तीन गाउँपालिकामा माओवादी केन्द्र विजयी

रोल्पा, १७ असार । यहाँका तीन स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । दुईखोली गाउँपालिकामा माओवादी केन्द्रका निमकान्त डाँगी विजयी हुनुभएको छ । डाँगीले चार हजार छ सय आठ र उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका झक्कु घर्तीले एक हजार नौ सय ८९ मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी हुनुभएको छ । बूढाले चार हजार छ सय आठ र उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी लक्ष्मी डाँगीले एक हजार आठ सय ९९ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकामा रहेका सात वटै वडामा माओवादी केन्द्रको पूरै समूह विजयी भएको छ ।

थवाङ गाउँपालिकामा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार नौ सय ९० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गर्नुभएको छ । यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी रामकिरणी रोका एक हजार नौ सय ६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी श्रीकुमारी रोकाले नौ सय ९५ मत प्राप्त गर्नुभएको छ । पाँच वटा वडा रहेको थवाङ गाउँपालिकामा चार वडामा माओवादी केन्द्र र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

सुनछहरी गाउँपालिकामा माओवादी केन्द्रका आशबहादुर बुढा आठ सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका ध्रुवबहादुर घर्तीले छ सय ३६ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकाका उपाध्यक्षमा माओवादी केन्द्रकी पवित्रा घर्ती मगर आठ सय ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका भिमली बुढाथोकीले छ सय ३५ मत प्राप्त गर्नुभएको छ । सो गाउँपालिकामा माओवादी केन्द्रले तीन वटा वडा, एमालेले दुई वटा वडा र काँग्रेसले एक वडामा विजय हासिल गरेका छन् । एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा तीन गाउँपालिकाको मत परिणाम सार्वजनिक गरिएको छ । जिल्लामा बाँकी रहेका सबै स्थानीय तहको मतगणना जारी छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *