तिहारको आगमनसँगै कैलालीमा चहलपहल बढ्यो
“
विष्णु जाेशी, कैलाली । तिहार नजिकिँदै गर्दा भारतका विभिन्न स्थानमा रोजगारीमा पुगेका नेपालीहरू फर्कने क्रम बढ्दै गएको छ । सीमास्थित इलाका प्रहरी कार्यालयका अनुसार केही समययता भारतबाट फर्कने नेपालीको सङ्ख्या बढ्दै गएको छ । रिक्सा, टाङ्गा तथा पैदलै भारतबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या बढ्दै गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मध्यपश्चिमका बाँके, बर्दिया सहित, सुर्खेत, रुकुम, रोल्पा, दैलेख, जाजरकोट, सल्यान लगायतका जिल्लाबाट नेपालीहरू रोजगारीका लागि दैनिकजसो भारतका विभिन्न स्थानमा जाने गरेका छन् । भारतमा दुःख कष्टका साथ कमाएको रुपैयाँ फर्कदा घरसम्म पु¥याउन मुस्किल पर्ने नेपालीहरूले गुनासाे गर्ने गरेका छन् । सीमावर्ती क्षेत्रमा हाल काखे बालक च्यापेका महिला र बालबालिका समेत आफन्तसँगै फर्कदै गरेको देख्न सकिन्छ । प्रहरीले भारतबाट फर्कने नेपालीको सुरक्षाका लागि विभिन्न अभियान सञ्चालन गरिरहेको छ ।
बजारमा चहलपहल बढ्याे
तिहार नजिकिँदै गर्दा कैलालीमा चहलपहल बढ्न थालेको छ । तिहारमा चाहिने सामान किनमेल गर्ने ग्राहकको भीडभाड लाग्न थालेको हो । विशेष गरी कैलालीका मुख्य बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल बढ्न थालेको हो । लक्ष्मीपूजाका लागि चाहिने पूजासामग्री, माटोका पाला, बत्ती, भाइमसला, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र सुनचाँदीका गहना किनमेल गर्नेको चहलपहल बढ्न सुरु भएको हो ।
तिहारमा भाइमसला, माटोको पाला, भोगटे, कटुस, ओखर, फुल, माटो, बत्ती, मैनबत्ती, पटका, ढाकाटोपी, चाँदीका भाडालगायतका सामानहरू बढी बिक्री हुने गरेका छन् । तिहार सुरु भएसँगै सडकपेटीदेखि ठूलठूला पसलमा तिहारमा प्रयोग हुने सामानको बिक्री हुने गरेको छ । झिलिमिली बत्तीको पर्वका रूपमा मानिने तिहारको चहलपल कैलालीमा पनि बढ्न थालेको हाे ।
“