सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना हुने
असाेज २७, काठमाडाैं । सरकारले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले जनताले पाउने स्वास्थ्य सेवालाई अझै सहज बनाउने गरी सरकारले सबै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने तयारी गरेकाे जानकारी दिएका हुन् ।
शुक्रवार काठमाडौँमा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम सभा बैठकलाई सम्बोधन गर्दै पाेखरेलले जनशक्ति उत्पादन गर्न र स्वास्थ्य क्षेत्रको अध्ययन अनुसन्धानको कामलाई अघि बढाउन ७ वटै प्रदेशमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने कामलाई सरकारले उच्च प्राथमिकता दिएको बताएका हुन् ।
मन्त्री पोखरेलले स्वास्थ्य क्षेत्रका जनशक्तिलाई अब स्थानीय तहमा रोजगारीको अवसर सृजना हुने बताए । कार्यक्रममा प्रतिष्ठानका पदाधिकारीहरुले प्रतिष्ठानका लागि आवश्यक जनशक्ति व्यवस्थापनको कामलाई पूर्णता दिन पनि मन्त्री पोखरेलको ध्यानाकर्षण गराएका थिए ।