नारायणी उपक्षेत्रिय अस्पतालमा बालक साटिएपछि…
कार्तिक २८, वीरगंज । नारायणी उपक्षेत्रिय अस्पतालमा बालक साटिएको घटना सार्वजनिक भएको छ । बालक हराएपछि अहिले अस्पतालमा खैलाबैला मचेको छ । सर्लाही, बलरा–३ घर भई वीरगंज, प्रगतिनगरमा बस्दै आएका राममनोजप्रसाद कुशवाहाकी पत्नी कामिनीदेवी कुशवाहाले बच्चा साटिएको भन्दै उजुरी गरेपश्चात् अस्पतालमा खैलाबैला मचेको हो ।
शनिवार बिहान भर्ना भएकी र ९ः३५ बजे बच्चा जन्मिंदा छोरा रहेको जानकारी पाएको र पछि वार्डमा छोरी दिएपछि विवाद सुरु भएको हो । यस विषयमा पीडित पक्षले जिल्ला प्रशासन कार्यालय, पर्सामा लिखित उजुरी गरेपछि आवश्यक प्रक्रिया सुरु भएको छ ।
पीडित कुशवाहाका अनुसार बच्चा जन्मेपछि छोरा भएको र आफूले मिठाईसमेत खुवाएको तर केही बेरमैं छोरी भएको सुन्दा बच्चा साटिएको भन्दै कारबाईको लागि निवेदन दिएको बताए । यस विषयमा अस्पतालका मेसु डा. एमामुलसँग बुझ्दा जिप्रकामा दिएको उजुरी आफू कहाँ आएको र सो विषयमा कर्मचारीसँग बुझ्दा बच्चा नसाटिएको प्रतिक्रिया दिए । तर, पीडितको डिएनए परीक्षण गराउन अनुरोध गरेपछि आवश्यक प्रक्रिया अगाडि बढाउने उनले बताए ।
त्यसै गरी हिजाे साँझ नारायणी उपक्षेत्रीय अस्पतालमा पुनः बच्चा साटिएको विवाद हुँदा प्रहरी पुगी विवाद साम्य पारेको थियो । छपकैया–१ घर भएका अनिल पासवानकी पत्नी उषा पासवानले जन्म दिएको शिशु साटिएको आरोप लगाइएपछि विवाद सुरु भएको थियो । उषाकी आमा जयगनिया देवीले छोरीले जन्माएको शिशु छोरा भएको तर पछि अस्पतालका कर्मचारीले छोरी भनेपछि आफूलाई दुःख लागेको र सोही निहुमा विवाद भएको स्वीकार गरिन् ।
अस्पतालका मेसु डा. इमामुल र गाइनोवार्डका इन्चार्ज सुरेन्द्र चौधरीको रोहबरमा छलफल भएको थियो । छलफलमा जयगनिया देवीले छोरी नै जन्मेको लिखित सहमतिपत्र दिएपछि विवाद टुङ्गिएकाे थियाे ।