नीशा र शरदको विवाह हुने पक्का
असार ११ । विभिन्न चर्चा र परिचर्चाका बीच नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर बीच विवाह हुने पक्का भएको छ । प्रेम चर्चा चलेको केही समयपछि नीशा आफैले आफ्नो ब्रेकअप भएको भन्दै मिडियामा अभिव्यक्ति दिएकी थिइन् । तर, अब यी दुर्इले असार १६ गते बिहे गर्ने भएका छन् । नीशा र शरदको बिहे र भोजको निमन्त्रणा कार्ड चलचित्रकर्मी, आफन्त र साथीभार्इमाझ पुगिसकेको छ ।
नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर केही दिन अगाडी चितवनमा एकसाथ देखिएपछि यी दुर्इले बिहे गर्न लागेको चर्चा चलेको थियो । तर, अहिलेसम्म यी दुर्इले मिडियासँग कुनै कुराकानी भने गरेका छैनन् । नीशा र शरदको बिहेले नेपाली चलचित्र र क्रिकेटलाई जोड्ने छ । नेपाली चलचित्रकी नायिका र क्रिकेटर बीच बिहे हुन लागेको संभवत यो पहिलो पटक हुनसक्छ ।
यस अगाडि केही मोडल र क्रिकेटर बीच प्रेम सम्बन्ध रहेपनि बिहे हुन सकेको थिएन । निशा र शरदले असार १८ गते बिहे भोजको आयोजना गरेका छन् । बिहे बन्धनमा बाधिन लागेका नीशा र शरदलाई हाम्रो तर्फबाट बैबाहिक जीवनको शुभकामना ।