उद्योग बाणिज्य महासंघद्धारा बाढीपीडितलाई १ करोड सहयोग घोषणा
काठमाडौं, साउन २९ – देशभर बाढीपहिरोले बिनास निम्त्याइरहेको समयमा निजी क्षेत्र पनि सहयोगका लागि जुटेको छ । नेपाल उद्योग बाणिज्य महासंघले विभिन्न संघ तथा कम्पनीहरुसँग मिलेर बाढीपीडितलाई नगद तथा जिन्सी गरी करिब १ करोड रुपैयाँ बराबरको सहयोग गर्ने घोषणा गरेको छ ।
महासंघले विभिन्न संघ तथा कम्पनीहरुबाट सहयोग रकम जुटाएको छ । महासंघ आफैले १० लाख सहयोग गर्ने घोषणा गरेको छ । नेपाल औषधि उत्पादक संघले ५० लाख नगद बराबरको औषधि, नेपाली यूवा उद्यमी मञ्चले नगद तथा जिन्सी गरी १५ लाख रकम प्रदान गर्ने भएको छ ।
शंकर ग्रुपको तर्फबाट नगद र तथा जिन्सी गरी ५ लाख रकम, वागमती सफाई महाअभियानका तर्फबाट १० लाख नगद र अन्य संघ संस्थाबाट १० लाख गरी महासंघले १ करोड जुटाएको हो ।
साथै सहयोग जुटाउनको लागि महासंघले सामाजिक सेवा फोरमका सभापति जय प्रसाद सिवाकोटीको संयोजकत्वमा १७ सदस्यीय बाढी पहिरो व्यवस्थापन कार्यदल २०७४ समेत गठन गरेको छ ।
बाढी प्रभावित जनताको सहयोगार्थ महासंघले बैंक अफ काठमाडौंमा एफएनसीसीआई रिलिफ खाता समेत संचालनमा ल्याएको छ ।
बैंक अफ काठमाडौंमा रहेको एफएनसिसिआई रिलिफ फन्ड एकाउन्ट नम्बर ०१२५०००००६३५ मा सबै सदस्य तथा उद्योग वाणिज्य संघहरूलाई सहयोग रकम संकलन गर्न आग्रह गरेको छ ।