कैलालीका अधिकांश स्थानमा टेलिफोन गर्न उच्चो ठाउँ खोज्नुपर्ने बाध्यता
“
बिष्णु जोशी, धनगढी, कात्तिक १८ । कैलालीका अधिकांश ग्रामीण बस्तीहरु गुणस्तरीय टेलिफोन सेवाको असुविधा झेलिरहेका छन् । कैलालीका करिब सबै स्थानमा टेलिफोन सेवा पुगेको त छ तर, सदरमुकाम र बजार एरिया बाहेक अधिकांश ग्रामिण क्षेत्रका बासिन्दालाई टेलिफोन गर्न कि त उच्चो ठाउँ खोज्दै जानुपर्छ या टेलिफोनमा स्पष्ट कुरा गर्न निक्कै समय खर्चनुपर्छ ।
सदरमुकाम धनगढीदेखि दुई दिनको पैदल यात्रापछि पुगिने पहाडी गाउँ मोह्न्याल गाउँपालिकामा सकृय टेलिफोन नेटवर्क नहुदा टेलिफोन सम्पर्क गर्न समस्या परेको स्थानीयको गुनासो छ । पहाडी क्षेत्रमा नेपाल टेलिकमको सिडिएमए सन्चालनमा भएपनि नेटवर्क समस्याका कारण आवाज स्पष्ट नआउने हुँदा खबर आदानप्रदान मा निकै सास्ति हुने गरेको मोहन्याल गाउँ पालिका वार्ड न ४ शान्तिपुरका सुरेन्द्र क्षेत्रीको भनाइ छ ।
यस्तै समस्या पुर्ब पश्चिम राजमार्गबाट दक्षिण ६ किलोमीटरको दुरिमा रहेको घोडाघोडी नगरपालिकामा पनि छ । सो नगरपालिकाको वार्ड न ९ मा पनि उपभोक्ताहरु गुणस्तरीय टेलिफोन सेवाबाट बन्चित रहेका छन् । उता घोडाघोडी नगरपालिकाको वार्ड न ९मा पनि एनसेलको टावर भए पनि भौगोलिक समस्याका कारण आफुहरुलाई उक्त टावर बादरको पुच्छर लौरो न हतियार झै भएको स्थानीय धनबहादुर बोहराले गुनासो पोखे । फोन गर्नको लागि उचो ठाउँको खोजी गर्नुपर्ने, आवज स्पष्ट नआउने जस्ता समस्याबाट स्थानीय आजित छन् ।
नेपाल टेलिकमले भने ति स्थानमा बिधुत् नभएकाले टेलिफोनमा समस्या आउने गरेको जनाएको छ । आउँदो माघ महिनासम्म ति स्थानमा गुणस्तरिय टेलिफोन सेवा सञ्चालन हुने टेलिकमका अधिकारीहरुले दाबी गरेका छन् ।
“