के नेइमारले विश्व फुटबलमा एक दशकदेखि राज गरेका मेस्सी र रोनाल्डोलार्इ पछि पार्न सक्लान ?
“
लन्डन – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले वर्षका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकको अवार्ड भोली सोमबार प्रदान गर्दैछ । लन्डनमा हुने आवर्डका लागि फिफाले गत महिना अन्तिम मनोनयन सार्वजनिक गरेको थियो । अवार्डको मुख्य चासो वर्षको उत्कृष्ट पुरुष खेलाडीमा छ । जहाँ स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टायन फरवार्ड लिओनल मेस्सी, अर्को स्पेनिस क्लब रियल म्याड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनका ब्राजिलियन फरवार्ड नेइमार छन् ।
पछिल्लो एक दशकदेखि मेस्सी र रोनाल्डोबीच वर्ष खेलाडीको अवार्ड घुमिरहेको छ । मेस्सीले अहिलेसम्म पाँच पटक र रोनाल्डोले चार पटक अवार्ड जितिसकेका छन् । नेइमारले भने अहिलेसम्म अवार्ड जित्न सकेका छैनन् । मेस्सी र नेइमारले गत सिजन बार्सिलोनाबाट खेलेका थिए । मेस्सी र नेइमारको बार्सिलोनाले ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि भने जित्न सकेन । यता, रियल म्याड्रिडले ला लिगा तथा च्याम्पियन्स लिग जित्दा रोनाल्डोले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
लियोनल मेस्सी
अर्जेन्टिनालाई निर्णायक खेलमा जित दिलाएर सन् २०१८ मा रसियामा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट गराउन मेस्सीले उद्भुत खेल प्रदर्शन गरे । गत साता भएको दक्षिण अमेरिकी छनोट समूहमा छैटौं स्थानमा रहेको अर्जेन्टिना प्लेअफका लागि पनि छनोट नहुने आशंका बढेको थियो । समुद्री सतहभन्दा २८ सय मिटरको उचाइमा रहेको क्युटो सहरमा भएको खेलमा मेस्सीले आफ्नो योग्यता फेरि प्रमाणित गर्ने क्रममा ह्याट्रिक गर्दै अर्जेन्टिनालाई विश्वकपमा छनोट गराएका थिए ।
मेस्सीले दक्षिण अमेरिकी विश्वकप छनोटमा २१ गोल पूरा गर्ने पहिलो खेलाडी बन्दै कीर्तिमान समेत बनाए । गत सिजन बार्सिलोनालाई स्पेनिस कपको उपाधि दिलाउने क्रममा पाँच गोल गरे । बार्सिलोनाले लगातार तेस्रो पटक उपाधि जितेको थियो । मेस्सीले गत सिजन ला लिगामा ३७ गोल गरेका थिए । मेस्सीको प्रेरणामा बार्सिलोनाले अन्तिम खेलसम्म उपाधि जित्ने सम्भावना जीवितै राखेको थियो । मेस्सी चौथोपटक ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । साथै उनले गत सिजनमै बार्सिलोनाका लागि ५ सय गोल पूरा गरेका थिए ।
क्रिस्टियानो रोनाल्डो
रोनाल्डोको प्रेरणादायी खेलमा रियल म्याड्रिडले फिफा क्लब विश्वकप २०१६ को उपाधि जितेको थियो । जापानिज क्लब कासिमा एन्टलर्सविरुद्धको फाइनलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए । उनले प्रतियोगिताको उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका थिए । रियलले ५ वर्षपछि गत सिजन ला लिगाको उपाधि जित्दा रोनाल्डोको भूमिका महत्वपूर्ण रह्यो । ३२ वर्षीय फरवार्ड रोनाल्डोले लिगमा २५ गोल गरेका थिए । उनले लिगका अन्तिम पाँच खेलमा पाँच गोल गरेपछि रियलले ३३ औं ला लिगाको उपाधि जितेको थियो । गत सिजनको युरोपियन च्याम्पियन्स लिग रियलले जित्नुमा पनि रोनाल्डोकै योगदान रह्यो । रोनाल्डोले गत सिजनको च्याम्पियन्स लिगमा १२ गोल गरे । उनले युभेन्ट्सविरुद्धको फाइनलमा २ गोल गरेका थिए । रोनाल्डोले गत सिजन च्याम्पियन्स लिगमा सय गोल पूरा गरेर इतिहास समेत रचेका थिए । रोलान्डोले रियलका लागि चौथो पटक च्याम्पियन्स लिगको ट्रफि उचालेका हुन् ।
नेइमार
नेइमारले गत सिजन क्लब र देशका लागि उतिकै योगदान दिए । नेइमारको प्रेरणादायी खेलमा ब्राजिल फिफा विश्वकप २०१८ मा छनोट हुने पहिलो देश बनेको थियो । हाल फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेनमा आबद्ध नेइमारले गत सिजन स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए । बार्सिलोनाका लागि नेइमारले गत सिजन सबै प्रतियोगिता गरी ४५ खेल खेलेर २० गोल गरेका थिए । नेइमारले गत सिजन गोलभन्दा बढी गोलका लागि पास उपलब्ध गराएका थिए । उनले क्लबका लागि २१ एसिस्ट गरे । नेइमारले गत सिजन बार्सिलोनाका लागि सय गोल समेत पूरा गरेका थिए । चार सिजनमा १ सय ७८ खेल खेल्दै नेइमारले सय गोल पूरा गरेका हुन् । राष्ट्रिय टिमका लागि पनि नेइमारले ५० गोल पूरा गरेका छन् । नेइमारले ८१ क्याप जितेर ५२ गोल पूरा गरेका हुन् ।
अन्य विधाको मनोनयन
महिला खेलाडी
डेएना कास्टेलानोस (भेनेजुएला) – फ्लोरिडा
कार्ली लोयड (अमेरिका) – म्यानचेस्टर सिटी
लिके मार्टिन्स (नेदरल्यान्ड्स) – बार्सिलोना
पुरुष टिमको प्रशिक्षक
मासिमिनियानो एलेग्री (इटाली) – युभेन्ट्स
एन्टोनियो कोन्टे (इटाली) – चेल्सी
जिनेदिन जिदान (फ्रान्स) – रियल म्याड्रिड
महिला टिमको प्रशिक्षक
लिन्स नेलेसेन (डेनमार्क) – डेनमार्क राष्ट्रिय टिम
जेरार्ड प्रेचेउर (फ्रान्स) – ओलम्पिक लियोनास
सारिना विग्मान (नेदरल्यान्ड्स) – नेदरल्यान्ड्स राष्ट्रिय टिम
गोलकिपर
बुफोन (इटाली) – युभेन्ट्स
केलर नाभास (कोस्टारिका) – रियल म्याड्रिड
म्यानुयल नेउर (जर्मनी) – वायर्न म्युनिख
पुस्कस अवार्ड
केभिन प्रिन्स बोएटिङ – लास पालमास
अलेजेन्द्रो कामार्गो – युनिभर्सिडाड
डेना कास्टालानोस – भेनेजुएला यू–१७
माउसा डेम्बेले – सेल्टिक
ओलिभर जिरुड – आर्सनल
एभिलेस हार्टाडो – जिजुएना जोलोस
मारियो मिन्जुकिक – युभेन्ट्स
अस्कारिन कासुलुके – कारेका एफसी
नेमेन्जा माटिक – चेल्सी
जोर्डी एमबोउला – बार्सिलोना यू–१९
फ्यान अवार्ड
बोरुसिया डर्टमुन्ड समर्थक
सेल्टिक समर्थक
एफसी कोपेनहगेन समर्थक
“