नालापानीमा पोखिएको स्वाभिमान (कविता)
“
नालापानीमा पोखिएको एक अञ्जुली स्वाभिमान
र खलङ्गामा छोडिएको एक पुलिन्दा वीरतालाई खोज्दै
मैले यो साल पुर्खाको स्वाभिमानको जग खोतलेँ
त्यो जग ठड्याउने वीरताको पोको खोतलेँ
नालापानीको उद्घोष सुनेर मुर्झाएका
साम्राज्यवादी महत्वकाङ्क्षाका वारेस गोरा अनुहारमा
ग्लानि र लाज पोतिएर
विद्रुप बनेका धेरै–धेरै आकृतिहरू देखेँ
जितेर पनि हारेका धेरै–धेरै गोरा आकृतिहरू देखेँ
हारेर पनि जितेका धेरै पौरखी दिदी बहिनी र दाजुभाइ देखेँ
पराइले कुटखेलबाट बन्धक बनाएको नेपाली स्वाभिमान र वीरता
निफन्न कोही तयार छ कि भनी
खोजिरहेका, पर्खिरहेको भेटेँ ।
यस पटक नालापानीको खलङ्गा किल्लामा
कोही जितेर पनि हारेको मनोवृत्ति अनुहारभरि पोतेर
मुर्झाइरहेका पराइ देखेँ
कोही भने हारेर पनि वीरताको पाइन बाँडेर समयलाई
स्वाभिमानको उपहार इतिहासको पुलिन्दालाई निकालेर
बाँड्दै गरेको समूह नै भेटेँ
यस पटकको देहरादुन यात्रामा
मैले यस्तै विचित्रता नाच्दै गरेको देखेँ
नालापानीमा एक अञ्जुली स्वाभिमान भेटेँ ।
इतिहासका विभिन्न गौँडा गल्छेँडामा
हस्तक्षेपले सृजना गरेका अनेकौँ धराप हटाउँदै
गरेको हाम्रो यात्राको सार हो–
पराधीन नभएको सार्वभौमिकताको सान
सुर, वीर पराक्रमको थैलीभित्र
सुरक्षित राखेको हाम्रो स्वाभिमान ।
ए, खै कसले खोस्न खोज्यो हाम्रो यो सार्वभौम सान ?
कसले लुट्न खोज्यो हाम्रो स्वाभिमान ?
खलङ्गाको नालापानीमा पोखिएको एक अञ्जुली गौरवलाई
आफ्ना अनुहारमा छ्यापेर
इतिहासका टेडामेडा गल्छेडा चहार्दै
म आज खोजिरहेछु
विभिन्न किल्ला र गडीहरूमा पोखिएको
वीर योद्धाहरूको साहसी रगतमा लतपतिएर छरिएको
हाम्रो गौरव, हाम्रो वीरता र हाम्रो सान ।
नालापानीमा पोखिएको हाम्रो वीरतालाई
स्मारकमा लतपत पारेर विश्वलाई भुलाउन
छटेल वैरीहरूले दिगभ्रमित पार्न खोज्ने
हाम्रो लडाइँलाई विकृतिको लेपनले बङ्ग्याउन
साम्राज्यवाद र विस्तारवादको पन्जालाई
तगारो लगाई परास्त पार्न देखाइएको पराक्रमलाई
ससान रजौटाको सम्मिलनको महत्वकाङ्क्षी योजना भनेर
सीमित गर्न खोजे हाम्रो सत्वलाई
अपराजित भई बाँधिरहने हाम्रो सङ्कल्पलाई
नालापानीको पराजयदेखि बन्धक रहेको हाम्रो स्वाभिमान ।
ए कोही छौ तप्पर भने उकास्न
आऊ एउटा सुदृढ किल्लाको निर्माण गरौँ
र भत्काऔँ पुराना असमान प्रतिबद्धतालाई
सुरु गरौँ अर्को युद्ध
आफ्नो हराएको सत्व खोज्न
पोखिएको वीरता, बन्धक बनेको स्वाभिमानलाई उकास्न ।
हो, यसपल्ट नालापानीको किल्ला पुगेर
नाकाबन्दीमा परेका बालबालिका, पराक्रमी बनिता भेटेँ
उनीहरूका सङ्कल्प र अठोटहरू घटघटी पिउन पाएँ
त्यही वीरताको पाइनमा उन्मत्त भएर
देशको गुमेको भूगोल खोज्ने
राष्ट्रको अपराजित स्वरुप बचाउन
सङ्कल्पको पोको बोकेर आएँ
नालापानीको भूमि टेकेर
मैले स्वाभिमानको नयाँ रूप पाएँ ।
***
“