मलाई मनाउनु छैन संविधानको दिवस
“
केशव नियात्री
आज असोज ३ गते
मेरो जन्म दिन हैन
छोरीको ‘ह्याप्पि वर्थ डे’ पनि हैन
श्रीमतीको जन्मबार पनि हैन
मोबाइलको म्यासेज वक्स करायो
टिङटिङ, टिङटिङ
आँखा मिच्दै, अर्ध होस्मा
मोबाइलको लक खोल्छु
नोटिफिकेसन आएछ
Happy constitution Day
आफ्नै जन्मदिन नमनाउने म
संविधान दिवसको सन्देश देखेर
कन्सिरीका रौं ठाडा भए
चिटचिट पसिना आए
घाँटी थिचिएर आयो
श्वास फेर्न मुस्किल भो
बोली हराउँदै गो
खुट्टा टेक्न गाह्रो भो
थचक्क भुईमा बसेँ
आँखा चिम्लँदै हराएँ
म ४ वर्ष अघिको परिदृश्य
चारैतिर बन्दुक र गोलीको वर्षा
वीर विरंगानाका कुरा
अखवार, रेडियो, टेलिभिजन
कुनै त्यस्तो ठाउँ थिएन
सबैका निधारमा राता टिका, फेटा थिए
माओ, क्याष्ट्रो, लेलिनका राता अक्षरले
गाउँ सहर रंगीएका थिए
क्रान्ति र शान्तिका नारा गुञ्जिएका थिए
लोकतन्त्र, नयाँ संविधान भनिएका थिए
त्यही परिवेशमा मैले
आफन्तलाई सहिद बनाए
बाबुआमा, दाजुभाइ, इष्टमित्रलाई
जङ्गलमा चिहान बनाए
जन्मिदै गरेको सन्तानलाई
गणतन्त्रको सहिद बनाए
आमाको सिन्दूर मेटे
बाबुको सहारा छिने
तामाङनी दिदीको कोख विगारें
मगर दाइको पाखोबारी खाएँ
खोरमा पालेको लिम्बू मामाको
सुङ्गुरका पाठो निमोठें
क्रान्तिका नाममा, शान्तिका नाममा
कयौँ दिन अध्यारोमा विताए
कयौँ दिन त्रासमा विताएँ
कति छाक भोकै बसें
कति दिन प्यासै बसें
परिवर्तनका नाममा
जनताको संविधानका नाममा
लोकतन्त्रको नाममा
आफ्नै रगत चढाए
आफ्नै संसार उजाडें
आज, त्यही क्रान्तिका नाममा
राजनीति गर्नेहरुले
नयाँ संविधान, जनताको संविधान
भन्नेहरुले
नयाँ संविधानका नाममा
सुनौला महल ठड्याए
पजेरो किने, प्राडो चढे
अमेरिका गए, क्यानडा गए
सात पुस्तालाई कालो धन पु¥याए
परिवर्तनको नारा दिएर
आफैँ परिवर्तन भए
अहिले,
गरिब, निमुखाका नाममा
सत्तामा बसेर भत्ता पचाउनेहरुले
मोबाइलमा पठाएका
संविधान दिवसका सन्देशले
मेरा सात पुस्तालाई गिज्याउँछ
छोरा नातिलाई खिस्याउँछ
गरिबीको नाममा, दासताका नाममा
स्वाभिमानी नेपालीका नाममा
आफ्नै आमाबुबा लुटिए
पाखोबासी रित्तिए
मातृभमि बेचिए
मलाई मनाउनु छैन
संविधानको दिवस
लोकतन्त्रको नाममा ठोकतन्त्र दिवस
गणतन्त्रको नाममा लूटतन्त्र
जनतन्त्रका नाममा कूतन्त्र
मलाई मात्र भए पुग्छ
एकसरो लाउन र एक गाँस खान
पुग्ने माटो
मलाई मात्र भए पुग्छ
मरेपनि चाहिने एक मुठ्ठी माटो
छातीमा राख्ने स्वदेशी माटो”