कञ्चनपुरमा इँटा व्यवसाय धराशायी बन्दै

कञ्चनपुर, ५ कात्तिक । इँटा बिक्री नहुँदा कञ्चनपुरका इँटा व्यवसायी चिन्तित भएका छन् । वर्षा अघि बिक्रीका लागि तयार गरिएका इँटा वर्षदिन हुनलाग्दा समेत बिक्री हुन सकेका छैनन् । जिल्लाको दक्षिणी क्षेत्रमा मात्रै करिब तीन करोड इँटा बिक्री हुन बाँकी छ । जिल्लाभर ३५ वटा इँटा उद्योगमध्ये दुई दर्जन भट्टा दक्षिणी क्षेत्र अन्तर्गत रहेका छन् ।

इँटा व्यवसायी सङ्घका अध्यक्ष कृष्णबहादुर तामाङले सबै उद्योगमा ५० देखि ६० लाख इँटा बिक्री हुन बाँकी रहेको बताए । इँटा निर्माण गर्दा लाग्ने मजदुर खर्च, कच्चा पदार्थ खरिद, इन्धन खर्च सरकारी कर गरी वास्तविक इँटाको मूल्याङ्कन गर्दा प्रतिइँटा रु आठभन्दा बढी पर्न जान्छ भने आर्थिकमन्दी र व्यापारिक प्रतिस्पर्धाले रु आठभन्दा पनि कम मूल्यमा बिक्री गर्नुपरेको जगदम्बा इँटा उद्योगका सञ्चालक रमेश विष्टले बताए ।

इँटा व्यवसायी सङ्घले प्रति अब्बल इँटाको रु १० कायम गरेको छ तर बिक्रीको अभावमा कम मूल्यमा बिक्री गर्न पनि इँटा व्यवसायीबीच प्रतिस्पर्धा गर्नुपरेको उद्यमी बताउँछन् । विष्टको इँटाभट्टामा अहिले ४० लाख इँटा छन् । इँटा बिक्री नभएपछि साहुको ऋण, बैङ्कको साँवा ब्याज कसरी तिर्ने भन्ने चिन्ता रहेको उनी बताउँछन् ।

पुनर्वासका पुराना इँटा उद्यमी यमबहादुर तामाङले ३० लाख इँटा बिक्री नहुँदा लगानी डुब्ने अवस्थामा पुगेको बताए । इँटा बिक्रीमा कमी आउनु आर्थिकमन्दी मात्रै नभएर जिल्लाभर बिना इजाजत प्राप्त भुसे भट्टाको सस्तो इँटाले पनि व्यवसायी मारमा परेका छन् ।

जय माँ इँटा उद्योगका सञ्चालक सुरेन्द्र साहुले भुसे भट्टाले थप मारमा परेको बताए । जिल्लाभरि करिब ३० भुसे भट्टा छन् । नेपाल इँटा व्यवसायी सङ्घका केन्द्रीय सहकोषाध्यक्ष वीरबल विश्वकर्माले अवैधानिक रूपमा सञ्चालित भुसे भट्टालाई प्रतिबन्ध लगाउनका लागि जिल्लास्थित सम्बन्धित निकायमा पटकपटक माग गर्दासमेत सुनुवाइ नभएको बताए ।

सरकारी मापदण्ड अनुरूप पत्थर कोइलाबाट इँटा बनाउँछौँ यसरी तयार गरिएको इँटाको मूल्याङ्कन गर्दा प्रतिइँटा आठभन्दा बढी पर्न जान्छ तर भुसे भट्टाबाट तयार गरिएका इँटा पाँच छ भन्दा पनि कम मूल्यमा बिक्री हुने भएकाले व्यवसायी धरायशी हुन अवस्थामा पुगेका हुन् । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *