वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच सोलुखुम्बुमा झडप

सुवास दर्नाल, सोलुखम्बु । वाम गठबन्धन र नेपाली काँग्रेसका कार्यकर्ताबीच सोलुखुम्बुको सोताङ्ग गाउँपालिकामा झडप भएको छ । झडपमा परि दुईजना घाइते भएका छन् ।

चुनावी प्रचारप्रसारका क्रममा रहेका दुवै दलका कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन् । झडपमा वाम गठबन्धनका घनश्याम नेपाली र नेपाली काँग्रेस सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ घाइते भएको बताइएको छ । घाइते नेपाली र तामाङको सोताङ्गस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बिहीबारदेखि नै तनावको स्थिति सिर्जना भएको स्थानीय बासिन्दाले बताएका छन् ।

प्राप्त जानकारी अनुसार वाम गठबन्धनले शुक्रवार सोताङ्ग गाउँपालिकामा चुनावी सभा आयोजना तय गरी पोष्टर पमप्लेट टाँस्दै गर्दा नेपाली काँग्रेसका कार्यकर्ताले पोष्टर च्यातेर फालेपछि तनावको स्थिति सिर्जना भएको थियो ।

झडपपछि वाम गठबन्धनको टोलीले नेपाली काँग्रेसका उम्मेदवारसहित कार्यकर्ताले हातहतियार सहित आक्रमण गरेको आरोप लगाएका छन् । यता नेपाली काँग्रेस पक्षले भने आफूहरुको जित सुनिश्चित देखिएकाेले आफूमाथि आक्रमण भएको आरोप लगाएको छ । बाटोमा हिँडिरहेको बेला वाम कार्यकर्ताले एक्कासि ढुगांमुढा गरेका कारण स्थिति तनाबग्रस्त बनेको काँग्रेस पक्षको दाबी छ ।

तनाव भएपछि इलाका प्रहरी कार्यालय, सोताङ्गबाट खटिएको प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिई सुरक्षास्थिति बलियो बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अहिले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता जुबुतर्फ अगाडि बढेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *