भाइटीका कै दिन पूर्व राजा ज्ञानेन्द्रकाे यस्ताे सन्देश
“
कार्तिक ४, काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताले चाहना गरे आफु देशको नेतृत्व लिन तयार रहेको बताएका छन् । भाईटीकाको दिन आज आफ्नी कान्छी बहिनी शोभा शाहीसँग टीका ग्रहण पश्चात पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै देशको विकासमा दलहरु गम्भिर नभएको आरोप लगाउँदै यदी जनताले चाहेको हो भने आफु देशको नेतृत्व लिन अघि बढ्ने बताएका हुन् ।
पूर्व राजा शाहले मुलुक नेतृत्वविहीन भएको महसुस आफुले गरिरहेको भन्दै जनताको इच्छा अनुसार नेतृत्व लिन आफु तयार रहेको जिकिर गरेका हुन्। एउटा जिम्मेवार नागरिकको हैसियतले मुलुकको चिन्ता र चासो हुनु स्वभाविक भएको भन्दै शाहले आफुले नेतृत्व लिने समय आएको पनि दाबी गरे । ‘दुवोको, गोदावरीको, मखमली मालाको महत्व नबुझी कागजको फुलको सुवास खोज्ने परिस्थितिमा हामी हिडिरहेका छौं । मुलुकमा नेतृत्व नभएको जस्तो देखियो, त्यसै अब समय आएको जस्तो लागेको छ । जिम्मेवारी लिन र नेतृत्व दिन म तयार छु ।’ उनले भने । शाहले आफु नेतृत्वमा आउनका लागि जनताको चाहना हुनुपर्ने समेत प्रष्ट पारे । ‘मैले यसो भनिरहँदा सक्रियता बढ्यो भन्ने हैन सबै जनताको इच्छा हुनुपर्छ ।’ उनले पत्रकारसँगको संक्षिप्त कुराकानीमा भने ।
शाहले मुलुक र मुलुकबासीको हक हितका लागि जिम्मेवार बन्न समेत सबैलाई आग्रह गरेका छन् । पूर्वराजा शाहले पञ्चाङ्ग निर्णायक समितिले तोकेको उत्तम साइत भन्दा एक घण्टा अधि नै टीका ग्रहण गरेका थिए ।
उनले बिहान १० बजेर ४५ मिनेटकै साइतमा भाइटीका ग्रहण गरेका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको उत्तम साइत विहान ११ बजेर ५१ मिनेटमा रहेको बताए पनि ज्ञानेन्द्रले भने १० बजेर ४५ मिनेटको साइतमा टीका ग्रहण गरेका हुन् ।
“