एमाले र माओवादी एकता संयोजन समितिको बैठक आज
काठमाडौं, माघ ७ । एमाले र माओवादी बीचको पार्टी एकताको विषयमा छलफल गर्न आज संयोजन समितिको बैठक बस्दैछ । वैठकले संगठनात्मक र वैचारिक कार्यदल गठनको गृहकार्य गर्नेछ ।
साथै राष्ट्रिसभा सिट, संख्या र प्रदेश सरकार बाँडफाँडको टुंगो लगाउने विषयमा पनि छलफल हुनेछ । यसअघि हिजो नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सरकार तथा पार्टी नेतृत्व, प्रादेशिक सरकार भागबन्डा, राष्ट्रिय सभा सदस्य सिट संख्या बाँडफाँटलगायत विषयमा छलफल भएको थियो । दुवै दलका अध्यक्ष विभिन्न विषयमा प्याकेजमा नै सहमतिको खोजीमा जुटे पनि अन्तिम निचोडमा पुग्न सकेका सक्नुभएन ।
निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम मतपरिणाम सार्वजनिक गरिसकेकाले अब प्रदेश सरकार गठन प्रक्रिया अघि बढ्नेछ भने २४ माघका लागि राष्ट्रिय सभाको निर्वाचन मितिसमेत तोकिसकेको छ । दुई दल तत्काल राष्ट्रिय सभा र प्रदेश सरकारको विषय टुंग्याउने कसरतमा छन् । गत २५ पुसमा दुवै पार्टीबाट तीन–तीन जना सदस्य सम्मिलित कार्यदलले राष्ट्रिय सभामा ४३ सिटको बाँडफाँट टुंग्याएर पार्टी एकता संयोजन समितिलाई बुझाएको छ ।
कार्यदलले प्रदेश सरकारको गृहकार्यको जिम्मा पाए पनि छलफलपछि समितिलाई सुझाव दिँदै अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिइएको छ ।