‘बाँदरले नखाने एक मात्र बस्तु अदुवा’

मङ्सिर,९ धनकुटा । ‘तल बाँदरले खाई सक्यो होला ?’ यो हिच्किचाहट धनकुटा माथिल्लो खाल्डकी खिमा थापाको हो । एक छिन कुरा गरौन भन्ने प्रस्तावमा उनले गफगर्ने एक छिन पनि फुर्सद छैन भन्ने आशयमा व्यक्त गरेको शब्द हो ।

अहिले उक्त गाउँका सबै महिमलाहरुलाई थापालाई जस्तै हतारो छ । पुरुषहरू अन्य काममा जाने, बालबालिकाहरु विद्यालय गएपछि अहिले धनकुटा नगरपालिका ६ माथिल्लो खाल्डे र बारी पात्ले ३ का महिला र जेष्ठ नागरीकहरुलाई यस्तै हतारो छ।

शिलढुंगा सामुदायिक वन सँग जोडिएको खाल्डे गाउँ र पात्ले सामुदायिक वन सँगै जोडिएको बारी पात्ले गाउँ अत्याधिक बाँदर लाग्ने ठाउँ हो । जसको लागि धनकुटा नगरपालिकाले यो वर्ष बाँदर समात्नका लागि बजेट समेत छुट्याएको छ ।

बाँदरका कारण उक्त गाउँमा कुनै अन्नबाली जोगाउन गाह्रो भएपछि उनीहरूले विकल्पमा अदुवा,अमृसो र फलफल खेती रोजेका थिए । तर फलफुल कलिलैमा नष्ट गरिदिने र अमृसो समेत फुल लाग्ने बेलामा टुसा निकालेर नष्ट गरेपछि उनीहरू सँग एक मात्र विकल्प अदुवा खेती बाँकी रहेको थियो ।

फलस्वरुप २०६५ साल यता माथिल्लो खाल्डे स्थित शीतल देवी टोलबस्ती सङ्गठनका २५ घर र वारीपात्ले स्थित डाँडाबारी टोलबस्तिका ५४ घरले अदुवा पेसालाई मुख्य पेसाका रूपमा अंगालेका थिए ।

बाँदरले नखाने एक मात्र बस्तु अदुवा भएकोले सम्पूर्ण गाउँलेहरूले उक्त पेसा अंगालेको वारीपात्लेका अगुवा कृषक कृष्ण कार्की बताउनु हुन्छ ।

६५ सालमा अदुवाको मूल्य प्रतिकेजी ६० देखि ७० हुँदै २०७० साल सम्म १ सय १० सम्म पुगेको थियो । तर त्यसपछिका वर्षहरूमा भने अदुवाको मूल्यमा गिरावट आए सँगै किसानहरू पुनः पुरानै खेतीपातिको पेसामा फर्किन बाध्य भएका छन् ।

अर्थात् अदुवाले मात्र जीवन निर्वाह नभएपछि अन्य खेती गरेर अहिले ३८ बर्षिया थापा र ५१ बर्षिया कार्की लगायत गाउँलेहरूको दैनिकी उही पुनः बाँदर रुँघ्ने भएको हो ।

पूर्ण रूपमा अदुवा खेती तिर लाग्ने बेलामा अचानक आएको मूल्य गिरावटका कारण अहिले ती २ गाउँका कृषकहरू आधा अदुवा र आधा अन्य बाली लगाउने गरेका छन् ।

मूल्यमा गिरावट आएपछि खाल्डेकी थापाले त यो पटकबाट अदुवाको बिउ नै नराखेको बताइन् । ‘भाउ मात्र नपाए त रोप्नु हुन्थ्यो ?!’उनले भनिन्–‘रोगले सबै अदुवा कुहिए पछि अर्को वर्ष नरोप्ने भनेको अब ।’

२०७१ सालमा प्रतिकेजी १ सय सम्म भएर पुरानो माउ र नयाँ बेच्दा डबल फाइदा हुने भएकाले थापाले १ रोपनीबाट ४ रोपनीमा अदुवा लगाएका थिए ।

उत्पादनको क्षेत्र अझैं बढाउने योजना भए पनि गत वर्ष प्रतिकजी अदुवाको मूल्य ३० रुपैंया र यो वर्ष २० रुपैंयामा झरेपछि अब अदुवा नरोप्ने निर्णयमा पुगेको थापाले बताए ।

‘बाँदर र अदुवाले दिएको दुखः उस्तै भयो’–थापाले दुखेसो गरिन् । अब के पेसा अंगाल्नु हुन्छ त प्रश्नमा थापा भन्छिन्–‘खै के गर्ने के ? सब्जी लगाउँ पानी पनि छैन ।’

सोही गाउँकी संगिता राई(रम्तेल) को पनि अदुवा लाउने मन मरेको छ । उनले यो पटक लगाएको अदुवा आधा खनेर बाँकी त्यसै छाडेको छ ।

