मोरङ क्षेत्र नं ५ को निर्वाचन रोचक बन्दै
“
प्रभाषचन्द्र झा, विराटनगर । निर्वाचनको मिति नजिकिन थालेपछि मोरङमा चुनावी सरगर्मी बढेको छ । छ वटा संसदीय क्षेत्र भएको मोरङमा क्षेत्र नं ५ को चुनावी प्रचार प्रसार विकास निर्माणका साथै संविधान संशोधनको विषयमा बढी केन्द्रित भएका छन् ।
यस क्षेत्रमा सबैभन्दा बढी मधेसी मतदाताको सङ्ख्या भएकाले प्राय सबै उम्मेदवारले संविधान संशोधनका विषयलाई प्रसार प्रचारको मुख्य आधार बनाएर मतदातालाई आकर्षित पार्न तल्लीन देखिन्छन् । मोरङको राजनीतिमा राम्रो पकड राखेका युवा उम्मेदवारका साथै पञ्चायतको स्थापनाकालदेखि नै मोरङको राजनीतिमा सक्रिय रहेका वृद्ध उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा रहेकाले निर्वाचन बढी रोचक हुने देखिएको छ ।
वि सं २०६४ को संविधानसभाको निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा दोस्रो निर्वाचनमा उपेन्द्र यादव नेपाली काँग्रेसका उम्मेदवार अमृतकुमार अर्यालबाट पराजित भएका थिए । त्यसपछि यो क्षेत्रको चर्चा राष्ट्रव्यापी रूपमा भएको थियो ।
उपेन्द्र यादव मोरङबाट उम्मेदवारी मनोनयन नगरेको विषय पनि सर्वसाधारण मतदाताको बिचमा चर्चा परिचर्चा भइरहेकाे छ । २०७० सालको निर्वाचनमा मोरङमा नौवटा संसदीय क्षेत्र थियो तर २०७४ सालको निर्वाचनमा मोरङ अब ६ वटा संसदीय क्षेत्रमा मात्र सीमित भएको छ । २०७० सालको संविधानसभा निर्वाचनमा तत्कालीन क्षेत्र नं ४ बाट नेकपा माओवादी केन्द्रबाट शिवकुमार मण्डल विजयी भएका थिए । उनी पुनः मोरङबाट निर्वाचित हुनका लागि वाम गठबन्धनका तर्फबाट क्षेत्र नं ५ बाट उठेका छन् । यसका साथै सङ्घीय समाजवादी फोरम नेपालबाट राजकुमार यादव पनि चुनावी मैदानमा छन् । उनी पार्टीको जिल्ला अध्यक्ष समेत हुन् ।
नेपाली काँग्रेसबाट अमृतकुमार अर्याल, वाम गठबन्धनबाट शिवकुमार मण्डल र सङ्घीय समाजवादी फोरमबाट राजकुमार यादवबीच त्रिकोणात्मक सङ्घर्ष हुने प्रबल सम्भावना देखिएको भए पनि मोरङको राजनीतिको पुरानो खेलाडी ७४ वर्षीय बद्रीप्रसाद मण्डल राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवार भएकाले निर्वाचन रोचक बनेको छ । यसका साथै सातजना उम्मेदवार रहेको सो क्षेत्रबाट देशभक्त जनगणतान्त्रिक मोर्चाबाट अमोद इमजन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीबाट कुर्वान मियाँ र स्वतन्त्र उम्मेदवारका रूपमा अनिताकुमारी ढकाल छन् । उनीहरू पनि चुनावी मैदानमा जोडतोडका साथ प्रचारप्रसारमा जुटेकाे देखिन्छ । यस क्षेत्रमा कूल ८९ हजार २८७ मतदाता छन् ।
“