडकमा यत्र तत्र छरिएको छ । खाल्डा खुल्डीमा पानी भरेको कारण फोहोर फ्याक्न सर्वसधारणहरु सडकको पेटीलाई नै रोजेका हुन । जथाभावी ढङ्गले फ्याकिएको फोहोर मैलाहरु सडेर गन्हाउन सुरु भईसकेकोले आउने दिनमा यसले ठुलै संक्रमण निमत्याउन सक्ने चिकित्सकहरुको अनुमान रहेको छ ।

यत्र तत्र फैलिएको फोहोर व्यवस्थापन गर्न गौर नगरपालिकाले समेत ढिलाइ गरेको छ । बाढीको पानी सडकबाट हटेपनि त्यसको दुरगन्ध यथावतै रहेको छ । यसप्रति सम्बन्धित निकायको चाँसो हुनु जरुरी छ । बाढीको बेला प्रशासनले निर्वाह गरेको भूमिकाले मन तितो पारेको सर्वसाधारण, नगरपालिका र सम्बन्धित निकायको उदासिनताबाट आश्चर्य चकित छन् । एकातिर सडकमा फोहोर सर्वत्र छ भने बाढीको दुरगन्धित पानी खाल्डा खुल्डीमा जमेको कारण लामखुट्टे लगायत अन्य किराहरुको चाप समेत बढेको छ ।

रोगको परिवहनको रूपमा परिचित लामखुट्टेको टोकाईले मलेरिया, डेगुं, कालाजार लगायतका रोगहरू लाग्ने हुँदा बेलैमा औषधी छर्नु आवश्यक रहेको जानकारहरु बताउँछन । असार मसान्तमा दिनरात खटिने कर्मचारीहरू किन बिपतको यस बेलामा जागरुक हुन सकेका छैन ?

खैर निकायले केही गरोस वा नगरोस त अहिलेको समय स्वच्छ खानपान आवश्यक रहेको छ । बासी, झिंगा भन्केका, फोहर पानीको माछा, मासु, घोघी, कोकडा जस्ता खानपानबाट टाढै बस्नु जरुरी छ । उमालेको पानी पिउनु र सुत्ने बेला झुल लगाउनु अनिवार्य रहेको स्वास्थ्यकर्मीहरुको सल्लाह रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *