रातारात मन्त्री खुस्कँदा उपकूलपति ‘हिस्स’
कार्तिक १, काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठक स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय बनाएपछि प्रतिष्ठानको ४० औँ सिनेट बैंठक प्रभावित भएको हो ।
करिब डेढवर्ष देखि बस्न नसकेको सिनेट यस पटक बस्ने भनिएपनि अन्तिम समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनमा राप्रपालाई समावेश गराउँदै एमाओवादीका तर्फबाट मन्त्री भएकाहरुलाई विनाविभागीय बनाएपछि सिनेट बैठक स्थगित भएको हो ।
प्रतिष्ठानको सिनेट डाक्नका लागि पदाधिकारीहरू एक सातादेखि राजधानीमा कसरत गरिरहेका थिए । प्रतिष्ठानको सिनेट स्वास्थ्य मन्त्रीको अध्यक्षतामा बस्नुपर्ने भए पनि अन्तिम समयमा स्वास्थ्यमन्त्री गिरीराजमणी पोखरेल नै विनाविभागीय मन्त्री भएपछि प्रतिष्ठानका उपकूलपति डा. राजकुमार रौनियार ‘हिस्स’ भएका छन् । प्रधानमन्त्रीले हिजो नै स्वास्थ्य मन्त्रीमा राप्रपाका दीपक बोहरालाई नियुक्त गरेका छन् । बेलुकी ५ बजेसम्म पनि पोखरेलबाट सिनेट बस्ने आश्वासन पाएका प्रतिष्ठानका पदाधिकारी अन्तिम समय आएको राजनीतिक चलखेलबाट अताल्लिएका छन् ।
स्वास्थ्य मन्त्री विनाविभागीय भएपछि सिनेट बस्न नसकिएको भएपछि अन्तिम समयमा आएर स्थगित भएको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. गुरु खनालले बताए । मन्त्रालयमा बस्न लागेको सिनेटका लागि प्रतिष्ठानबाट कर्मचारी कल्याण समाजका अध्यक्ष सहित अन्य सदस्य हिजो मंगलबारै बेलुका राजधानी आएका थिए ।
डेढ वर्षदेखि सिनेट बस्न नसक्दा प्रतिष्ठानका काम कारबाही प्रभावित भएको छ । विशेषगरी प्रतिष्ठानका कर्मचारी, चिकित्सकहरुको दरबन्दी, बढुवा, तलब वृद्धि, उपकरण खरिद लगायतका विषय प्रभावित भएका छन् ।
उपकूलपतिलाई धक्का
प्रतिष्ठानको उपकूलपति हुनका लागि काँग्रेसको कोटाबाट कृष्ण सिटौला, तत्कालीन प्रधानमन्त्री प्रचण्ड, स्वास्थ्यमन्त्री लगायत विभिन्न शक्ति केन्द्रमा १४ करोड बढी खर्च गरेका रौनियार सिनेट बस्न नसकेपछि अफ्टेरोमा परेका छन् । उनले प्रतिष्ठानमा विभिन्न उपकरण खरिद गर्न, एमसिएच, अंकोलोजी भवन निर्माण गर्न भनेर एकल निर्णयबाट विभिन्न खर्च गरेका थिए । ती सबैलाई अनुमोदन गराउन सिनेट आवश्यक थियो । तर, एकाएक आएको राजनीतिक समिकरणले डा. रौनियारको ‘सपना’ चकनाचुर भएको छ ।
पोखरेलसँग रौनियारको वार्गेनिङ
माओवादी केन्द्रबाट प्रतिष्ठानको शिक्षाध्यक्ष भएका डा. गुरु खनाललाई शिक्षाध्यक्ष हुन नदिन उपकूलपति डा. रौनियारले ठुलै पापड बेले । माओवादी केन्द्रको ‘चौवन्नी’ सदस्यता लिएर माओवादीलाई सिध्याउन लागि परेका डा. रौनियारले डा. खनाललाई शिक्षाध्यक्ष बनाउन स्वास्थ्यमन्त्री पोखरेलसँग सिनेट अनुमोदनको वार्गेनिङ गरेका थिए । यसका लागि मन्त्री पोखरेल र डा. रौनियारले प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. विक्रम प्रसाद श्रेष्ठलाई उनको पदावधी सकिनु साता अघि नै राजीनामा दिन समेत लगाए ।
मन्त्री पोखरेलका विस्वासपात्र डा. खनाललाई डा. रौनियारले शिक्षाध्यक्षमा सिफारिस गर्ने, त्यसपछि मन्त्रीले सिनेटबाट २ अर्ब १८ करोडको मातृशिशु भवन, करिब ४ अर्बको क्यान्सर र मुटु रोग भवनको गुरु योजना, इमरजेन्सी, आइसियू, डायग्नोष्टिक सेवा लगायत ३० करोडको उपकरण खरिद अनुमोदन गराउनुपर्ने भद्र सहमति भएको थियो । तर, सिनेट बस्ने अघिल्लो दिन नै प्रधानमन्त्रीले माओवादीका मन्त्रीहरुलाई विनाविभागीय मन्त्री बनाएपछि रौनियारको ‘कूटिक चाल’ असफल भयो ।
डा. रौनियारले यस पटकको सिनेटमा कर्मचारी, डाक्टर, विद्यार्थी सबैका सङ्गठनहरूलाई समावेश गराउने र सिनियर रेसिडेन्टहरुका विषय पनि अनुमोदन गराउने भनेर कर्मचारी, चिकित्सकहरुलाई विश्वास दिलाएर गत महिना प्रतिष्ठानमा जारी आन्दोलन तुहाएका थिए । अहिले सिनेट नै ढाक्न नसकेपछि प्रतिष्ठानका कर्मचारीहरू उपकूलपति प्रति मुर्मुरिएका छन् ।
राप्रपा ताक्दै रौनियार
माओवादी मन्त्रीबाट कुनै पार नलागेपछि डा. रौनियार नयाँ स्वास्थ्यमन्त्री दीपक बोहरालाई खुसी पार्न यति बेला राप्रपाका स्थानीय नेता हुँदै राष्ट्रिय नेताहरुका घरघर चहार्दै छन् । उनले मन्त्री बोहरालाई प्रभावमा पारेर तत्काल दुई चारदिन भित्रै सिनेट डाक्ने योजना बनाएका छन् । यसका लागि उनले सुनसरी खनारका राप्रपाका नेता रोहीत कार्कीलाई प्रयोग गरेका छन् । उनले कार्कीलाई जसर पनि मन्त्रीलाई मिलाईदिनु पर्यो भन्दै लम्पसार नै परेका छन् । तथापि, डा. रौनियारको नियत भलिभाँती बुझेका मन्त्री बोहराले उनलाई तत्काल सिनेट बस्न नसक्ने सङ्केत दिएपछि डा. रौनियार अध्यारो मुख लाएर फर्किएका छन् ।
काँग्रेस आगो
कांग्रेसी कोटाबाट उपकूलपति भएका डा. रौनियारको व्यवहारका कारण नेपाली काँग्रेस आगो भएको छ । दाइ गौरी शङ्कर रौनियार काँग्रेस भएकै कारण करोडौं बुझाएर उपकूलपति भएका डा. रौनियारले प्रतिष्ठानमा स्थापना कालदेखि कार्यरत वरिष्ठ चिकित्सक र कर्मचारीलाई पाखा लगाउँदै विभिन्न ११ पद मध्ये ९ ओटा पदमा माओवादी निकटलाई नियुक्त गरे । उनले प्रतिष्ठानको शिक्षाध्यक्ष देखि डीन, सहायक डीन लगायत ९ ओटा पदमा माओवादी निकट व्यक्तिलाई नियुक्त गरेपछि प्रतिष्ठानमा तनाव बढ्दै गएको छ । उपकूलपतिको यस्तो कदम पछि प्रतिष्ठानबाट राम्रा र अनुभवी चिकित्सक धमाधम बाहिरीने क्रम बढेको छ ।
डा. रौनियारले पदिय दुरुपयोग यतिसम्म गरेका छन् की सदैव प्रतिष्ठानको हितमा लाग्ने यस अघि सधैँ प्रतिष्ठानको सिनेट हुने पूर्व उपकूलपति डा. शेखर कोइरालालाई हटाएर उनको ठाउँमा डा. लोकविक्रम थापालाई सिनेटर बनाएका छन् । उनले डा. कोइरालालाई सिनेटरबाट हटाएपछि यति बेला कांग्रेसी बृत्तमा उपकूलपतिको चरित्र उदाङ्गो भएको छ । कतिपय केन्द्रीय तहका कांग्रेसीहरुले ‘जुन थालमा खायो त्यही ….भन्दै उपकूलपति डा. राैनियारलार्इ गाली समेत गर्न थालेका छन् ।
अख्तियार के गर्दैछ ?
तीन महिना अघि प्रतिष्ठानबाट रेडियोथेरापी उपकरण खरिदमा व्यापक चलखेल भएको भन्दै टेण्डर प्रक्रियाका सम्पूर्ण फायलहरु नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले के गरिरहेको छ कुनै जानकारी छैन । आयोगका इटहरी क्षेत्रीय कार्यालयका तत्कालीन प्रमुख प्रेमप्रसाद भट्टराईले अनुसन्धानमा चलखेल भएको देखिएको र थप अनुसन्धानका लागि केन्द्रमा पठाएका फायलहरु अहिले गायब भएका छन् । आयोग स्रोतका अनुसार वीपी प्रतिष्ठानका फायलहरु नखोलीकनै लुकाईएको छ ।
प्रतिष्ठानमा छापा मारेका आयोगका इटहरी प्रमुख भट्टराईलाई समेत अख्तियारले काठमाडौँ बोलाएपछि अनुसन्धान कमजोर भएको छ ।