डा. शर्मा रफ्तारमा, भानुभक्त लखतरान !

मङ्सिर ८, मोरङ । आगामी मङ्सिर २१ गते हुन लागेको प्रतिनिधी तथा प्रदेश सभाको दोस्रो चरणको चुनाव नजिँकिदै छ । ठूला, साना सबै दलका नेताहरु घर घरमा भोट माग्न दुई हात जोडेर पुगिरहेका छन् । तर, मोरङ क्षेत्र नम्बर–३ को चुनावी माहोल भने अरु क्षेत्रभन्दा बेग्लै किसिमले तातेको छ ।

२१ गते हुने दोस्रो चरणको निर्वाचन नजिकिदै जाँदा मोरङ क्षेत्र नम्बर–३ मा बामगठबन्धनबाट प्रतिनिधिसभातर्फ उम्मेद्वार बनेका एमाले सचेतक भानुभक्त ढकाल भने लखतरान झै बनेका छन् । स्थानीय जनताले ‘टुरिष्ट’ उम्मेद्वार र एमालेले सो क्षेत्रमा पटक पटक जित हासिल गरेपनि अहिलेसम्म केही गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेपछि उनी हच्किएका छन् भने, कांग्रेसबाट प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेद्वार बनेका डा. सुनिल कुमार शर्मा चाहिँ आफ्नै रफ्तारमा चुनावमा व्यस्त छन् ।

मङ्सिर ४ गते एमाले अध्यक्ष केपी शर्मा ओलीसहित गायक गायिकालाई समेत ल्याएर विराटचौकमा उधुम मच्चाएर चुनाव प्रचार प्रसार थालनी गरेका ढकाल भने ‘इन्तु न चिन्तु’ झै बनेको बेलबारीका स्थानीय बासिन्दाहरु बताउँछन् । चुनाव अवधिभर आफ्नो दाईको निवास विराटचौंकमा बसेका उनी काँग्रेसले ३ नम्बर क्षेत्रमा ‘लाल किल्ला’ तोड्ने भएपछि कार्यकर्तालाई तीब्र परिचालन गराईरहेका छन् ।

तर, उम्मेद्वार डा. शर्मा भने अब यो क्षेत्रको मुहार फेर्ने दिन आएको बताउँछन् । आफ्नो अर्जुन दृष्टि अब स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याउने र गरिब तथा निमुखा जनताले उपचार अभावबाट अकालमै ज्यान गुमाउने दिन अन्त्य भएको घोषणा गर्दै शर्मा भन्छन्,‘यो क्षेत्रका लागि हामी तीनै जना युवा उम्मेद्वार छौँ । उम्मेद्वार बन्दै गर्दा हामीले यो क्षेत्रको विकासका लागि आ–आफ्नो जिम्मेवारी तोकिइसकेका छौँ । यहाँको मूल समस्या ः सुकुम्बासी समस्या, चिसाङ र डाँस खोलाको विपत्ति समाधान गर्नका लागि तत्कालिन बसन्त भट्टराईको अध्यक्षतामा रहेको आयोगको फाइलहरु पनि छानविन गराउने योजना अघि बढाइसकेका छौँ ।’

चुनावी अभियानका क्रममा ढकाललाई त्यहाँका केही स्थानीय बासीन्दाहरुले तपाई त ‘टुरिष्ट’ उम्मेद्वार हुनुहुन्छ रे ! भन्ने प्रश्न गर्दा उनी आफू यहाँकै सुन्दरहरैँचाको स्थानीय बासीन्दा भनेर जवाफ दिने गरेको पनि स्थानीयहरुले बताउँछन् । ताप्लेजुङ निवासी ढकाल काठमाडौँ महानगरपालिका–१४ मा आफ्नै निजी निवासमा बस्दै आएका छन् । पार्टीले ताप्लेजुङमा नभई मोरङका लागि टिकट दिएपछि उनलाई चुनावमा लड्न मुस्किल परेको छ ।

साता दिनअघिदेखि जोडतोडका साथ चुनावी अभियानलाई तीब्रता दिँदै आएका ढकालले भोट माग्ने क्रममा ‘टाढाको देउता भन्दा नजिकको भूत काम लाग्छ’ भन्दै स्थानीयहरुले आक्रोश व्यक्त गर्दै आएका छन् । मूलतः ०४८ सालदेखि यस क्षेत्रमा एक छत्र राज गरेको एमालेले विकासको कुनै मुहार हेर्न नपाएको गुनासो छ ।

उता, उम्मेद्वार डा. सुनिल शर्मालाई भने स्थानीय जनताको निम्तो नै भ्याइ नभ्याइ देखिन्छ । दैनिक एमाले–माओवादी परित्याग गरेर काँग्रेसमा भित्रिनेको संख्या पाँच सय भन्दा बढी छ भने मङ्सिरमा पाकेकोे धान नै काट्न छाडेर शर्माको अुनहार नै हेर्नका लागि स्थानीयहरुले उनलाई खबर पठाउने गरेका छन् ।

किन हाइ हाई छन्,डा.शर्मा
विगत ३ महिना देखि विराटनगर मेडिकल टिचिङ् हस्पिटलबाट आफ्नो क्षेत्रको गाउँ गाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै बिरामीहरुको निःशुल्क उपचार गराउँदै आएका डा. शर्मा अहिले यहाँका जनताको प्यारा छन् । बेलबारीका स्थायी बासिन्दा डा. शर्मा यो क्षेत्रका परिचित व्यक्ति हुन् भने पहिलोचोटी राजनीतिमा बाहिर छाएका छन् । विद्यार्थी कालदेखि नै सुक्ष्म ढंगले राजनीतिमा होमिएका डा. शर्मा अब भने खुलेरै राजनीतिमा आएको बताउँछन् । यही क्षेत्रमा हुर्किएर सडकको जीवन जिउँदै नोबेल मेडिकल कलेज सञ्चालन सम्म आइपुग्दा कम संघर्ष गर्नु नपरेको उनी बताउँछन ।

मेडिकल कलेजमार्फत् समाजसेवामा योगदान पुर्याएका उनी उम्मेद्वार बनेपछि विराटनगर मेडिकलको प्रमुखबाट राजिनामा दिएका उनले हालका राष्ट्रपति विद्यादेवी भण्डारीको जिल्ला भोजपुर, ओखलढुङ्गा, सोलुखुम्बु लगायतका जिल्लामा स्वास्थ्य शिविर खडा गरेर बिरामीको उपचार पनि गरिसकेका छन् । उनी भन्छन्,‘विद्या दिदीकै गाउँमा हामीले वृद्धवृद्धा तथा अपांगहरुको उपचार गर्यौँ । के हामीले व्यापारकै लागि त्यहाँ गएका हौ त ? एमालेको मनमोहन अस्पताल पनि छ सबैले यसरी नै समाजमा योगदान पुर्याए त राजनीतिको यात्रा मोडिने थियो नि !’

मोरङ–३ नम्बर क्षेत्रलाई पूर्ण स्वास्थ्य क्षेत्र घोषणा गर्ने प्रतिबद्धता जनाएका उनीमाथि यस क्षेत्रका बासिन्दाहरुको चिन्ता एउटै मात्र देखिन्छ, ‘साँच्चिकै डा. शर्माले यो सेवा कहिलेसम्म दिन्छन् ? ’डा. शर्माले यसबारेमा आफूले पूर्ण तयारीका साथ यो क्षेत्रलाई पूर्ण स्वास्थ्य क्षेत्र घोषणा गर्न आफूले अभियान थालनी गरेको बताउँछन् । ‘कुरा होइन काम गर्ने हो । राम्रो कामको थालनी गर्दा विरोध हुन्छन् । अनेक हण्डर खेप्नुपर्छ ।’ उनी भन्छन्, ‘साहसिलो व्यक्ति त्यही हो जो डरका बाबजुद पनि अघि बढ्छ ।’

गत ५ गते आइतबार स्वास्थ्य शिविरमार्फत् अस्पताल पुगेका बिरामीहरुले निःशुल्क स्वास्थ्य चेकजाँच गरेर घर फर्कंदै गर्दा सुन्दरहरैँचा–१, पचाममा ढुङ्गा मुढा गरेर वृद्धवृद्धासहित सात जना बिरामीलाई घाइते बनाउने एमालेको कुबुद्धि देखेर आजित भएको उनी बताउँछन् । ‘निजी तवरबाट अस्पतालले यति सेवा पुर्याउँछ भने राज्यले पहल गरे देश परिवर्तन हुन सकेण्ड लाग्दैन । गरिब तथा निमुखा वा जो सुकै जनताले तड्पिएर अकालमै ज्यान गुमाउनु पर्दैन । तर, एमालेले न गरेको देख्छ न सिक्छ ।’

आफूलाई व्यापारीको बिल्ला भिराएको प्रति उनले रोस प्रकट गरे । ‘ व्यापार व्यवसाय जो कसैको हुन्छ । व्यापार नगरी खान पुग्दैन । बाँच्नका लागि त काम गर्नैपर्छ । त्यसैले म आफू मात्रै धनाढ्य बनेर बस्ने सोख थियो भने किन समाज सेवा गर्थे ।’ उनी भन्छन्, ‘देखाउन र चुनाव जित्नका लागि मैले यि समाजसेवाका काम गरेको हो भने त्यसले भलो गर्दैन ।’

आफू चुनावमा उम्मेद्वार बनेर आउँछु भन्ने नसोचेको पनि उनी प्रष्ट्याउछन् । ‘म राजनीतिमा होमिएर चुनाव लड्ने एकरत्ति पनि सोचेको थिइन । तर, उम्मेद्वार बन्न बाध्य भए । किनकि आफ्नो क्षेत्रको भूमीमा ‘टुरिष्ट’ उम्मेद्वारले लात हानेको सहन सकिन । लोकतान्त्रिक धारमा विश्वास गर्ने मलाई काँग्रेसले टिकट उपलब्ध गराउने निश्चित भइसक्दासम्म पनि म अन्योल नै थिए ।’ अन्त्यमा स्थानीय बुद्धिजीवि लगायत सबैसँग परामर्श गरेपछि आफू उम्मेद्वार बनेको उनी बताउँछन् ।

एमालेको ‘मुखमा बुझो’
अर्कातिर यो क्षेत्रमा ०४८ देखि एक छत्र राज गरेको एमालेले स्थानीय नेताहरुलाई टिकट नदिएर अपमान गरेको उनले आरोप लगाए । ‘एमालेले कुनै उम्मेद्वार नपाएपछि तेह्रथुमबाट भानुभक्त ढकाललाई काखी च्याप्यो । उनी घुम्न जानुपर्ने पोखरा वा चितवन कि त माल्दिभस् थियो तर यहाँ आए । टिकटका लागि पैसा नभएको भए म सहयोग गर्थे ।

‘टुरिष्ट’ बनेर उनले ठूलो भुल गरेका छन् । बरु यहाँका चन्द्रबहादुर गुरुङ, डिबी राईलाई दिएको भए कति जाती हुन्थ्यो । कमसेकम उनीहरुले यहाँको जनताको सुख, दुःख बुझेका थिए र हामी जनताले पनि स्वीकार्न बाध्य हुन्थो । तर, त्यो सहन सकिने अवस्था रहेन ।’

पूर्वाञ्चल मेडिकल कलेजको विषयमा वर्षौदेखि किचलो गर्ने एमालेको मुखमा बुझो लागेको पनि डा. शर्माले बताए । आगामी शैक्षिक सत्रदेखि नै विद्यार्थीहरुले स्कुलमा धाउने व्यवस्था भइसकेको छ उनले भने,‘एमालेले विरोध गर्दै आएको यो पूर्वाञ्चल मेडिकल कलेज सञ्चालनका लागि काँग्रेसका केन्द्रीय नेता शेखर कोइरालाको संयोजकत्वमा सबै कामकाजहरु अघि बढीसकेको छ ।

अब, यो कलेजलाई नमूनाको रुपमा अघि बढाउने जिम्मा हामीले लिएका छौँ । कुरा होइन काम गरेर समाज अघि बढाएर देखाऔँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *