यी ४ कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैन
“
एजेन्सी । भनिन्छ नि- ‘एउटा झूट कुरा लुकाउन सय झूट बोल्नुपर्छ ।’ फेरि त्यही झूटलाई पनि कहाँ धेरै दिनसम्म लुकाउन सकिन्छ र ? आज जसरी तसरी सत्य कुरा लुकाइएला, तर कुनै न कुनै दिन त सत्य सामुन्ने आइ नै हाल्छ । जब घर-परिवार र समाजले त्यो सत्य कुरा थाहा पाउँछन्, तब सबैको सामुन्ने अपमानित हुनुपर्छ । तितो नै किन नहोस् सत्य कुरा लुकाउँदा झन् कष्ट भोग्नुपर्ने हुन्छ ।
मानिस आफ्नो अधिकांश व्यक्तिगत कुराहरूलाई लुकाउन चाहन्छ । व्यक्तिगत कुरा लगायत कुनै गलत काम गरेमा पनि सत्य कुरा बोल्ने हिम्मत गर्दैनन्, झूटको सहारा लिने गर्छन् । तर थाहा पाइराख्नुहोस् है, यी ४ कुरालाई कहिल्यै पनि लुकाउन सकिँदैनः
१. झूट
महाभारतमा कर्णले परशुरामसँग आफू ब्राह्मण हुँ भनेर झूट बोलेका थिए । परशुरामले पनि कर्णलाई ब्राह्मण नै सोँचेर सबै प्रकारका शस्त्र-अस्त्रका ज्ञान दिए । तर, एक दिन कर्ण ब्राह्मण होइनन् भन्ने थाहा पाएपछि ‘सबैभन्दा बढी आवश्यक परेको बेला सबै शस्त्र-अस्त्रको ज्ञान भुल्न परोस्’ भनेर परशुरामले कर्णलाई श्राप दिए । नभन्दै महाभारतको युद्धमा अर्जुनसँग युद्ध गर्ने बेलामा कर्णले ती सबै शस्त्र अस्त्रको ज्ञान बिर्सिए र अर्जुनकै हातबाट उनको मृत्यु भुयो ।
यसबाट पनि के सिक्न सकिन्छ ?
झूटले आफूलाई फाइदा गर्छ भनेर सोँच्नु मूर्खता हो । यो पनि थाहा पाउनुपर्छ कि आफूले बोलेको झूटले सदैव आफैलाई धोका दिन्छ ।
२. छल-कपट
दुर्योधन र उनका मामा शकुनीको धोका र छल-कपटकै कारण महाभारतको युद्ध भएको थियो, जहाँ आफ्नै दाजु-भाइको हत्या गर्नुपरेको थियो । कौरवहरूले पाण्डवहरूलाई पहिल्यै देखि नै सताउने काम गर्दथे, छल-कपटको सिकार बनाउथे । अन्त्यमा पाण्डवहरूकै हातबाट कौरवहरूको मृत्यु भयो ।
‘कर्म’ भनेको यस्तो कुरा हो, जसले तपाईँको हरेक कार्यलाई मध्यनजर गरिरहेको हुन्छ । तपाईँले राम्रो काम गर्नुभएको छ भने नतिजा पनि राम्रै आउँछ । तर, गलत कामको फल कहिल्यै पनि राम्रो हुँदैन । यही नै कर्मको कर्तव्य हो । फेरि छल-कपटलाई पनि धेरै समयसम्म लुकाएर राख्न सकिँदैन । एक न एक दिन त त्यसको नतिजा आफैँले भोग्नैपर्ने हुन्छ ।
३. हत्या
समाचारमा पनि सुन्नुभएकै होला- ‘बलात्कार गरी हत्या गर्ने पक्राउ’, ‘आफ्नै बुवाको हत्या गरी फरार हुने पक्राउ’, आदि-इत्यादि । कसैले जतिसुकै योजना बनाऊन् हत्या गरेर लुकाउनको लागि । समय आएपछि एक दिन हत्यारालाई सजाय अवश्य मिल्छ । जसरी तपाईँको जीवन अमूल्य छ, त्यसरी नै सबै प्राणीको जीवन अमूल्य हुन्छ । कसैको हत्या गर्नुलाई शास्त्रमा ‘अक्षम्य पाप’ भनिन्छ । ‘अक्षम्य’- क्षमा गर्नै नसकिने ।
४. अहङ्कार
जो व्यक्ति अहङ्कारी (घमण्डी) हुन्छन्, उसले आफ्नो घमण्डको लागि कुनै पनि कुकर्म गर्न तयार हुन सक्छन् । तर आफूलाई सज्जन बताउनका लागि उसले जतिसुकै प्रयास गरोस्, एक दिन उसको अहङ्कार सबैको सामुन्ने प्रकट भएरै छाड्छ । उदाहरणको लागि रावणलाई लिन सकिन्छ, दुर्योधनलाई हेर्न सकिन्छ । उनीहरूले आफ्नो शक्तिको घमण्ड गरेकै कारण अन्त्यमा नष्ट भएर जानुपरेको थियो । त्यस्तै, एक दिन पाण्डव भीमलाई आफ्नो शक्तिप्रति घमण्ड जागेको थियो । तर हनुमानको शुद्ध वाणीको कारण उनले आफ्नो घमण्ड त्यागेका थिए ।
“