यो वर्ष भूल्य बढ्छकी भनेर लगाए पनि पुनः उस्तै भएपछि बिउका रूपमा लगाएको अदुवा आधा मात्र खनेर छाडेको बताए ।

‘बाँदरले कहीँ खान दिंदैन’ उनले भनिन्, ‘भाउ बढ्छकी भनेर बिउ जोगाएर कति बस्नु ।’ मूल्य गिरावट सँगै रोगका कारण मूल्य बढ्ने पर्खाईमा बसेका उक्त गाउँका सबै किसानहरू चिन्तामा परेको उनको भनाई छ ।

उता अगुवा कृषक कार्कीले पनि मूल्यमा कमी आएपछि १३ रोपनी खेतीबाट हाल आधा रोपनी जमिनमा बिउ जोगाएर बसेको बताए ।

‘बाँदर र अदुवा उस्तै भए’ उनले भने, ‘बाँदरले केही खान नदिएर पिर अदुवाले कहिले भाउ आउँछ भन्ने पर्खाएको पिर !’

उनले २०७१ साल सम्म १३ रोपनीमा २२ क्वीनटन अदुवा रोपेर वार्षिक २९ लाख ७० हजार को अदुवा बेचेर १५ लाख भन्दा बढी कमाई गर्ने गर्दर्थे ।

उक्त समयमा ४४ हजार केजी अदुवा प्रति केजी ८० देखि ९० रुपैंया सम्म बिक्री भए पनि त्यसपछिका वर्ष सम्म प्रति केजी २० रुपैंयामा पनि नबिकेपछि उनले बिउका लागि मात्र अदुवा रोपेर बसेको बताए ।

५ सय भन्दा कममा मजदुर नपाउने र खनजोत गर्नेलाई १ हजार का दरले दिनै पर्ने बाध्यता रहेकोले अदुवाको कम मूल्य हुँदा व्यवसाय गर्न नसक्दा गाउँकै अदुवा खेती प्भावित भएको उनको भनाई छ ।

‘महँगोमा कामदार लगाएर २० रुपैंया केजी अदुवा बेचेर फाइदा नभएपछिे सबै गाउँलेहरूले उत्पादन घटाएका छन्’–कार्कीले बताए ।

सोही गाउँका ५१ बर्षिया निल बहादुर कार्कीले रोपनीमा अदुवा लगाएर ३ लाखको कारोबार गरेर २ लाख सम्म कमाउने गर्दथे । तर त्यसपछि आएको मूल्य गिरावटका कारण अदुवा व्यवसायबाट फाइदा नहुने भएपछि उनले पनि १ रोपनीमा मात्र अदुवा लगाएको बताए ।

अदुवा भन्दा अरू बाली लगाउँदा बाँदर रुँघ्नै नसक्ने भएकाले अदुवाको मूल्य वृद्धि हुने आशामा अदुवाको बिउ मात्र जोगाएर बसेको उनको पनि भनाई छ ।

‘यहाँ बाँदरले केही खान दिंदैन’उनले भने,‘भाउ बढेयो भने रोप्नलाई बिउ चैँ जोहो गरेर बसेका छौँ ।’

मूल्य गिरावट सँगै गाउँका अदुवामा फल कुहुने रोगका कारण उक्त क्षेत्रका ५४ घर भन्दा बढी किसानहरू प्रभावित भएको उनको भनाई छ ।

सरकारले भारत सरकार सँगै ब्यपारीक सम्झौता नगरेको कारण मूल्य परिवर्तनमा मनपरी भएकाले अदुवाको मूल्यमा समस्या आएको धनकुटा छिन्ताङका अदुवा ब्यपारी मातृका राईको भनाई छ ।

दुईपक्ष बिच सम्झौता नहुँदा ब्यपारीहरुको मनोमानिमा अदुवा लानुपर्ने र नेपाली अदुवामा मिसावट गरिदिने भएकाले पनि समस्या आएको उनको भनाई छ ।

उनले भने भारत निकासी गर्दा त्यहाँको सरकार सँग हैन ब्यपारीहरु सँग अनुमति लिनुपर्ने अवस्था छ । यस्तो अवस्था रहे सम्म अदुवाको ब्यपारमा कुनै सुधार नहुने उनको तर्क छ ।

यो वर्ष बाली निकाल्ने सुरु भएको धनकुटामा गत वर्ष २ सय ५५ हेक्टरमा अदुवा खेती भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार १४ करोड ६३ लाख ६० हजार बराबरको ४ हजार ६६ मेट्रिक टन अदुवा जिल्ला बाहिर निर्यात भएको थियो । (धनकुटा खबरको सहयोगमा)

तस्बिर : बारीको अदुवा देखाउँदै संगिता र कृष्ण कार्की

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *