मेस्सीसँगको भेट मेरो जीवनकै अविस्मरणीय क्षण : रक्षा पाण्डे
घुम्न जाने भन्नासाथ मानिसमा एकप्रकारको उत्साह नै छाउँछ । घुमघाम, किनमेल, स्वादिला फलफुल, सी फुड, मसाज आदि धेरै कुराहरूमा मान्छेका रुचि र चाहनाहरू हुन्छन् । त्यसमाथि विश्वचर्चित व्यक्तिसँग भेट्न र भलाकुसारी गर्न पाउदाको क्षण अविस्मर्णीय नै हुन्छ । नेपालीहरूले पनि विश्वका चर्चित खेलाडी, कलाकार, नेता तथा सामाजिक अभियन्ताहरूलार्इ भेटेका खबर आइरहेको हुन्छ । हालै मात्र तनहुँकी एक २२ वर्षीया युवतीले विश्वचर्चित खेलाडी लियोनल मेस्सीलाई भेटेको तस्बिर सामाजिक सञ्जालमा हालेपछि उनलाई बधाईको ओहिरो लागेको छ ।
काठमाडौँको मोक्ष निकेतन गुरुकुलका गुरु श्रमातित मोक्षबाट दीक्षित पत्रकारिताकी विद्यार्थी रक्षा पाण्डे स्नातक तेस्रो वर्षको परीक्षा सकेर केही साथीहरूसँग बार्सिलोनाको भ्रमणमा गएकी थिइन् । एउटा संस्थाले प्रदान गरेको छात्रावृत्तिमार्फत बार्सिलोना पुगेकी पाण्डेले लियोनल मेस्सीसँग भेट्न पाइन । भेटमा मेस्सीले उनीसँग नेपालको भूकम्पका सम्बन्धमा जानकारी लिएका थिए भने पाण्डेले मेस्सीलाई भर्खरै पुत्र लाभ भएकोमा बधाई दिइन ।
उनले पहिलो पटक मेस्सीलाई भेट्दाको अनुभव साप्ताहिकसँग साटेकी छिन् :
मैले विश्व चर्चित खेलाडी मेसीसँग भेट्न पाउँछु भनेर कहिल्यै सोचेकी थिइन् । मेस्सी मलाई औधी मन पर्ने खेलाडी हुन् । जीवनमा कहिलेकाहीँ नसोचेको अवसर प्राप्त हुँदोरहेछ । हालैको एक दिन बिहान १० बजे मलगायत मेरा चार जना साथी आन्टी क्लाउडियासँग ‘सिउडाड डे पोर्टिभा डेल बार्सिलोना’ भन्ने ठाउँ गयौँ । जहाँ मेस्सीलगायत अन्य थुप्रै विश्वचर्चित खेलाडी फुटबल अभ्यास गर्छन् ।
हामी पुग्दा मेस्सीलगायत अरू सबै खेलाडी मैदानमा अभ्यास गरिरहेका थिए । हामी भेट्न आउने कुरा अघिल्लो दिन नै मेस्सीलाई जानकारी गराइएको थियो भने उनले त्यसका लागि अनुमति पनि दिएका थिए । जब हामी फुटबल मैदान पुग्यौ त्यहाँ उनीहरूलाई डिस्टर्ब गर्न नपाइने रहेछ, त्यसैले लगभग ३० मिनेट कुर्यौं । त्यसपछि मेस्सी आफैँले बोलाए अनि हामी बिस्तारै उनी अभ्यास गरिरहेको स्थानतर्फ गयौँ । मलाई विश्वासै लागेन– म विश्व नम्बर १ खेलाडी मेस्सीसँग छु भन्ने कुराको । एक छिन त सपनैजस्तो लाग्यो । म एकदम धेरै एक्साइटेड थिए । मेस्सीले नेपालमा गएको भूकम्पका सम्बन्धमा जान्न चाहे, हामीले सबै कुरा विस्तारमा बतायौं । उनले अत्यन्तै चाख दिएर सुने अनि सहयोग गर्ने वचन पनि दिए । हामीले करिब डेढ घण्टा खेलाडीहरूसँग भलाकुसारी गर्यौँ ।
मलाई एकदमै आत्मीय लागे मेस्सी । उनी भावुकसमेत भए । हामीलाई मेस्सीको भर्खरै छोरा जन्मिएको छ भन्ने थाहा थियो । मौका नगुमाई हामीले बधाई दियौ । उनी खुसी भए । हामीले नेयमारसँग पनि कुरा गयौँ । उनी पनि त्यस्तै स्वभावका । नेयमारचाहिँ अलिक बढी रोमान्टिक लागे । मेस्सी र नेयमारसँगै अभ्यासमा रहेका अरू खेलाडीहरूसँग पनि भेट्न पाइयो । बिरलै मात्र नेपालीहरूले यस्ता खेलाडी भेट्न पाउँछन तर मलाई पढाउन लगेको संस्थाकी म्याडम लगायत स्थानीय साथीहरूले यस्तो सौभाग्य जुराइदिनुभयो । मेस्सी र नेयमारसँगको भेट मेरो जीवनकै अविस्मरणीय क्षण हो । म ज्यादै खुसी छु र यसका लागि ईश्वरप्रति नमन गर्छु ।