सिङ्गो वडा नै काँग्रेसमा प्रवेश
“
मङ्सिर २, मोरङ । ‘टाढाको देउताभन्दा नजिकको भूत प्यारो’ भने जस्तो यति बेला मोरङ क्षेत्र नम्बर–३ का जनता यस पटक स्थानीय उम्मेद्वारलाई प्रतिनिधिसभा निर्वाचनमा जिताएर पठाउने निष्कर्षमा पुगेका छन् । बाम गठबन्धनबाट तेह्रथुमका भानुभक्त ढकाल मोरङ–३ मा आइरहँदा स्थानीय मतदाताहरुले उनलाई ‘टुरिष्ट’ उम्मेद्वारको संज्ञा दिँदै नेपाली काँग्रेसका उम्मेदवार डा. सुनिल शर्मालाई यस पटक जिताउने अभियानमा पुगेका हुन् ।
मोरङ क्षेत्र–३ का कनेपोखरी, पथरी, बयरबन, रमाइलो, बेलबारी, विराटचौक लगायतका क्षेत्रका जनताले विगतमा बाहिरबाट आएका प्रतिनिधिहरूले पनि कुनै काम नगरेकोले यस पटक आफ्नै गाउँघरमा हुर्किएको र स्थानीय क्षेत्रको सुख दुःख बुझ्ने नेतृत्व चयन गर्न लागेका हुन् । मङ्सिर २१ गतेको दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन नजिँकिँदै गर्दा नेपाली काँग्रेसबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका डा. शर्मा घरदैलो कार्यक्रममा जाँदा अधिकांश जनताले यस पटक नेतृत्व परिवर्तन गर्ने चाहना राखेका हुन् ।
अहिले मोरङ–३ मा विभिन्न पार्टी परित्याग गरेर दैनिक दर्जनौको सङ्ख्यामा नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लर्को लागेको छ । हिजो शुक्रवार मात्रै पथरीशनिश्चरे–३ वडाका सिङ्गो गाउँ नै नेपाली काँग्रेसमा प्रवेश गरेपछि यस पटक बाम किल्ला तोडिने परिस्थिति बनेको छ । सो वडाबाट एमालेका पूर्व वडा संयोजक समेत रहिसकेका नरमान घिसिङको संयोजकत्वमा सिङ्गो गाउँ नै काँग्रेसमा प्रवेश गरेको हो । तीन सय भन्दा बढी घरिधुरी रहेको उक्त गाउँका बासिन्दाहरुले एमालेले पटक–पटक झुक्याएकोले यस पटक एमालेको भ्रममा नपर्ने बताए । ‘विगतमा हामीले एमालेलाई राम्ररी साथ दियौं, तर, पार्टीले यो क्षेत्रको विकासका लागि केही सोचेन तर, यस पटक पुनः त्यही गल्ती दोहोरिने छैन ।’ स्थानीय नरमान घिसिङले भने । ‘एक त चिन्दै नचिनेको मान्छे र अर्कातिर एमालेले यहाँबाट जितेर गएपछि विकासका नाममा एक सिन्को भाँचेन । अब पार्टी होइन व्यक्ति हेरेर भोट हाल्छौं ।’ उनले भने ।
पथरीशनिश्चरे–३ को चुनावी सभालाई सम्बोधन गर्दै पूर्व महाधिवेशन प्रतिनिधि पर्शुराम कार्कीले यो क्षेत्रबाट एमाले पत्तासाफ भएको बताए । ०४८ सालदेखि पटक–पटक एमालेले राज गरे पनि विकासका नाममा जनतालाई झुक्याउने खेल बाहेक केही नभएको उनको तर्क थियो । कार्यक्रममा एमालेका युवा प्रकाश लिम्बूसहित पाँच दर्जन बढीले पार्टी परित्याग गरेर काँग्रेसमा प्रवेश गरेका थिए । नेता लिम्बूले पार्टीले निर्वाचनमा स्थानीय नेता छनौट नगरेको भन्दै बाहिरबाट आएका प्रतिनिधिहरूले विकास गर्न नसक्ने दाबी गर्दै त्यही भएर स्थानीय व्यक्तिलाई सहयोग गर्न आएको जिकिर गरे । ‘विगतको इतिहासले पनि पुष्टि गरेको छ की बाहिरबाट आएकाले हाम्रो विकासका लागि केही गर्न सक्दैनन्, त्यस कारण यस पटक एमाले यहाँबाट पत्ता साफ हुन्छ ।’ उनले भने ।
यता, बाम गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका एमालेका भानुभक्त ढकाल भने डा. शर्माको चुनावी अभियान नियालेर मङ्सिर ३ गतेदेखि व्यापक रूपमा चुनावी सभा आयोजना गर्ने तयारीमा छन् । यसका लागि एमालेले (मङ्सिर ३ गते) एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल समेतलाई बोलाएर बृहत् सभा गर्ने तयारी गरेको स्रोतको दाबी छ ।
शुक्रवार मात्रै पथरीशनिश्चरे–९, र ३ बाट तीन सय पचासभन्दा बढी नेता कार्यकर्ताहरू एमाले–माओवादी पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए ।
“