नेपाली फुटबल टोली जापान जादै

साउन २६, मकालु खबर ।  नेपाली राष्ट्रिय टोली बिहीबार जापान जाने भएको छ । एएफसी एसियन कप छनोटको तयारीका लागि नेपाली टोली जापान जान लागेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज दिउँसो टोलीको विदाई गर्ने जनाएको छ ।

नेपाली टोलीले जापानमा ५ वटा मैत्रीपूर्ण खेल खेल्ने तय भएको एन्फाले यसअघि नै जानकारी दिइसकेको छ । एसियन कप छनोट चरणको खेलका लागि अघिल्लो पटक भन्दा यसपटक बढी संख्यामा नेपाली टोलीले मैत्रीपूर्ण खेल खेल्ने अवसर पाउन लागेको हो । एसियन कप छनोट तेस्रो खेलमा नेपालले भदौंमा घरेलु मैदानमा ताजकिस्तानको सामना गर्दैैछ ।

साउन २९ देखि भदौ ३ गते सम्म नेपालले विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपालले गाम्बा ओसाका यू २३ सँग खेल्दै जापानको मैत्रीपूर्ण खेलको यात्रा सुरु गर्नेछ । साउन ३२ देखि टोलीले लगातार ३ गते सम्म चार खेल खेल्ने छ । एन्फाका अनुसार नेपालले साउन ३२ मा क्वान्सी ग्वाक्विन विश्वविद्यालय, भदौ १ मा अमिट्सि स्पोर्टस क्लब, भदौ २ मा हनाम विश्वविद्यालय र भदौ ३ गते भिसेल कोबे यू १८ सँग प्रतिस्पर्धा गर्नेछ ।

भदौ २० गते नेपाल र ताजकिस्तानबीच एसियन कप छनोटको खेल काठमाडौंमा हुनेछ । समूह‘एफ’ मा नेपाल १ अंकसहित तेस्रो र अंक विहिन ताजकिस्तान अन्तिममा छ । ताजकिस्तानसँगको खेलका लागि नेपाली टोलीको तयारी साउनको पहिलो साताबाटै सुरु भएको थियो ।

अघिल्ला दुई मध्ये एक खेल बराबरी र अर्कोमा हार बेहोरेको नेपाल समूह एफको तेस्रो स्थानमा छ ।नेपालको १ अंक छ । ६ अंकसहित फिलिपिन्स शीर्षस्थानमा, ४ अंकसहति यमन दोस्रो स्थानमा छ । ताजकिस्तान अंक बिहिन छ । फिलिपिन्ससँग चैतमा उसकै मैदानमा ४–१ को हार बेहोरेको नेपालले घरेलु मैदानमा यमनसँग १–१ को बराबरी खेलेको थियो । फिलिपिन्ससँग खेल्नुअघि कुनै मैत्रीपूर्ण खेल नखेलेको नेपालले यमनसँग अघि भारतसँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *