तिहारको मुखैमा सुत्केरीको मृत्यु भएपछि भरतपुर अस्पताल तनावग्रस्त !

किशोर खनाल

भरतपुर असोज, २८ । सुत्केरी हुने क्रममा महिलाको मृत्युभएपछि भरतपुर अस्पतालमा हिजो शुक्रबार देखि दिनभर तनावग्रस्त बनेको छ ।

भरतपुर–१९ गुञ्जनगर निवासी २२ वर्षकी सुना भुजेलको सुत्केरी हुनेक्रममा मृत्यु भएको हो । भरतपुर अस्पतालको गम्भीर लापरबाहीले सुुना भुजेलको मृत्यु भएको पीडित परिवारले आरोप लगाउँदै अस्पतालमा ताला लगाएका थिए ।

प्रहरीले ताला तोडेको थियो । मुटुको समस्याको कारणले गर्दा भुजेलको मृत्यु भएको अस्पतालले जनाएको छ । ‘सुत्केरी वार्डबाट एकैचोटी आँखामा टेप लगाएर आईसीयूमा लग्यो । आईसीयूमा लैजाँदा किन टेप लगाउनु प¥यो ? अस्पतालको लापरबाहीको कारणले सुत्केरी वार्डमै छोरीको मृत्यु भइसकेको थियो । त्यसैले आँखामा टेप लगाएर लग्यो’ मृतककी ठूलीआमा कृष्णकुमारी जिसीले भनिन्, ‘आईसीयूमा लैजाँदा परिवारलाई केही खबर गरेन । बिरामी र उसका परिवारले गाह्रो भयो अप्रेसन गरिदेऊ भन्दा पनि गरिदिएनन् । अस्पतालको गम्भीर लापरबाहीले मैले छोरी गुमाउन प¥यो ।’

मुटुको समस्या देखाएर अस्पताल आफू चोखिन खोजेको मृतक भुजेलकी काका जितेन्द्र भुजेलले बताए । उनले भने, ‘डाक्टरहरुले गलत रिपोर्ट बनाएर मुटुको समस्या देखाएका छन् । यो उनीहरुले आफू बलियो हुनको लागि कसरत गरेका हुन् ।’ आईसीयूमा लगेपछि पनि डाक्टर तथा सिस्टरहरुले अनेकौ नाटक रचेको उनले बताए । उनले भने, ‘मृत्यु भएसकेको मान्छेलाई आईसीयूमा लगेर औषधि मगाए, कुनै बेला बचाउन सकिन्छ भन्छन्, कुनै बेला गाह्रो छ पनि भन्छन् । यस्तो चालबाजी अस्पतालबाट भयो ।’ उनले अरु अस्पताल लान्छौ भन्दा पनि लान नदिएको बताए ।

बिरामीको मुटुको भल्व साँघुरो रहेछ

‘बिरामीलाई गाह्रो भयो, अप्रेसन गर भन्दा पनि नर्सहरुले व्यथा लागिहाल्छ नि, चुप लागेर जानूस् । तपाइँले सिकाउनुपर्छ भने’ मृतककी सानीमा सीता जिसीले भनिन्, ‘आमा र बच्चाको अवस्था नरमल छ भने, पाठेघरको घर खुल्यो अप्रेसन गर्न पर्दैन भने, आखिरी छोरीको ज्यान गयो ।’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रुद्र मरासिनीले अस्पतालको लापरबाही नरहेको दाबी गरे । उनले भने, ‘बिरामीको मुटुको भल्व साँघुरो रहेछ । मुटुले काम गर्न नसकेपछि बिरामीको मृत्यु भएको हो ।’ उनले बिरामीको मुटु फेलियर नभएको भए बचाउन सकिने बताए । उनले बिरामीको अवस्था गम्भीर भएपछि मात्र आईसीयूमा लगेको बताए ।

मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनीले भने, ‘बिरामीको पोष्टमार्टम भइसकेको छ, यसको रिपोर्ट मैले भन्न मिल्दैन । प्रहरीमा जान्छ यो रिपोर्ट । भोलि उहाँहरुले कानुनी बाटो रोजेर न्याय खोजे भने बिरामीको रिपोर्ट त हामीसँग छ ।’ उनले डाक्टर तथा सिस्टरको कुनै गल्ती नभएको दाबी गरे । उनले भने, ‘अस्पताल वा डाक्टर कसैले गल्ती गरेको भए कारबाही भोग्न तयार हुनुपर्छ र छौँ पनि ।’ डाक्टर मरासिनीले मृतकको परिवारले कानुनी बाटो खोजेमा हामी पनि सहयोग गरी छानविन गर्न तयार भएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *