जनता भन्छन् ‘गच्छदारलाई हेर्यौं पटकपटक चौधरीलाई हेर्छौं यस पटक’
“
मङ्सिर १, सुनसरी । सत्ता र शक्तिका वरपर चार दशक विताएका नेपाली काँग्रेसका भेट्रान नेता विजयकुमार गच्छदारलाई प्रतिनिधिसभा निर्वाचनमा महिला अधिकारवादी नेतृ भगवती चौधरीले ‘काउन्टर’ दिएकी छिन् । दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन फोरम लोकतान्त्रिकका गच्छदारसँग (जालझेलका कारण) झिनो मतान्तरले पराजित चौधरीले यस पटक कडा चुनौती पेस गरेकी छिन् ।
ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) सञ्चालन गरी गाउँगाउँमा महिलालाई आत्मनिर्भर र स्वरोजगार बनाएकी चौधरीको पल्ला भारी भएपछि गच्छदारलाई यस पटक फोरम लोकतान्त्रिक परित्याग गरी पुनः नेपाली काँग्रेसमा फर्कन बाध्य हुनुपर्यो ।
अहिले नेपाली काँग्रेसबाट प्रतिनिधिसभा निर्वाचनमा लडिरहँदा गच्छदारलाई ‘मधेसको गद्दार’ भन्दै आलोचना गर्न थालेका छन् । सधैँ पद र शक्तिमा रहनुपर्ने गच्छदारले फोरम लोकतान्त्रिकलाई काँग्रेसमा विलय गराएको, पद र पैसाका लागि पार्टी फुटाएको सम्म आरोप लागेको छ । उनलाई समकक्षी मधेशवादी दलहरूले ‘राजनीतिक आस्था’ नभएको व्यक्ति भन्दै मधेसमा पत्तासाफ गर्ने रणनीति मधेसी जनाधिकार फोरम र फोरम लोकतान्त्रिकले लिएका छन् । ‘गच्छदार मधेसका भगाैडा हुन्, उनले हामीलार्इ धाेका दिए, यसपटक हामी उनलार्इ धाेका दिन्छाैं ।’ १० वर्ष अघि मधेशी जनाधिकार फाेरम जन्माउँदा गच्छदारसँगै हिँडेकाहरू भन्छन् ।
सुनसरी क्षेत्र नं. ३ बाट चार दशक बढी राजनीति गरिसकेका गच्छदारले आफ्नै क्षेत्रको विकासका लागि भने केही नगरेको स्थानीयहरुको दुखेसो छ । पाँचपटक सम्म संसदीय निर्वाचनमा सोही क्षेत्रबाट जितेका गच्छदारले दुहवी, बुज्रु, औराबनी जस्ता क्षेत्रको विकासमा कुनै ठूूलो काम नगरेको जनतालाई गरिबीको खाडलमा राखेर आफ्नो महल ठड्याएको आरोप छ ।
तर, यस पटक सुनसरी–३ मा जनताले नेतृत्व परिवर्तनको सङ्केत देखाएका छन् । चार दशकसम्म एकैखाले नेतृत्व र विकास भोगेका जनताले यस पटक पनि नयाँ नेतृत्व नआए आफुहरुको कुनै विकास नहुने जिकिर गरेका हुन् । ‘हामीले विगतमा एउटै व्यक्तिलाई पटकपटक सत्तामा पुर्याएर ठुलो गल्ती गर्यौँ । यस पटक जनता जागि सकेका छन् त्यस्तो गल्ती दोहोरिँदैन ।’ स्थानीय जीति चौधरी भन्नुहुन्छ ।
स्थानीय मुना शिवाकोटी पनि यस पटक नयाँलाई चान्स दिनुपर्ने बताउनुहुन्छ । सामाजिक, आर्थिक रूपमा पछि परेका जनताको जिवनस्तर उकास्न र यहाँको कृषि प्रणालीलाई ब्यवसायीकरण गर्ने भिजन भएका व्यक्तिलाई शासन सत्तामा पुर्याएमा यहाँको विकास हुने उहाँको ठहर छ । ‘मुख्य रूपमा युवा, महिला, तथा कमजोर आर्थिक अवस्था भएका समुदायको आर्थिक अवस्था सुधार्न र उनीहरूलाई यहीँ स्वरोजगार बनाउन सकेमात्र यो ठाउँको विकास हुन्छ ।’ उहाँ भन्नुहुन्छ–‘हामीले विगतमा जसलाई जितायौं उसले आफ्नो व्यक्तिगत विकास बाहेक केही सोचेन । अबपनि नयाँ भिजन भएको व्यक्तिलाई नेतृत्वमा पुर्याउन सकेनौं भने हामी सदियौं पछि परिरहने छौँ ।’
सुनसरी–३ को यो क्षेत्र कृषि उत्पदनका लागि अत्यन्त उर्वर भूमि हो । प्रधानमन्त्री आधुनिक कृषि परियोजनाले समेत यो क्षेत्रलाई पकेट क्षेत्र बनाएपनि यहाँका अधिकांश किसानहरू उपर्युक्त सिचाईंका अभावले तड्पिनु पर्दछ । यसका साथै यो क्षेत्र सुनसरी–मोरङ करिडोर समेत भएकोले यहाँ ठुला उद्योग करकारखाना समेत छन् । तथापि, ती उद्योगलाई ब्यवसायीकरण गर्न तथा ती उद्योगहरुमा कार्यरत मजदुरहरुका हक अधिकार सुनिश्चित गर्न यहाँको नेतृत्व कमजोर रहेको ग्रामीण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) की अध्यक्ष भगवती चौधरीको भनाई छ । ‘जसले ४० वर्षदेखि यो क्षेत्रमा शासन गरिरहेछ उसले यहाँका किसान, मजदुर, महिला, बालबालिकाको विकासमा कुनै योजना बनाएन । अहिलेपनि यहाँका ५० प्रतिशत जनताहरुसँग दिगो आयस्रोत छैन ।’
आउँदो मङ्सिर २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा बाम गठबन्धनका लागि नेकपा एमालेबाट सर्वसम्मत उम्मेदवार हुनु भएकी चौधरी यहाँका जनताको आर्थिक स्तर उकास्ने हो भने, उनीहरूलाई आत्मनिर्भर बनाउन जरुरी रहेको ठान्नुहुन्छ । ‘यहाँको मुख्य समस्या भनेकै कमजोर आर्थिक अवस्था हो, युवाहरू बेरोजगार छन्, केही शिक्षित युवाहरुपनि खाडी मुलुकमा गएर श्रम बेच्न बाध्य छन्, यदि ती युवाहरूलाई यहीँ काम गर्ने अवसर प्रदान गर्ने हो भने, यो क्षेत्रको विकास गर्न कुनै समस्या छैन । मैले यीनै विषयलार्इ प्राथमिकतामा राखेर यसपटक उम्मेद्वारी दिएकी हुँ’
चौधरीकै जस्तो विचार राख्नुहुन्छ स्थानीय गंगा खरेल । पेसाले दुग्ध ब्यवसाय गर्दै आउनुभएकी खरेल यहाँको आर्थिक विकासमा केही सामाजिक सांस्कृतिक परिवेश पनि जिम्मेवार रहेको ठान्दै महिलाहरूलाई घरभित्र नै राख्नुपर्छ भन्ने मान्यताले पनि असर गरेको ठान्नुहुन्छ । ‘धेरै महिलाहरू अझैपनि घरभित्रै छन्, यदि उनीहरूलाई आर्थिक आय आर्जनका काममा लगाउन सकियो,उनीहरूको घरेलु सिपलाई ब्यवसायीकरण गरियो भने आर्थिक अवस्था सुधार्न गाह्रो छैन ।’
महिलालाई आर्थिक रूपमा अधिकार दिइयो भने, उनीहरुमाथी हुने घरेलु हिंसा समेत कम हुन जान्छ । भने, उनीहरू आफ्नो हक अधिकार लिनका लागि पनि सक्षम बन्दै जान्छन् । यही कुरालाई विचार गरेर महिला अधिकारवादी नेतृ चौधरीले २०५१ सालबाट फरवार्ड नेपालको स्थापना गरी महिलाहरूको लागि आर्थिक शशक्तिकरणको अभियान नै चाल्नु भयो । गाउँघरमा छरिएर रहेका सानासाना पुजिँलाई एकत्रित गरी महिलाहरूलाई विभिन्न सिपमलक तालिम समेत दिएर उनीहरूलाई आर्थिक लगानी गरिदिएपछि अहिले यहाँका अधिकांश महिलाहरू स्वाबलम्बी भएका छन् ।
फरवार्ड नेपालको लघुवित्त कार्यक्रमले यहाँका महिलामा आर्थिक पुहँच वृद्धि त गरेको छ नै, उनीहरूलाई घरेलु महिला हिंसाबाट समेत मुक्त गरेको छ । ‘पहिले श्रीमानले मात्रै कमाएर ल्याउने, दिनदिँनै जाँड रक्सी खाएर कुटपिट गर्ने जस्ता घटना अहिले धेरै कम भएका छन् । महिला आफैँले कमाउन थालेपनि पुरुषहरू जिम्मेवार भएको पाएका छौँ ।’ नेतृ चौधरी भन्नुहुन्छ ।
फरवार्ड नेपालमा अहिले ३४ जिल्लाका करिब दुई लाख पच्चिस हजार महिला आबद्ध छन् । सुनसरी क्षेत्र नं. मा मात्रै ३० हजारको हाराहारीमा सङ्गठित महिला सदस्य रहेको फरवार्ड नेपालका दुहवी कार्यालय प्रमुख चन्द्र चौधरी भन्नुहुन्छ ।
फरवार्ड नेपालले यहाँका महिलाहरूलाई सङ्गठित गर्दै उनीहरूको सिप दक्षतालाई अभिबृद्धि गर्न समयसमयमा विभिन्न तालिम समेत दिने गरेको तथा ग्रामीण महिला जो शिक्षाबाट वञ्चित भएका थिए उनीहरूलाई साक्षर गराउन विभिन्न शिक्षामुलक कार्यक्रम पनि सञ्चालन गर्ने गरेको छ ।
२०४६ सालपछि हाम्रो राजनीतिक व्यवस्थामा कैयौँ फेरबदल आए, पञ्चायती व्यवस्था, बहुदलिय व्यवस्था, शाही शासन व्यवस्था, लोकतन्त्र, गणतान्त्रिक व्यवस्था समेत भोगी सकेका यहाँका जनताले कुनै पनि व्यवस्थाबाट परिवर्तन पाएनन् । लगातार एउटै व्यक्ति सत्तामा ररिरहे जनताका पिर मर्का बुझ्छन् र आफ्नो गाउँठाउँको विकास गर्लान् भन्ने यहाँका जनताको सोच थियो । त्यही भएर गच्छदारलाई पटकपटक सत्तामा पुर्याए । तर, उनले जनताको अभिमतलाई शिरोपर गरेनन् । त्यसैले यस पटक उनीहरू भन्दैछन् । ‘गच्छदारलाई हेर्यौं पटकपटक चौधरीलाई हेर्छौं यस पटक’
“