चितवनको कुन तहमा कति मतदाता बढे ?

किशोर खनाल, भरतपुर । मतदाता नामावलीमा नाम दर्ता गराउन चितवनमा ४१ हजार भन्दा बढीले फोटो खिचाएका छन् ।

‘चितवनमा मतदाता नामावलीमा नाम सङ्कलन गर्नेमा महिला धेरै छन्’ निर्वाचन कार्यालय भरतपुरका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । उनले भने, ‘चितवनका ७ वटा स्थानीय तहमा २१ हजार ७ सय ४१ जना महिलाले भोट हाल्नको लागि फोटो खिचेका छन् भने १९ हजार ५२२ जना पुरुषको पनि मतदाता नामावलीमा नाम दर्ता गरेका छन् ।’

यसअघि चितवन जिल्लामा ३ लाख १३ हजार मतदाता थिए । यो मतदाता सङ्ख्यामा अब ४१ हजार मतदाता थपिने देखिन्छ । ‘निर्वाचन आयोगबाट फाइनल भएर आउँदा एक दुई सय मतदाता कमी हुनसक्छ’ निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले भने, ‘दोहोरो (दुईपटक) फोटो खिचाउनेहरुको नाम आयोगले काटिदिन्छ ।’

भरतपुर महानगरपालिकामा पछिल्लो मतदाता नामावली सङ्कलन अनुसार १७ हजार ७८८ मतदाता बढेका छन् । यसअघि भरतपुर महानगरपालिकामा १ लाख ५० हजार २७४ मतदाता थिए । त्यस्तै, रत्ननगर नगरपालिकामा ४ हजार ५०० मतदाता बढेका छन् । यसअघि ४३ हजार १५४ मतदाता थिए । खैरहनी नगरपालिकामा पनि ४ हजार ३०० मतदाता बढेका छन् । खैरहनीमा यसअघि ३३ हजार २६३ मतदाता थिए । राप्ती नगरपालिकामा ४ हजार २०० मतदाता बढेका छन् । राप्तीमा यसअघि २९ हजार ९९८ मतदाता थिए ।

यसै गरी कालीका नगरपालिकामा ३ हजार ८८५ मतदाता बढेका छन् । यसअघि कालिकामा २२ हजार ९८७ मतदाता थिए । इच्छाकामना गाउँपालिकामा १६ सय २६ मतदाता बढेको छन् । यसअघि कालिकामा ११ हजार ६५४ मतदाता थिए ।त्यस्तै, माडी नगरपालिकामा ३ हजार ५०५ मतदाता बढेका छन् । माडीमा यहाँभन्दा पहिला २१ हजार ६७२ मतदाता थिए ।

‘यो मतदाता सङ्ख्यामा केही थपघट हुन्छ, आयोगबाट नामावली आएपछि बल्ल यति नै मतदाता सङ्ख्या भन्न सकिन्छ । यो तथ्याङ्क करिब–करिबमा हो’ निर्वाचन कार्यालय भरतपुरका सूचना अधिकारी भीमप्रसाद ढकालले भने । चितवन जिल्लाबाट अन्य जिल्लामा गएर भोट हाल्ने मतदाता १२ सय ७० रहेका छन् । ‘बाहिरी जिल्लाबाट चितवनमा आउने मतदाताहरु पनि छन्, तर यसको सङ्ख्या अहिल्यै भन्न सकिन्न । आयोगबाट जानकारी आउनुपर्छ’ निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले भने ।

१८ वर्ष पुगेर नेपाली नागरिकता लिएकाहरुले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । यसअघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा त्रुटि भएका व्यक्तिले पनि यस पटक गल्ती सच्याएका छन् ।

‘स्थानीय तहको चुनाव भर्खरै सकियो, अब प्रदेश र केन्द्रको चुनाव मुखमा आइरहेको छ, त्यसैले फोटोसहितको मतदाता नामावलीमा नाम सङ्कलन गर्न भीड लागेको हो’ निर्वाचन कार्यलय प्रमुख ढकालले भने । आउँदै गरेको प्रदेश सभा र प्रतिनिधि सभामा भोट हाल्ने तीव्र चाहनाले चितवनमा ४१ हजार २६३ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरेका छन् । निर्वाचन आयोगले साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको थियो ।

साउन १५ सम्म जिल्ला निर्वाचन कार्यालय भरतपुरमा फोटोसहितको मतदाता नामावलीमा नाम सङ्कलन गरिएको थियो भने भदौ ३ गतेसम्म स्थानीय तहमै फोटोसहितको मतदाता नामावली सङ्कलन गरिएको थियो । फोटो खिचाउनेहरु बाक्लो उपस्थिति भएपछि ३ दिन आयोगले समयसमेत बढाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *