न्युयोर्कमा आतंकी हमला : ८ जनाको मृत्यु, ११ घाइते, आक्रमणकारी प्रहरी नियन्त्रणमा

न्युयोर्क । अमेरिकाको न्युयोर्कको तल्लो म्यानह्याटनमा एक चरमपन्थीले आफ्नो ट्रक फुटपाथ र साइकल लेनमा चढाउँदा आठ जनाको मृत्यु भएको छ भने ११ जना गम्भिर घाइते भएका छन् ।

प्रहरीका अनुसार उनीहरुले यो घटना चरमपन्थी हमलाको रुपमा लिएका छन् । संदिग्धलाई प्रहरी हिरासतमा लिएको छ ।

ट्रक ड्राइभरले नियोजितरुपमा साइकलमा सवार सर्वसाधारणमाथि गाडी चढाएका थिए । प्रहरीले उनलाई तरुन्त नियन्त्रणमा लिएको थियो ।

अमेरिकी मिडियाका अनुसार २९ वर्षीय ड्राइभरको नाम सेफुलो साइपोव हो । उनी सन् २०१० मा अमेरिका आएको बताइएको छ ।

न्युयोर्कका मेयर बिल दे ब्लाजियोले घटनामा आठको मृत्यु भएको र दर्जन बढी घाइते रहेको बताए । उनले यस हमलालाई कायरतापूर्ण आतंकी कारवाहीको संज्ञा दिए ।

उनले भने, ‘यो एक कायरतापूर्ण आतंकी कारवाही हो । जसमा निर्दोष व्यक्तिहरुलाई निशाना बनाइएको छ । यस्तो हमलाको उद्देश्य भनेको हाम्रो धर्य तोड्नु हो । तर, हामीलाई थाहा छ न्युयार्कका जनता धर्यवान छन्, र आफ्नो धर्य कायम राख्ने छन् ।’

एक प्रत्यक्षदर्शीका अनुसार एबीसी च्यानल सेभेनसँग कुरा गर्दै एउटा सेतो रंगको ट्रकले घटना घटाएको बताए ।

उनले भने, ‘मेरो पछाडि मैले ठूलो स्वरमा मानिसहरु चिच्याइरहेको सुने । एउटा तिखो आवाज थियो । महिलाको चिच्याहट थियो । यो फरक तरिकाको चिच्याहट थियो । त्यसपछि म पछि फर्केर हेरेँ के भयो भनेर । मैले देखे एउटा सेतो पिक अप ट्रक साइकल लेनमा थियो । मलाई लाग्यो केही नराम्रो भयो ।।। एउटा आतंकी हमला ।।।। मेरै छेउमा । म जब त्यहाँ पुगे एक पुरुष सडकमा ढलिरहेका थिए । उनीमाथि ट्रक चढेको थियो । त्यसपछि त्यहाँ दुई जना प्रहरी आइपुगे । अनि गोली पनि चल्न थाल्यो ।’

पिक अप ट्रकले एक स्कूल बसलाई पनि ठक्कर दिएको छ । जसमा दुई वयस्क र दुई बालबालिका घाइते भएका छन् ।

ड्राइभरबाट दुईवटा पेस्तोल पनि बरामद गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनाको भत्सर्ना गर्दै एक बिरामी र खतरनाक व्यक्तिले घटना घटाएको बताएका छन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *