कोही सँग छ, मुरारकालाई अठ्याउने हिम्मत !
“
कार्तिक १०, काठमाडौँ । त्यसै भनिएको होइन, ‘जब धन बोल्छ तब सत्य मौन’ रहन्छ । धेरै वर्षदेखि उठेको विषय भए पनि प्रशासन लाचार र मौन बसिदिनाले एक जना व्यापारीले जनताको स्वास्थ्य माथि बारम्बार खेलवाड गरिरहेका छन् प्रसङ्ग हो, पशुपति मुरारकाे उद्याेगले उत्पादन गरेकाे ‘पशुपति पेन्टस’काे । पशुपति पेन्टसले ‘खुसीका रंगहरू’ भन्दै टेलिभिजन, पत्रपत्रिकामा भरमार विज्ञापन गरेकाे भरमा तपार्इले अाफ्नाे घरमा नयाँ रंग लगाउनु हुँदैछ र, पशुपति पेन्टसले नै तपार्इकाे घर र परिवारमा खुसी ल्याउँछ भन्ने भ्रममा नपर्नुहाेस् । खुसीका रंगहरू भन्दै पशुपति पेन्टसले दुःखै दुःख ल्याउने छ ।
उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष पशुपति मुरारकाको पशुपति पेन्टसमा अत्याधिक लेड (सिसा) रहेको तथ्य बाहिरिएको धेरै भए पनि पैसाले ‘पावर’ खरिद गरेका मुरारकालाई कठघरामा उभ्याउने हिम्मत कसैले गर्न सकेका छैनन् । पशुपति पेन्टसमा रहेको लेडको प्रभावले बालबालिका क्यान्सर जस्ता घातक रोगको सिकार हुने गरेको तथ्य आएपनि कसैले चासो देखाएका छैनन् ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्द्नन केन्द्रका कार्यकारी निर्देशक रामचरित्र शाहका अनुसार, विश्वव्यापी रूपमा मानिसमा बौद्धिक अशक्तता ९.५ प्रतिशत तथा ४ प्रतिशत मुटु सम्बन्धी रोग लाग्ने गर्दछ । उनका अनुसार, नेपालमा बर्सेनि पाँच वर्ष मुनिका बालबालिकामा औषधोपचारका नाममा लेड असरबाट एक खर्ब ५६ अर्ब बराबरको क्षति हुन्छ ।
हाल नेपाली बजारमा देखिएका रंगहरु मध्ये गौरीशंकर, जस्मिन, जेजिस, एपोलो, अर्ति, जी–७, अमेरिकन पेन्ट इण्डष्ट्री, पशुपति पेन्टस, एशियन पेन्टस तथा नेपाल पेन्टस इण्डष्ट्रीका रङ्गमा तोकेको मापदण्डभन्दा धेरै गुणाबढी ‘लेड’ रहेको भेटिएको हो । त्यस्तै काठमाडौँ उपत्यकाका ३१२ बालबालिकासहित वीरगञ्जका विद्यालयका ५० छात्रछात्रामा गरिएको अध्ययन अनुसार ती बालबालिकाको रगतमा लेडको मात्र ९० पिपिएमभन्दा बढी पाइएको सो केन्द्रले जनाएको छ । ६० प्रतिशत बालबालिकाको रगतमा ९० पिपिएमभन्दा बढी लेड पाइएको थियो । हालैका दिनमा मात्र जनस्वास्थ्य तथा वातावरण प्रवर्द्रन केन्द्र तथा लिडर्स नेपालले काठमाडौँ उपत्यकालगायत पश्चिम नेपालका केही बजारबाट सङ्कलन गरिएका १८ पेन्टस उद्योगको ३७ वटा रङ्गको नमुना परीक्षण गर्दा ५९.४६ प्रतिशत रङ्ग सरकारले तोकेको ९० पिपिएम मापदण्डभित्र रहेको र बाँकी रङ्गमा अत्यधिक सिसा प्रयोगमा रहेको तथ्य बाहिरिएको छ ।
विशेषगरी भित्ता तथा टेबुलमा प्रयोग हुने विभिन्न रङ्गीचङ्गी रंङमा लेड (सिसा) को मात्रा प्रयोग गरिएको हुन्छ । घर तथा विद्यालयको कक्षा कोठामा प्रयोग हुने ती सिसाका कण हावाका माध्यमबाट स–साना बालबालिकाको शरीरभित्र सजिलै प्रवेश पाउँछ र दीर्घकालमा क्यान्सरजस्ता गम्भीर रोगको सिकार हुन सक्छन् । लेडको सम्पर्कबाट बर्सेनि आठ लाख मानिसको मृत्यु हुने गरेको तथ्याङ्क छ भने मध्यम आय भएका मुलुकमा हरेक वर्ष ९७७ अर्ब डलरको क्षति हुने गरेको छ ।
यस्तो प्राण घातक रोग निम्त्याउने रंङको बिक्री वितरणमा सरकारले रोक लगाउनु पर्नेमा उल्टै नियमनकारी निकाय पशुपति मुरारकाका अघिपछि लाग्ने गरेका छन् । उपभोक्ताहरुको स्वास्थ्य माथि प्रत्यक्ष सरोकार राख्ने उपभोक्ता मञ्च नेपाल, नेपाल सरकारको गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभागहरु साना तीना उद्योग र पसलहरु चहार्दै दिन विताउँछन् । उनीहरू तरकारी पसल, कपडा पसल, नुनतेलका खाद्यान्न पसलबाट म्याद गुज्रेका सामग्री उठाएर ठुला मिडियामा ठूल्ठूला फोटा निकाल्न सक्छन् तर, बालबालिकाको स्वास्थ्य माथि खेलवाड गर्ने मुरारकाको पेन्टस् उद्योग माथि किन कारबाही गर्न र छापा मार्न सक्दैनन् ? प्रश्न उठेको छ ।
एसियन पेन्ट्समा समेत लेडकाे मात्र बढि भएकाे देखिएपनि उसले बिज्ञप्ती नै जारी गरेर आफ्नो रंगमा लिडमा मात्रा मापदण्ड अनुसार नै भएको जनाएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा नेपाल स्वास्थ्य अध्ययन प्रतिष्ठानले हालसम्म चार पटक लेडसम्बन्धी देशव्यापी अध्ययन गरिसकेको छ ।
“