असोज २ मा हुने निर्वाचनको मनोनयन दर्ता सम्पन्न

काठमाडौं, भदौ २१ । प्रदेश नम्बर २ मा असोज २ गते हुन लागेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनको लागि आज मनोनयन दर्ता भएको छ । बिहान १० बजेदेखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलका कार्यकता तथा उम्मेदवारको सहयोगी र समर्थकको उपस्थितिमा उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत प्रदेश नम्बर २ का एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १ सय ३६ वटा स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको हो । निर्वाचनबाट ६ हजार ६ सय २७ जना प्रतिनिधि निर्वाचित हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

निर्वाचनका लागि ३१ हजार भन्दा धेरै कर्मचारी परिचालन हुने आयोगले जनाएको छ । यसका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तय गरिएको छ । आयोगले ४४ वटा संस्थाका करिब २ हजारभन्दा बढी पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षणको अनुमती दिएको छ । मनोनयन दर्ता साँझ ५ बजे सम्म चलेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *