राष्ट्रियता, प्रजातन्त्र र समाजवादका विषयमा पाठ नसिकाए हुन्छः देउवा
काठमाडौँ: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपलिकाको मतगणनाका क्रममा भएको अस्वाभाविक घटनामा निर्वाचन आयोगले गरेको निर्णयलाई स्वीकार गर्ने बताउनु भएको छ।
व्यवस्थापिका-संसद्को आजको बैठकमा विशेष सम्बोधन गर्दै उहाँले मतगणना कि मतदान भन्ने विषय अदालतमा प्रवेश गरिसकेकाले आफ्नो थप केही धारणा नरहेको बताउनुभयो। आगामी असार १४ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउन आफू र नयाँ गठन हुने सरकार प्रतिबद्ध रहने बताउँदै उहाँले आगामी माघ भित्र तीनै चरणको निर्वाचन सम्पन्न हुने र गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादका विषयमा आफ्नो पार्टीलाई पाठ सिकाउनु जरुरी छैन भन्दै नेता देउवाले सार्वभौमसत्ता र अखण्डतामा कोही कसैसँग सम्झौता हुनै नसक्ने धारणा राख्नुभयो।
संविधान कार्यान्वयनका निम्ति पहिलो सर्त भनेकै स्थानीय तहको निर्वाचन हो भन्दै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले असहज अवस्थामा पनि राष्ट्रिय दायित्व पूरा गर्नुभएकामा धन्यवाद दिनुभयो। उहाँले देश र जनताका आवश्यकतालाई ख्याल गरेर मुलुक अगाडि बढेको बताउँदै अब राष्ट्रिय दायित्व पूरा हुने र गरिने विश्वास प्रकट गर्नुभयो।