डा.बाबुरामसहित चारै जनाले उम्मेदवारी फिर्ता नलिए भारतको शरणमा पुग्छौँ

काठमाडौँ,कात्तिक ११ । ‘मेरो छोरा मार्नेलाई उम्मेदवार बनाएको देख्दा देश छोडौं जस्तो लाग्छ’ । शुक्रवार राजधानीमा इँट्टा कारखानामा जिउँदै जलाइएको छोरा त्रिलोक प्रताप सिंहलाई सम्झिएर बुवा नारायण सिंह भक्कानिए ।

 

कार्यक्रममा हत्या गरिएका त्रिलोकका बाबु नारायण सिंहले छोराको ‘हत्यारा’ आलमलाई जेल हाल्नुपर्ने बेलामा पन्ध्र वर्षपछि चुनावमा उम्मेदवार बनेको देख्दा राज्यप्रति घृणा जागेर आएको बताए । ‘कानुन ठुला मान्छेलाई नलाग्ने हो भने अब नेपालमा बस्न सक्दैनौं, भारतमा शरण लिन जान्छौं’ कार्यक्रममै भक्कानिँदै सिंहले भने ‘२६ गते दिउँसो मन्त्रीलाई भेट्न जानुप¥यो भन्दै दुई–तीन जना केटाहरुले छोरालाई लगेर गए, भोलिपल्टै नजिकै बम विस्फोट भयो । त्यहाँ घाइते भएका छोरालाई इँट्टा भट्टामा जिउँदै हालेर जलाइयो ।’

एडभोकेसी फोरम नेपाल, इन्सेक र नेपाल मानवअधिकार सङ्गठनले राजधानीको अनामनगरस्थित संवाद डबलीमा संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी घटनामा दोषी देखिएकाहरुलाई तत्काल कारबाही गर्न मानवअधिकारकर्मीहरुले माग गरेका हुन् ।

केही समयअघि वाम गठबन्धनबाट उछिट्टिएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, माओवादी नेता अग्नि सापकोटा, एमालेमा प्रवेश गरेका डन राजिब गुरुङ (दीपक मनाङ्गे) र मोहम्मद अफताव आलमको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

उता,निर्वाचन आयोगले आलमबाहेक भट्टराई, सापकोटा, गुरुङ (मनाङ्गे) लाई आगामी मङ्सिर १० गते हुने प्रदेश र प्रतिनिधि सभाको पहिलो चरण निर्वाचनमा उम्मेदवारी कायम भइसकेको बताएको छ । अब, उनीहरूको कुनै पनि हालतमा उम्मेदवारी खारेज गर्ने अवस्था देखिँदैन । तर, संविधानमा अभियोग लागेका कुनै व्यक्ति उम्मेदवार बन्न नपाउँने व्यवस्था कायम छ ।

डा. भट्टराईसहित तीन जनाले आगामी मङ्सिर १० गते हुने पहिलो चरणको निर्वाचनमा टिकट पाइसकका छन् भने रौतहटका आलमले मङ्सिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा एमालेको तर्फबाट टिकट पाउँने निश्चित भइसकेको एमालेका एक जना नेताले जानकारी गराए । एमालेले टिकट दिने भएपछि आलमले केही समयअघि काँग्रेस परित्याग गरेर एमालेमा पसेका थिए ।

नयाँ शक्तिका संयोजक तथा तत्कालीन नेकपा माओवादीका उपाध्यक्ष समेत रहेका डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको क्षेत्र नम्बर २, नेकपा माओवादी केन्द्रका नेता अग्नि सापकोटाले सिन्धुपाल्चोक क्षेत्र १ र नेकपा एमालेबाट मनाङगे मनाङबाट प्रदेशसभाका सदस्य उम्मेदवार बनिसकेका छन् ।

कसरी गरियो हत्या ?

संयोजक डा. भट्टराईलाई गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीलाई जेठ २४ गते २०६२ मा हत्या गर्न निर्देशन दिएको आरोप लगाउँदै उनको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।

त्यसै गरी सिन्धुपाल्चोकबाट नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवार दिएका अग्नि सापकोटामाथि २०६२ वैशाख १६ गते काभ्रेका अर्जुन लामालाई अपहरण गरी हत्या गरेको अभियोगमा लामाकी आमा पूर्णिमायाले लिखित जोहरी दस्खास्त अदालतमा दर्ता गरेकी छन् ।

लामालाई साविकको छत्रेबाँस गाविस–१ दाप्चास्थित श्री कृष्ण माविको प्राङगणबाट सापकोटाको निर्देशनमा तत्कालीन माओवादी कार्यकर्ताले अपहरण गरेर लगेको आरोपसहित सर्वोच्चमा दर्ता निवेदनमा सर्वोच्च अदालतले सापकोटालाई कारबाही अगाडि बढाउन काभ्रे जिल्ला प्रहरी कार्यालयलाई परमादेश जारी गरिसकेको छ ।

अर्का उम्मेदवार मनाङ्गे चर्चित गुण्डा नाइके हुन् । मनाङबाट नेकपा एमालेबाट प्रदेशसभाका सदस्य उम्मेदवार बनेका उनीमाथि गुण्डागर्दी र ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी परेपनि उनलाई कसैले छुन सकेको छैन ।

त्यस्तै, रौतहट काँग्रेसका नेता समेत रहेका  मोहम्मद आलममाथि पहिलो संविधान सभाको निर्वाचनका बेला २०६४ साल चैत्र २७ गते स्थानीय शेख इद्रिसको घरमा बम विस्फोट गराई घाइते भएका त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियालाई नजिकको ईट्टा भट्ट (चिम्नी)मा जिउँदै जलाएको अभियोगमा सर्वोच्च अदालतले दोषी ठहर्याइसकिएको छ ।

मानव हत्याका दोषी आलमलाई आउँदो प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनाउन लागिएको भन्दै उम्मेदवार नबनाउन पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा माग गरिएको छ ।

राजनीतिक संरक्षण 

कार्यक्रममा माओवादी केन्द्रको संरक्षण्मा हालसम्म फरार रहेका पूर्वसभासद बाल कृष्ण ढुंगेललाई स्थानीय उज्जनकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरिसकेको भन्दै पक्राउ गरी जेल हाल्नुको साटो दलहरूले राजनीति नेता बनाएर समाजलाई दण्डहीनताको खाडलमा पार्न खोजेको अधिकारकर्मीहरुले आरोप लगाए । तर, प्रहरीले हालसम्म फरार ढुङगेललाई फक्राउ गर्न नसकिएको जवाफ दिइरहेको छ । अधिकारकर्मीले तत्काल दोषी ढुंगेललाई तत्काल पक्राउ गरी सजाय भुक्तानका लागि जेल हालेर कानुनको पालना गर्न समेत सरकारसँग गरेका छन् ।

यसरी निहत्था हत्या गर्ने पाँचै जनालाई निर्वाचनमा भाग लिन दिएर राजनीतिक दलहरूले अपराधीलाई राजनीतिककरण गरेको र दण्डहीनता मौलाउने चरित्र प्रदर्शन गरेको पत्रमा उल्लेख छ । कार्यक्रममा बोल्दै मानव अधिकार सङ्गठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले राजनीतिक दलहरूको अपराधीकरण राजनीतिले समाजलाई दण्डहीनताको दलदलमा फसाएको आरोप लगाए । यसबाट समाजनै असुरक्षित हुने तर्क गरे । कार्यक्रममा इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले मानव अधिकारको जघन्य उल्लंघनमा दोषी चारै जनाको उम्मेदवारी तुरुन्त खारेज गर्न माग गरे । खारेज नगरिए संसारका जुनसुकै ठाउँमा दोषीहरु पक्राउ पर्न सक्ने प्याकुरेलले बताए । उल्लंघनका थुप्रै घटना आफूहरुसँग रहेको र सबैलाई न्यायको कठघरामा नपुगेसम्म निरन्तर उठाइराख्ने प्रतिबद्धता समेत प्याकुरेलले व्यक्त गरे ।

एडभोकेसी फोरम नेपालका अधिवक्ता पुष्पराज पौडेलले सुनियोजित रूपमा गरिएको विस्फोटपछि हत्या गरिएका सिंहको हत्या गरेर मानव अधिकार उल्लंघनका घटनामा आलममाथि छानबिन गर्न अदालतले आदेश दिइसकेको भन्दै यसलाई टुंगोमा पुर्याई पीडित परिवारलाई न्याय दिलाउन आफूहरू निरन्तर लागिपर्ने बताए । उपस्थित सबै अधिकारकर्मीहरुले चारै जनाको उम्मेदवारी खारेज गरेर न्यायिक अनुसन्धानमा सघाउन पनि सम्बन्धित पक्षसँग आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *