डा. रौनियार सुप्रबल जनसेवा श्रीमान् पदकबाट विभूषित
जेठ–१६, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार सुप्रबल जनसेवा श्रीमान् पदकबाट विभूषित भएका छन् ।
डा. रौनियारलाई राष्ट्रपति विद्यादेखि भण्डारीले गत शुक्रवार आयोजित समारोहमा विभूषित गरेकी थिइन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रहेर रेडियोलोजी सेवामा उत्कृष्ठ कार्य गरेवापत डा. रौनियारलाई सुप्रबल जनसेवा श्रीमान् पदकबाट विभूषित गरिएको हो । सार्क रेडियोलोजी एशोसिएशनका अध्यक्ष समेत भईसकेका डा. रौनियारले वीपी प्रतिष्ठानको रेडियोलोजी विभागको विकास र विस्तार र जनतामा सर्वसुलभ सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिएकोले पदकबाट विभूषित गरिएको हो । सुनसरीको दुहवी स्थायी घर भएका डा. रौनियार प्रतिष्ठानमा स्थापना कालदेखि कार्यरत छन् ।
पदक पाएपछि डा. रौनियारले सरकारले दिएको पदकले आफूलाई अझ जनता र देश प्रति काम गर्ने हौसला प्राप्त गरेको बताए । हाल प्रतिष्ठानमा उपकूलपति पदमा आसिन रौनियारले प्रतिष्ठानलाई दक्षिण एसियाकै उत्कृष्ठ स्वास्थ्य संस्थाका रूपमा विकास गर्न लागि परेको जिकिर गरे । उनले अन्तर्राष्ट्रिय स्तरको रेडियोलोजी सम्मेलन धरानमा सम्पन्न गरेका थिए । रेडियोलोजी विषयमा सार्क राष्ट्र भरीकै राम्रो वैज्ञानिकको पंङ्तीमा परिचित रौनियारले जापान, अमेरिका, जर्मन, भारत लगायत दर्जनौ देशको रेडियोलोजी विभागहरुले पुुरस्कार तथा सम्मानपत्रबाट सम्मान प्रदान गरेको छ ।