अत्यधिक चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

कार्तिक २३, मनाङ । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिरै पठनपाठन गराउँदै आएका छन् ।

हिमालको छेवैमा रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैँ बाहिर पठनपाठन गर्दै आएको अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुली बताइन ।

बिहान १० देखि ३ बजेसम्म अलिअलि घाम लाग्ने र घामको ताप रहुन्जेल सहज हुने भएकाले बालबालिकालाई घाममा राखेर पढाउँदै आएको उनले बताइन । यसरी कठिन परिस्थितिमा पनि आफूहरूले विद्यालयको पठनपाठनलाई निरन्तरता दिएको साथै सार्वजनिक बिदामा पनि विद्यालयमा पठनपाठन भएको अन्नपूर्ण मावि मनाङका प्रअ आन्नदराज घिमिरे बताउँछन् ।

नेपालका अधिकांश सरकारी विद्यालय सार्वजनिक बिदाका दिनमा बन्द भए पनि मनाङको माथिल्लो भेगमा रहेका विद्यालयमा पढाइ हुने गरेको पाइन्छ । चिसोका कारण विद्यार्थी र शिक्षकमा स्वास्थ्य समस्या आएकाले चिसोबाट बच्न र बचाउन पनि कक्षाकोठा बाहिर पठनपाठन गर्न बाध्य भएको शिक्षिका टीककुमारी विक बताउँछिन् । यसरी कक्षाकोठा बाहिर अध्यापन गराउँदा विद्यार्थीको पढाइ र सिकाइ कतिको प्रभावकारी होला भन्ने जिज्ञासा जनमानसमा बढेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *